मुख्य समाचारसमाचार

फेरिएको चुनावी प्रचार शैली !

Gobal IME Bank

गलेश्वर । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकीँदै छ । उम्मेदवारहरू मतदाता आकर्षित गर्न विभिन्न योजना र कार्यक्रमका साथ भेटघाट तथा घरदैलो अभियानमा छन् । मङ्सिर ४ अर्थात् निर्वाचनको दिन आउन अब केबल ३३ दिन मात्र बाँकी छ । विगतका निर्वाचनमा चुनाव आउनुभन्दा दुई महिना अघि नै उम्मेदवारका पोस्टर, पम्प्लेट, तुल, ब्यानरले रङ्गीन हुने गाउँ बस्ती, चोक र गल्ली, गल्छेडा यस वर्ष रित्ता छन्  ।

माइकमा प्रचार सामग्री र गीत घन्काउँदै सहर बजार र गाउँगाउँमा गाडी पुग्दा मतदातामा पनि एक किसिमको रौनक छाउथ्यो तर, यस पटक हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनमा अघिल्ला निर्वाचनजस्तो तडकभडक र कोलाहल छैन । पाँच महिनाअघि सम्पन्न स्थानीय तह निर्वाचनमा देखिएको चुनावी तडकभडक नदेखिँदा मतदाता चुनावको पत्तो हराएजस्तै भएको छ ।

निर्वाचन आयोगले निर्वाचन आचारसंहिताको कडाइपछि दलहरूको चुनावी प्रचारशैली फेरिएको हो । गाउँ बस्तीमा मात्रै होइन सदरमुकाम बेनीबजारमा समेत कतै पनि पोस्टर, पम्प्लेट, तुल, ब्यानर टाँगिएको छैन । “यस पाली त चुनाव आएजस्तो पनि भएको छैन, चुनावी कार्यक्रम पनि भएका छैनन्, मलाई भोट दिनू है भनेर कुनै उम्मेदवार पनि आएका छैनन्”, मालिका गाउँपालिका–५ का जसबहादुर बूढाले भन्नुभयो ।

यहाँका उम्मेदवार र कुनै पनि राजनीतिक दलले खुला चुनावी कार्यक्रम गरेका छैनन् । उनीहरू आन्तरिक व्यवस्थापनमा नै व्यस्त छन् । कसरी चुनावका लागि आर्थिक स्रोत जुटाउने, कार्यकर्ता परिचालनगर्ने जस्ता रणनीति तयार पार्न कोठे बैठक, भेला र छलफलजस्ता काममा यहाँका राजनीतिकदल र उम्मेदवारले समय खचिएका छन् ।

पछिल्लो समय यहाँका राजनीतिक दल र उम्मेदवारमा एक भिन्नै किसिमको मनोविज्ञान विकसित भएको पाइएको छ । उनीहरू प्रत्येक मतदाताकोमा पुगेर समय, श्रम र पैसा खर्च गर्नुको सट्टा प्रत्येक क्षेत्रको प्रभावशालीमा निकाय व्यक्ति, आमा समूह, युवा क्लब, सामुदायिक वनका प्रतिनिधिलाई रिझाउन सक्ने हो भने उनीहरूमार्फत साधारण जनताको मत प्राप्त गर्न सकिन्छ भन्ने विश्वासमा छन् ।

कठिन र छरिएको पहाडी भूगोलमा चुनावी कार्यक्रमबीच सबै मतदाता र बस्तीमा पुग्न असम्भव प्रायः रहेकाले पनि उम्मेदवार र राजनीतिक दललाई यो मनोविज्ञानको चेत पलाएको हो । निर्वाचन आयोगले चुनाव प्रचारप्रसारको समयावधि १५ दिनमा सीमित गरिदिए पछि चुनावी माहोल सुनसान देखिए पनि दल र उम्मेदवार भित्रभित्र चुनावी अभियानमा जुटेका छन् । नेकपा ९एमाले०को तर्फबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका हरिकृष्ण श्रेष्ठ म्याग्दीकै दुर्गम मानिने धौलागिरि गाउँपालिकाको विभिन्न बास्तीमा घरदैलोमा पुगेर मतदाता रिझाउँदै हुनुहुन्छ ।

उहाँ कार्यकर्ता भेटघाट, स्थानीय चुनाव प्रचारप्रसार समिति गठन, परिचालन गर्ने, मतदाताको घरदैलोमा पुग्ने, आशीर्वाद लिने र मतदाताको आकांक्षा बुझ्न दुर्गम धौलागिरि गाउँपालिकातिर व्यस्त हुनुहुन्छ । श्रेष्ठ भन्नुहुन्छ, “निर्वाचन आचारसंहिताले चुनावको प्रचार समयावधि घटाउँदा उम्मेदवारको खर्च कम हुन्छ, तर मतदाताको दैलोमा पुग्ने अवसर नहुने रहेछ । चुनाव प्रचारमा हुने तडकभडक रोकेर भने राम्रो गरेको छ ।”

म्याग्दीको कठिन भूगोल छ स्थानीयतहका ४५ वटा वडामा समेटिएको छ  । एउटा प्रतिनिधिसभा र दुईवटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा प्रदेशसभातर्फका उम्मेदवारलाई सबै वडामा पुग्न सजिलो भए पनि प्रतिनिधिसभा सदस्यपदका उम्मेदवारलाई भने १५ दिनमा सबै वडामा पुग्न सम्भव नहुने भएको छ । दलहरूले चुनावप्रचार अवधि थोरै र बस्ती धेरै भएपछि तीनदेखि चार वटासम्म बस्ती भ्याउने गरी चुनावी कार्यक्रम बनाएका छन् ।

वाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका नेपाली कांग्रेसका खमवीर गर्बुजाले चुनावीसभा र पर्चा पम्प्लेट नभए पनि जनताका घरदैलोमा पुगेर भेटघाट गर्ने, कार्यकर्ता भेटघाट गर्ने र जनताका समस्या र सुझाव सुन्ने, थाहा पाउने गरेको बताउनुभयो ।

भौतिक पूर्वाधार प्राथमिकतामा

आफ्नो पक्षमा भोट माग्नका लागि गाउँ पसेका राजनीतिकदलका नेतामा मानवीय संवेदना र चेतनाको विकास नभएको म्याग्दीका नागरिकले गुनासो गरेका छन् । आगामी निर्वाचनका लागि विभिन्न राजनीतिक दलबाट उम्मेदवार बनेका व्यक्तिले आफ्नो निर्वाचन क्षेत्रको भौतिक पूर्वाधार विस्तार गरेर विकास गर्ने कुरा मात्र दोहोराउने गरेका यहाँका मतदाताको गुनासो रहेको छ । नेता र राजनीतिकदलको प्राथमिकतामा मानवीय संवेदना, सचेतना, जागरण र समयसापेक्ष परिकल्पनाको अझैसम्म पनि विकास नभएको बेनी नगरपालिका–२ का भीमबहादुर पौडेलले बताउनुभयो ।

नेताहरूले जनताका बीचमा मत माग्ने कामको थालनी गर्दा नागरिकले भने निर्वाचन पद्धति र उम्मेदवारप्रति टीकाटिप्पणी गर्न थालेका हुन् । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनकालागिकुल २० जनाले उम्मेदवारी दर्ता गराएकामध्ये अधिकांशले आफ्नो निर्वाचन क्षेत्रमा भौतिक शिक्षा, स्वास्थ्य र खानेपानीलगायत पूर्वाधार विकास गर्ने प्रतिबद्धता गर्दै आएका छन् । म्याग्दीमा निर्वाचनका लागि उम्मेदवार बनेका अधिकांश उम्मेदवारले जिल्लाको विकास र जनताको सेवा गर्ने विषयलाई बढी महत्व दिएका छन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button