मुख्य समाचारसमाचार

‘निगमको जहाज आउँदा खुसी हुन्थेँ, फर्केर जाँदा रुन्थेँ’- पर्यटनमन्त्री

Gobal IME Bank

काठमाडौँ । “लाहुरे बुबाको कर्मथलो हङ्कङमा जन्मिएर ब्रुनाइमा हुर्केको म एकै पटक गाउँमा पुग्दा कस्तो भए होला ? जब म गाउँमा पुगेँ, ब्रुनाइको बर्गर सम्झँदै बासी भातमा नुन छर्केर खाएँ”, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती विगत सम्झिएर भावुक हुनुभयो ।

भोजपुरको टेम्के डाँडा नजिकबाट वायुसेवा निगमको जहाज निस्कियो । मन्त्री किरातीको घरपारिबाट निस्किएको उक्त जहाजको गन्तव्य पहिल्याउँदा भोजपुरको डाडाँ काटेर सङ्खुवासभाको तुम्लिङ्टार उडेको रहेछ । पर्यटनमन्त्रीको जिम्मेवारी सम्हालेको छ दिनपछि आज नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को नयाँ सडकस्थित मुख्यालयमा निगमको निरीक्षण र गतिविधिबारे जानकारी लिँदै पर्यटनमन्त्री किरातीले निगमसँगको संयोगका केही सन्दर्भ कोट्याउँदै विगत सम्झेर निकै भावुक बन्नुभएको हो । निगमका कर्मचारी र सञ्चारकर्मीको भीडमा भावुक मुद्रामा किरातीले भन्नुभयो, “जहाज आउँदा खुसी हुन्थेँ, जहाजले छाडेर जाँदा म रुन्थेँ’ र त्यही जहाज सम्झेर मेरो आमालाई भन्थेँ, गाउँमा नबसौँ आमा ।”

शायद त्यो बेला, हप्ता दिनमा एक पटक निगमको विमान भोजपुरको डाँडा भएर उड्थ्यो होला । सुविधासम्पन्न सहर, गाडी र जहाजको भीडमा हुर्किएका मन्त्री किरातीलाई त्यतिबेलाको जहाजको आवत–जावतले निकै रुवाउँथ्यो । उहाँले भन्नुभयो, “मलाई त्यो बेला रुवाउँथ्यो निगमको विमानले र मैले भन्थेँ आमालाई जाऊँ हङ्कङ ।”

भोजपुरको ओख्रेमा जन्मिएका पर्यटनमन्त्री किरातीका बुबा हर्कबहादुर राई ब्रिटिस लाहुरे हुँदा बुबाको कर्मथलो हङकङमा जन्मेर ब्रुनाइमा हुर्किनुभयो । लाहुरेको छोरा बाल्यकालमा कुनै चीजमा कमी थिएन । सुविधासम्पन्न मुलुकमा हुर्केको व्यक्ति एकैचोटि दुर्गम गाउँमा ओर्लँदा किरातीलाई अनौठो लाग्नु स्वाभाविक थियो ।

मन्त्री किरातीले आफू तेस्रो पटक सांसद हुँदै मन्त्री बनेर संयोगवश निगमको विभागीय मन्त्रीको जिम्मेवारीमा आइपुगेको बताउनुभयो । उहाँले दोस्रो पटक सांसद भएर पर्यटन र परराष्ट्र मन्त्रालयसँग सम्बन्धित संसदीय समितिमा बसेर काम गर्दा नै निगमको अवस्था बुझ्न पाएको सुनाउनुभयो । “अब यही जहाजको कारणले अब मलाई रुन नपरोस् सबैको ध्यान वायुसेवा निगमप्रति छ । म हाँस्न चाहन्छु”, उहाँले भन्नुभयो ।

नेकपा (माओवादी केन्द्र) का पोलिटब्यूरो सदस्यसमेत रहनुभएका मन्त्री किरातीले यो वा त्यो पदमा पुग्छु भनेर राजनीति पनि गर्नुभएको हैन । तर, समय र परिस्थितिले मन्त्रीको जिम्मेवारी स्वीकार्नुभएको छ । उहाँ भन्नुहुन्छ, “वडाध्यक्ष पनि हुन्छु भनेर राजनीतिमा लागेको हैन, तर, मन्त्री भए । मैले मेरो जिम्मेवारी बुझेको छु, यो मेरो जीवनको अग्निपरीक्षा हो ।”

राज्यको गौरवमय संस्था डुबेको आफू टुलुटुलु हेर्न नसक्ने भन्दै ऐन, कानुन विधिसम्मत संस्था सुधारका लागि लागि पर्ने बताउनुभयो । उहाँले कुनै पनि भेदभाव नगरी निगमको कामलाई चुस्त र प्रभावकारी बनाउन लागिपर्ने विश्वास व्यक्त गर्नुभयो । अरू दुनियाँ एयरलाइन्स नाफामा जाने तर निगम सधैँ घाटामा रहरिहनुपर्ने स्वीकार्य नहुने भन्दै निगम सुधार्न सबै सक्रिय हुनुपर्नेमा जोड दिनुभयो ।

‘कालो हातले छुने कोसिस नगर्नूहोला’

मुलुकको ४०औँ पर्यटनमन्त्री बनेका किरातीले देशको शान र गौरव ध्वजावाहक वायुसेवा निगमलाई गौरव गर्न लायक बनाइने विश्वास व्यक्त गर्नुभयो । “किन हामी वायुसेवा निगममाथि गौरव गर्छौँ, जसले ४० हजार फिटमाथि राष्ट्रिय झन्डा फहराएर विश्वमा पहिचान कायम गरेको छ । विमानस्थल हाम्रो अनुहार हो, जहाज हाम्रो गौरव हो । पहिलो नजर अनुहारमा जाने भएकाले अब यो राम्रो हुनुपर्छ”, पर्यटनमन्त्रीले भन्नुभयो ।

निगम मुख्यालय र बैठक कक्ष हेर्दा दयनीय अवस्था रहेको मन्त्री किरातीले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “म सेतो लुगा लगाएको मान्छे हुँ, कृपया कालो हातले छुने कोसिस कसैले नगर्नूहोला । सुनेको छु, कालो हातले छोएर नचिनिने भएर मान्छे फर्किन्छन् रे यहाँ । मैले त फेरि चिनिएर फर्किनु छ ।”

‘हामीलाई असफल हुने छुटै छैन’

पर्यटनमन्त्री किरातीले आफूहरू गाडीको ‘स्टार्ट’ गर्नुपहिला पहिला चेकजाँच गर्ने क्रममा रहेको भन्दै छिट्टै स्टार्ट हुने गर्छौँ, हाम्रो उद्देश्य एउटै हो निगम बनाउने । उहाँले भन्नुभयो, “निगम असफल बनाउने छुट मसँग छैन । र त्यो समय, परिस्थिति र सन्दर्भले पनि दिँदैन । मलाई विश्वास छ, निगम व्यवस्थापनले सुधारको काम गर्नेछ ।”

निगमको ‘बिजनेस प्लान’ चाहियो

पर्यटनमन्त्री किरातीले प्रत्येक दिन निगमको रिपोर्ट मन्त्रालयलाई बुझाउन निगम व्यवस्थापनलाई निर्देशन दिनुभयो । “कुन जहाज कहाँ कति मिनेट र कति घण्टा डिले भयो । कुन जहाजको कहिले चक्का हरायो, कुन जहाजको तार मुसाले काट्यो, यी सब विषयको दैनिक रिपोर्ट मन्त्रालयमा ल्याउनुस् मन्त्रालयबाट म फर्किँदा प्रत्येक दिन निगमको रिपोर्ट बुझेर फर्कन्छु”, उहाँले भन्नुभयो ।

‘समस्या हात्ती जत्रो, समाधानको स्रोत चाहिँ झिँगाको टाउको जत्रो’ भएपछि निगम कसरी सुधार हुन्छ भनी प्रतिप्रश्न गर्दै मन्त्री किरातीले निगम सुधारको कार्ययोजना तत्काल ल्याउन निर्देशन दिनुभयो । उहाँले कुनै काम प्रलोभनमा पार्न जुत्ता फटाउने काम नगर्न पनि आग्रह गर्नुभयो ।

एक महिनाभित्र अनलाइन टिकट

“सर्वसाधरणले टिकट नपाउने तर, दलालले बिक्री गर्ने गरेको विकृति पाइएको” भन्दै मन्त्री किरातीले एक महिनाभित्र अनलाइन टिकटको व्यवस्था गर्न निगमलाई निर्देशन दिनुभयो । उहाँले जहाज समयमै उडाउन र सेवालाई सरल र प्रभावकारी ब नाउनका साथै निगमको वार्षिक रुपमा आर्थिक अवस्था र निगमको समग्र कार्ययोजना ल्याउन पनि निगमलाई आग्रह गर्नुभयो ।

पर्यटन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले निगमको विद्यमान अवस्थालाई सुधार गरी निगमको साख र गौरवलाई उचो बनाउन सबै जिम्मेवार भएर लाग्नुपर्ने बताउनुभयो । उहाँले निगमको सेवालाई चुस्त र प्रभावकारी बनाउन व्यावस्थापकीय सुधार र रणनीतिक कार्ययोजनाका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

पर्यटन मन्त्रालयका सचिव सुरेश अधिकारीले ‘बिजनेश प्लान’ बनाउन निर्देशन दिनुभयो । उहाँले जहाज किन्ने हो भने स्पष्ट कार्ययोजना बनाउन आग्रह गर्नुभयो । “हो निगमलाई जहाज चाहिएको छ, तर, पहिला बिजनेस प्लान बनाउनुस् । जहाज थपेर मात्रै हुँदैन व्यवस्थापकीय सुधारसँगै गरिनुपर्छ, कुनै पनि वायुसेवा कम्पनी उडानमा प्राथमिकता हुनुपर्छ”, सचिव अधिकारीले भन्नुभयो । उहाँले निगमको ग्राउन्ड ह्यान्डलिङ सेवा अरू कम्पनीलाई दिनेबारे अहिलेसम्म मन्त्रालयमा कुनै छलफल नभएको स्पष्ट पार्नुभयो ।

आन्तरिक उडानमा जहाज खरिद गर्छौँः अध्यक्ष अधिकारी

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले सरकारको निर्देशन प्राप्त हुनसाथ निगमलाई आवश्यक आन्तरिक उडानका जहाज खरिद प्रक्रिया अघि बढाइने बताउनुभयो । निगमको आन्तरिक स्रोतले नै दुईरतीनवटा विमान खरिद गर्न सकिने भन्दै उहाँले सरकारको निर्देशन प्राप्त हुनासाथ विमान खरिद प्रक्रिया अघि बढाइने बताउनुभयो । छिट्टै निगमले आफ्नो कार्ययोजना मन्त्रालयमा बुझाउने बताउनुभयो । राष्ट्रिय ध्वजावाहकले नाफाभन्दा पनि जनताको सेवालाई प्राथमिकता दिएर उडान सञ्चालन गरिरहेको बताउनुभयो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button