मुख्य समाचारसमाचार

दुर्घटना न्यूनीकरणका लागि टाइम कार्ड लागू – Good News 24

Gobal IME Bank

चितवन । जिल्लामा पर्ने राजमार्ग भएर चल्ने यात्रुबाहक सवारी साधनमा आजदेखि टाइम कार्ड लागू गरिएको छ । तीव्र गतिका कारण दुर्घटना बढेसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालयले टाइम कार्ड लागू गरेको हो ।

कार्यालयका प्रमुख प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीका अनुसार तीव्र गतिमा चल्ने यात्रुबाहक बस, मिनीबस, माइक्रो र टिपरबाट हुने दुर्घटना न्यूनीकरणका लागि टाइम कार्ड लागू गरिएको हो । टाइम कार्ड पाँच स्थानबाट कार्यान्वयनमा ल्याइने उहाँले जानकारी दिनुभयो । लोथर, गोन्द्राङ, आँपटारी, मुग्लिन र मैवाखोलाबाट टाइम कार्ड कार्यान्वयनमा ल्याउन लागिएको हो । जिल्लामा पर्ने नारायणगढ–मुग्लिन सडक खण्डसहित ९३ किलोमिटर राजमार्गमा प्रतिघण्टा ४० किलोमिटरका दरले टाइम कार्ड कार्यान्वयनमा ल्याइएको हो ।

लोथरदेखि गोन्द्राङसम्मको ३० किलोमिटरका लागि ५० मिनेट, गोन्द्राङबाट आँपटारी सात किलोमिटरका लागि १० मिनेट, आँपटारीदेखि मुग्लिन ३४ किलोमिटरका लागि एक घण्टा, गोन्द्राङबाट मुग्लिन ४१ किलोमिटरका लागि एक घण्टा पाँच मिनेट र मुग्लिनदेखि मौवाखोलासम्मको १६ किलोमिटरका लागि २५ मिनेटको समय राखिएको अधिकारीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “हरेक स्थानमा चेकपोष्ट रहने छ । त्यहाँ गएर इन्ट्री गरेर मात्रै सवारी साधनलाई अघि बढ्न दिइने छ ।” तोकिएको समयभन्दा छिटो आउने सवारी साधनलाई कारबाही गरिने उहाँले जानकारी दिनुभयो । सवारी साधन लापर्बाही गरी चलाएकामा कारबाही हुने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “टाइमकार्ड लागू भएसँगै राजमार्गमा हुने सवारी दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने विश्वास लिएका छौँ ।” टाइम कार्डको आज लोथरबाट शुभारम्भ गरिएको अधिकारीले बताउनुभयो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button