मुख्य समाचारसमाचार

फूलखेती गर्ने किसानलाई माला गाँस्न भ्याइनभ्याइ

Gobal IME Bank

घोराही । जिल्लामा फूलखेती गरेका किसानलाई अहिले फूल टिपेर माला गाँस्न भ्याइनभ्याइ भएको छ । तिहार नजिकिएसँगै किसानले फूल टिपेर माला बनाउन थालेका हुन् । घोराही उपमहानगरपालिका–१४, झिगौरामा व्यावसायिकरूपमा फूलखेती गर्नुभएका लोकेन्द्र रोका मगर अहिले फूल टिपेर माला बनाउन थाल्नुभएको छ ।

घोराही उपमहानगरपालिका–१३ मा सामूहिक फूलखेती गर्नुभएका इन्द्रा बुढा मगरले पनि तिहारका लागि फूलको माला बनाउन सुरु गर्नुभएको छ । उहाँहरू जस्तै जिल्लामा अहिले फूलखेती गरेका किसानले तिहारका लागि तयारी सुरु गरिरहेका छन् । फूलको मालाको बढी माग हुने भएकाले तयारी थालिएको उहाँहरूको भनाइ छ ।

माला बनाएर कोल्डस्टोरमा राखिने उहाँहरूको भनाइ छ । जिल्लामा मात्र नभई जिल्ला बाहिरबाट समेत फूलको माग आउने गरेको घोराही उपमहानगरपालिका–१४, झिगौरामा जलजला पुष्पखेती फार्मका सञ्चालक लोकेन्द्रले बताउनुभयो । बाहिर माग भए पनि पहिलो प्राथमिकता जिल्लामा नै दिने गरिएको उहाँ बताउनुहुन्छ् ।

“जिल्लालाई प्राथमिकता दिएको हुनाले माग भए पनि बाहिर पठाउने गरिएको छैन”, उहाँले भन्नुभयोे । उहाँले डेढ बिघा जग्गा भाडामा लिएर फूलखेती गरेको बताउनुभयो । उहाँले झिगौरासँगै सुनपुरमा पनि फूलखेती गर्नुभएको छ । उहाँले विगतका वर्षदेखि फूलखेती गर्दै आउनुभएको छ । रोजगारीको सिलसिलामा सात वर्ष कतारमा बिताउनुभएका लोकेन्द्रले जिल्लामा दसैंँ तिहारलगायतका पर्व एवं अन्य शुभकार्यका लागि फूलको माग देखेपछि फूलखेती गर्न थाल्नुभएको हो ।

“दाङमा व्यावसायिकरूपमा फूलखेती कतै थिएन, काठमाडौँंतिर फूलखेती पनि व्यावसायिक रूपमा गरेको देखेको थिएँ, अनि यहाँ मैले गरेको हुँ”, रोकाले भन्नुभयोे । रोकाले अहिले भारतको कोलकाताबाट अफ्रिकन मेरीगोल्ड जातको सयपत्रीको बीउ ल्याएर व्यावसायिक खेती गर्दै आउनुभएको छ । घोराही बजार नजिकै फूलखेती गरेपछि आफूलाई बजारको कुनै समस्या नभएको रोका बताउनुहुन्छ । जिल्लाको घोराही, तुलसीपुर, लमही र भालुवाङ सहरबाटसमेत फूलको माग हुने गरेको छ । “काठमाडौँंबाट फूलको माग भए पनि फूल पठाउन सकिएको छैन”, उहाँले भन्नुभयोे । अहिले उहाँले एउटा मालालाई रु एक सयमा बिक्री गर्दै आएको बताउनुभयो ।

पहिले तिहारका लागि मात्रै सयपत्री फूल उत्पादन गर्ने गरे पनि लोकेन्द्रले बाह्रैमहिना फूल उत्पादन सुरु गरेको बताउनुभयो । वर्षाको समय र बढी चिसो समयमा भने केही समस्या हुने गरेको उहाँको भनाइ छ । अहिले उहाँले सजावटका लागि फूलका बिरुवा, उत्पादन तथा बिक्रीसमेत गर्दै आउनुभएको छ । आफूसँगै परिवार तथा अन्य दुई जनालाई समेत रोजगारी प्रदान गरेको उहाँको भनाइ छ । फूलको माग दसैँ तिहारमा बढी हुने गरेको छ । यसै गरेर विभिन्न औपचारिक कार्यक्रम, विवाह, पूजाआजाका लागि फूलको माग हुने गरेको उहाँको भनाइ छ ।

जिल्ला फूलखेतीका लागि उपयुक्त रहेकाले यसको सदुपयोग गर्नसमेत उहाँको आग्रह छ । पछिल्लो समय सरकारी निकायबाट समेत सहयोग प्राप्त गर्न सफल भएको उहाँले बताउनुभयो । घोराही उपमहानगरपालिका–१३ डुम्मर गाउँमा पनि व्यावसायिकरूपमा फूलखेती गरिँदै आएको छ । इन्द्रा बुढाले विगत छ वर्ष पहिलेदेखि व्यावसायिकरूपमा फूल खेती गर्दै आउनुभएको हो । उहाँले पनि अहिले फूले टिपेर माला बनाउन थाल्नुभएको छ । तिहारको लागि मागसमेत हुन थालेको उहाँको भनाइ छ ।

“माग हुन थालेसँगै फूल टिपेर माला बनाउन सुरु गरेका छौँ”, उहाँले भन्नुभयो । माला बनाएर कोल्ड स्टोरमा राखिने उहाँले बताउनुभयो । उहाँका अनुसार उत्पादन भएको फूलको धेरै खपत जिल्लामा नै हुने गरेको छ । माला रु एक सयदेखि तीन सयसम्म बिक्री गर्ने गरेको उहाँको भनाइ छ । मालाका डिजाइनअनुसार मूल्य बढी हुने गरेको छ । जिल्लामै व्यावसायिकरूपमा फूल खेती भएपछि बाहिरबाट आउने कृत्रिम मालालाई समेत विस्थापित गर्न सकिन्छ भनेर यस व्यवसायमा प्रवेश गरेको उहाँ बताउनुहुन्छ ।

अहिले आठ कठ्ठा जग्गा भाडामा लिएर व्यावसायिकरूपमा सयपत्री, मखमली, गोर्धौली र चाया फूलको खेती गरेको उहाँले बताउनुभयो । चाडपर्वसँगै पछिल्लो समय जिल्लामा हुने औपचारिक कार्यक्रममासमेत हजारीको फूलको मालाको माग बढ्दै गएको उहाँ बताउनुहुन्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button