अन्यसमाचार

निर्वाचनपछि मुलुकको अर्थतन्त्र सबल बनाउनसक्ने नेतृत्व आवश्यक छः निजी क्षेत्र

Gobal IME Bank

काठमाडौं । निजी क्षेत्रले आसन्न निर्वाचनपछि मुलुकको अर्थतन्त्र सबल बनाउनसक्ने सरकारको खाँचो रहेको बताएको छ ।
निजी क्षेत्रले आसन्न निर्वाचनपछिको सरकारले निजी क्षेत्रसँग सहकार्य गरी अर्थतन्त्रलाई चलायमान बनाउने र पूर्वाधारको विकास गर्नसक्ने एजेण्डालाई प्रमुख प्राथमिकता दिनुपर्नेमा जोड दिएको हो ।

निजी क्षेत्रका ठूला छाता संगठन नेपाल उद्योग वाणिज्य संघ र नेपाल उद्योग परिसंघले मंसिर ४ गतेको निर्वाचनपछि बन्ने सरकारको प्रमुख एजेण्डा आर्थिक क्रान्ति हुनुपर्ने माग राखे । सोमवार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले निजी क्षेत्रलाई विश्वासमा लिएर अगाडि बढ्ने राजनीतिक दल निर्वाचित भए देशको आर्थिक अवस्था सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपालमा राजनीतिक परिवर्तन भएसँगै सबै राजनीतिक दलहरुले आर्थिक समृद्धिका एजेण्डा बोकेपनि आर्थिक समृद्धिलाई बोलीमा मात्रै सिमित गरेको आरोप लगाउनु भयो ।

उहाँले मंसिर ४ गतेको चुनावमा सबै पार्टीहरुको घोषणापत्र समेत आर्थिक समृद्धिका कुरा विशेष जोड दिएको बताउनु भयो । अध्यक्ष गोल्छाले मुलुकमा आर्थिक समृद्धि र निजी क्षेत्रसँगको सहकार्य कसरी गर्ने भन्ने विषयमा कुनैपनि पार्टी गम्भिर नभएको बताउनु भयो । उहाँले पूर्वाधारको विकासले मात्रै मुलुकमा आर्थिक समृद्धि ल्याउन सक्ने दाबी गर्नुभयो । अध्यक्ष गोल्छाले राजनीतिक दलहरु सिमित राजनीतिक एजेण्डाहरुमा मात्रै नभइ सिमित एजेण्डा भन्दा माथि उठेर पूर्वाधार विकास गर्न र निजी क्षेत्रसँगको सहकार्यलाई विशेष जोड दिने पार्टीको सरकार आवश्यक भएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘राजनीतिक परिवर्तन भएसँगै सबै राजनीतिक दलहरुले आर्थिक समृद्धिकै कुरा गरेका छन् । तर त्यो बोलीमा मात्रै सिमित रह्यो । मुलुकमा आर्थिक समृद्धि कसरी गर्ने र निजी क्षेत्रसँग कसरी सहकार्य गर्ने यो विषयमा कुनैपनि पार्टी गम्भिर देखिएन । मंसिर ४ गतेको चुनावमा सबै पार्टीहरुको घोषणापत्र हेर्दा आर्थिक समृद्धिका कुरा सबैले गरेका छन् । हामीले चाहेको त्यही हो । राजनीतिक परिवर्तन जति हुनुपर्ने थियो । त्यो भइसकेको छ । जुन निजी क्षेत्रलाई विश्वासमा लिएर जुन पार्टी अगाडि जान्छ यस्तो पार्टी नेतृत्वमा आउनुपर्छ । नेपालको राजनीति लामो समय लोकप्रिय नारामा मात्रै सिमित रह्यो । आर्थिक विकासको लागि पूर्वाधारमा लगानी गर्नुपर्ने थियो । तर पूर्वाधारमा लगानी गर्नसकेको छैन ।

पूर्वाधारको विकासले मात्रै मुलुकमा आर्थिक समृद्धि ल्याउन र लागत कम गर्नसक्छ । त्यसले मात्रै समग्र जनतालाई मुलुकको अर्थतन्त्रसँग जोड्नसक्छ । तर त्यतातिर कसैको ध्यान नै पुग्न सकेको छैन । राजनीतिक दलहरु समिति राजनीतिक एजेण्डाहरुमा रहेका छन् । अबको समयमा यो भन्दा माथि उठेर पूर्वाधारलाई पहिलो एजेण्डालाई सफल बनाउन निजी क्षेत्रसँग सहकार्य गरेर आर्थिक समृद्ध बनाउने जुन पार्टीले गर्छ त्यो पार्टी सरकारमा आउनुपर्छ भन्ने हाम्रो अपेक्षा छ ।’

त्यस्तै,नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारीले निर्वाचनबाट मुलुकको अर्थतन्त्रलाई ड्राइभ गर्न र अर्थतन्त्रलाई चलायमान बनाउनसक्ने नेतृत्वको सरकार हुनुपर्ने बताउनु भयो । उहाँले मुलुकमा हरेक व्यवस्था परिवर्तन गर्ने राजनीति शक्ति भएकाले सबल, सक्षम र सफल करियर भएका नेतृत्व आए मात्रै मुलुकमा सुशासन आउनसक्ने बताउनु भयो । उहाँले देशमा समृद्धि कायम गर्न मुलुकको अर्थतन्त्रलाई ड्राइभ गर्नसक्ने सक्षम नेतृत्व आउनुपर्छ भन्ने पक्षमा परिसंघ रहेको बताउनु भयो । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उपाध्यक्ष अधिकारीले अर्थतन्त्रलाई चलायमान बनाउनसक्ने नेतृत्व सरकारमा जानको लागि सबल र सक्षम उम्मेद्वारले निर्वाचन जित्नुपर्ने बताउनु भयो । उहाँले मंसिर ४ गतेको निार्वाचनमार्फत नयाँ नेपाललाई सबल र सक्षम नेतृत्व गर्न निजी क्षेत्रसँग सहकार्य गर्न पार्टीको नेर्तत्वमा सरकार बन्नुपर्छ भन्ने पक्षमा रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘आवधिक निर्वाचन भनेको संविधानले स्पष्ट रुपमा व्यवस्था गरेको विषय वस्तु हो । मंसिर ४ गते संविधानले व्यवस्था गरे अनुरुपमा निर्वाचन हुनु भनेको नेपालको संविधान,प्रजातान्त्रिक लोकतन्त्रको लागि शुभ संकेत हो । आवधिक निर्वाचन समयमा नै सम्पन्न गर्नुपर्ने थियो । त्यो सरकारले गर्न लागेको छ । त्यसको लागि उद्योगी व्यवसायीहरुले स्वागत गरेका छौं । अहिले नेपाल निर्वाचनमय भएको छ । हामीले विभिन्न राजनीतिक दलहरुलाई सञ्चारमाध्यममार्फत सबल र सक्षम मान्छे उम्मेद्वार भएर निर्वाचित हुनुपर्छ । राजनीतिक दलहरुले उम्मेद्वार चयन गर्दा नै जसले भोलिको नयाँ नेपाललाई सबल र सक्षम नेतृत्व गर्न सकोस् जुनसुकै राजनीतिक पार्टीको भएपनि । हामी राजनीतिक आस्थाको रुपबाट कसैलाई केही भन्दैनौं ।

अबको यो निर्वाचनबाट मुलुकको अर्थतन्त्रलाई ड्राइभ गर्नसक्ने,अर्थतन्त्रलाई चलायमान बनाउनसक्ने नेतृत्व आवश्यक छ । नेपाली सधैँ गरिव भइरहनुपर्ने कर्ममा लिएर आएको होइन । मुलुकमा हरेक व्यवस्था परिवर्तन गर्ने भनेको राजनीतिले नै गर्ने हो । राजनीति सुशासनले परिवर्तन हुने हो । सुशासन सबल, सक्षम र सफल करियर भएका नेतृत्व आए मात्रै मुलुकमा सुशासन हुनसक्छ । देशमा समृद्धि कायम हुनसक्छ । त्यो हुनुको लागि मुलुकको अर्थतन्त्रलाई ड्राइभ गर्नसक्ने सक्षम नेतृत्व आउनुपर्छ भन्ने पक्षमा छौं ।’
उपाध्यक्ष अधिकारीले मुलुकमा आर्थिक समृद्धि र सुशासन राजनीतिक परिर्वतनबाट आउने भएकाले सक्षम नेतृत्व नै अहिलेको आवश्यक्ता भएको दाबी गर्नुभयो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button