गुड न्यूज 24समाचार

बाख्रापालनबाट मनग्य आम्दानी गर्दै पौडेल – Good News 24

Gobal IME Bank

वालिङ । स्याङ्जाको वालिङ–१४ उपल्लो पेखुका मेघनाथ पौडेलले बाख्रापालनबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ ।

विसं २०५९ मा पौडेलले एउटा माउ बाख्रा पालेर सुरु गर्नुभए पनि तीन वर्षपछि २०६२ सालदेखि व्यावसायिकरुपमा बाख्रापालन थाल्नुभएको हो । विसं २०६२ मा ‘मेघनाथ बाख्रा प्रजनन तथा नश्ल सुधार उद्योग’ संस्था दर्ता गरी बाख्राको मासुभन्दा पनि बीउका लागि काम गर्दै आउनुभएको हो । पौडेलले अहिले शुद्ध बोयर जातको बाख्राको बोका र पाठी बिक्री गरी मनग्य आम्दानी गर्दै आउनुभएको छ ।

“मैले मासुलाई भन्दा बीउका लागि बोयर जातको शुद्ध बोका र पाठी बिक्री गर्दै आएको छु”, उहाँले भन्नुभयो । बाख्रापालनबाट वार्षिकरुपमा सबै खर्च कटाएर रु १२ लाख आम्दानी हुँदै आएको पौडेल बताउनुहुन्छ । यहाँ उत्पादन भएको शुद्ध बोयर जातको बोका तथा पाठीको माग देशका विभिन्न जिल्लाबाट आउने गरेको छ ।

“यहाँ उत्पादन भएका बोयर जातको बोका तथा पाठीलाई बीउका रुपमा देशका विभिन्न जिल्लाबाट माग हुने गरेको छ”, उहाँले भन्नुभयो, “उत्पादन गर्नसके बजारको कुनै समस्या छैन, मागअनुसार उत्पादन गर्न सकिएको छैन ।” बाख्रापालनका लागि आवश्यक घाँस उहाँले ६५–७० रोपनी क्षेत्रफलमा लगाउनुभएको छ । उन्नत र आधुनिक भुई तथा डाले घाँस प्रशस्तै छ ।

जिल्ला पशुसेवा कार्यालयबाट पटक÷पटक अनुदानसहित नमूना फर्मका रुपमा समेत उहाँ पुरस्कृत भइसक्नुभएको छ । “बाख्रापालन गर्नुपूर्व पाँच वर्ष शिक्षण पेसा र २० महिना विदेशमा रोजगारी गरेँ”, पौडेलले भन्नुभयो, “म ती दुवै कामबाट सन्तुष्ट भइन् र गाईं, भैँसी, कुखुरा पाल्ने सोच बनाएँ तर गाउँको भूगोलअनुसार सम्भव नदेखेपछि बाख्रापालनलाई व्यावसायिकरुपमा अगाडि बढाएको हुँ ।”

बाख्रापालन नै पौडेलको परिवारको मुख्य आम्दानीको स्रोत हो । बाख्रापालनबाट प्राप्त भएको आम्दानीले उहाँले बजारमा घरजग्गा जोड्नुभएको छ । छोराहरुलाई उच्च शिक्षा तथा घर खर्च पनि यही व्यवसायबाट चलाउँदै आउनुभएको छ ।

लामो समय बाख्रापालनमै बितेकाले पनि सामान्य समस्या आउँदा पौडेल आफैं औषधि उपचार गर्नुहुन्छ । जटिल उपचारका लागि वालिङ नगरपालिका तथा एग्रोभेटबाट पशु प्राविधिकको सहयोग लिने गरेको उहाँ बताउनुहुन्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button