गुड न्यूज 24समाचार

दुनाटपरी बनाएर आत्मनिर्भर बन्दै नवलपरासीका महिला

Gobal IME Bank

कावासोती । पूर्वी नवलपरासीको देवचुलीस्थित अमरज्योति सामुदायिक वनले महिला उपभोक्तालाई आत्मनिर्भर बनाउन दुनाटपरी उद्योग सञ्चालनमा ल्याएको छ ।

वनजङ्गलमा खेर जाने सालको पातबाट दुनाटपरी बनाएर बजारमा बेच्न सुरु गरेपछि यहाँका महिला हर्षित छन् । सामुदायिक वनले वैकल्पिक आम्दानीको स्रोत पहिचान गर्दै खेर गइरहेको वन पैदावरको सदुपयोग गरी दुना टपरीको उद्योग सञ्चालन गरेको हो ।

यसले विपन्न वर्गका उपभोक्ताको सामान्य घर खर्चको जोहो मात्र नभई पर्यावरणीयरुपमा समेत फाइदा पुगेको छ । वनसँग सम्बन्धित विभिन्न गैरसरकारी सङ्घसंस्था र सामुदायिक वनको सहकार्यमा रु तीन लाख १५ हजारको लागतमा सञ्चालित उद्योगबाट प्रारम्भिक चरणमा एक सय महिलाले रोजगार पाएको अमरज्योति सामुदायिक वनका अध्यक्ष टेकलाल रुचाल मगरले बताउनुभयो ।

परम्परागत नेपाली दुनाटपरीले बजारमा प्लास्टिकका आयातित प्लेटसँग प्रतिस्पर्धा गर्नुपर्ने चुनौती छ । दुनाटपरी जङ्गलमा प्रशस्त पाइने पातबाट बनाइने भएकाले कच्चापदार्थको अभाव हुँदैन । महिलालाई आयआर्जनका लागि दुनाटपरी उद्योग उपयुक्त हुने अध्यक्ष मगरको भनाइ छ ।

“दुनाटपरीको कच्चापदार्थ सबै प्राकृतिक भएकाले प्रयोगपछि फोहर व्यवस्थापन सहज हुन्छ”, मगर भन्नुहुन्छ, “आफ्नै वनपाखामा झरेर खेरजाने पात टिपेर बनाइने भएकाले कच्चापदार्थको समस्या छैन । गाउँघरका महिलाका लागि सजिलो रोजगारी हुन्छ ।” हिन्दू संस्कारमा दुनाटपरी धेरै प्रयोग हुने भएकाले माग पनि कम नहुने मगरको विश्वास लिइएको छ । वातावरणीय दृष्टिले कुरा बुझाउनसक्दा प्रयोग झन् बढ्छ । “आफ्नो पुँजीअनुसार मानिसले सस्तो वस्तु खोज्नु स्वाभाविक भए पनि सालको पातको दुनाटपरी प्रकृति, स्वास्थ्य र संस्कृतिसँग जोडिएकाले माग धेरै छ”, उहाँले भन्नुभयो ।

सामुदायिक वनले १३ जना सदस्य रहेको उपसमिति गठन गरेर दुनाटपरी उत्पादनको काम अगाडि बढाएको अध्यक्ष मगरले बताउनुभयो । वनका उपभोक्ता सदस्यले बनाएर ल्याएको लाफा (आवश्यताअनुसार सिन्काले पात गाँसेर फेरो नउठाइएको चरण) उपसमितिले टपरी एक रुपैयाँ ४० पैसा र दुना ७० पैसामा खरिद गर्ने गरेको मगरले जानकारी दिनुभयो ।

उद्योग चलाउन सामुदायिक वनले गठन गरेको उपसमितिले उपभोक्ताले खरिद गरेर ल्याएको लाफालाई मेसिनबाट दुनाटपरी बनाएर बजारमा पठाउने गरेको छ । तयारी दुनाटपरी बजारमा पुग्दा दुनाको दुई रुपैयाँ ५० पैसा र टपरीको पाँच रुपैयाँ पर्ने गरेको अध्यक्ष मगरले जानकारी दिनुभयो ।

उहाँकाअनुसार एक महिलाले अहिलेको अवस्थामा पाँचदेखि सात सय रुपैयाँसम्मको लाफा उपसमितिलाई बेच्ने गरेका छन् । सामुदायिक वनले दुनाटपरी उद्योग सञ्चालनमा ल्याएपछि उपभोक्ता महिला खुसी भएका छन् । दुनाटपरीको लाफा बेचेर सामान्य खर्च चलाउन सहज हुन लागेको वनकी उपभोक्ता बीमा नेपाली बताउनुहुन्छ । “पहिलेपहिले श्रीमान्ले पैसा नपठाउँदासम्म दैनिक खर्च चलाउनै गाह्रो हुन्थ्यो, अहिले दैनिक नूनतेल, बच्चाको कापीकिताब यसैबाट पुग्न लागेको छ”, नेपालीले भन्नुभयो ।

सामुदायिक वनमा स्थापित दुनाटपरी उद्योगले सुरुआती चरणमा माग आएका आधारमा उत्पादन गर्ने गरेको छ । विषेशतः जिल्लाको दलदले, कावासोती तथा छिमेकी जिल्ला चितवनको नारायणघाट बजारका होटल तथा रेष्टुरेन्टबाट माग आउने गरेको अध्यक्ष मगरले बताउनुभयो । “अहिले बजारबाट आएको मागअनुसार उत्पादन गरेका छौँ, अब बजार व्यवस्थापन गरेर उत्पादनलाई नियमित गर्ने योजनामा छौँ”, उहाँले भन्नुभयो, “पछिल्लो समय धार्मिक कार्यक्रमबाहेक होटल तथा रेष्टुरेन्टबाट माग आउनेक्रम बढेको छ ।”

एक दिन जङ्गल गएर टिपेको पातले तीन/चार दिन लाफा बनाउन सकिन्छ । यसबाट महिलालाई घरव्यवहार चलाउन सहज भएको दुनाटपरी उद्योग सञ्चालनार्थ गठित उपसमितिकी अध्यक्ष टकमाया नेपाली बताउनुहुन्छ । हेर्दा सामान्य लागे पनि दुनाटपरी उद्योगबाट फुर्सदको समय सदुपयोग गरेर दैनिक घरव्यवहार चलाउन पैसा कमाउन सकिन्छ भन्ने यो गतिलो उदाहरण हो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button