शिक्षा स्वास्थसमाचार

फोहरबाट आम्दानी गर्दै टीकापुर अस्पताल

Gobal IME Bank

टीकापुर । टीकापुर अस्पतालले फोहर प्रशोधन गरेर कमाइ गर्न थालेको छ । कैलालीमा प्लाष्टिकजन्य फोहर व्यवस्थापनमा सबैलाई चुनौति बनिरहेका समयमा अस्पतालले एक महिनादेखि प्लाष्टिकजन्य फोहर प्रशोधन गरेर आम्दानी लिन थालेको हो । अस्पतालले एक महिनामा निर्मलीकरण गरिएको १३ क्विन्टल सामग्री बिक्री गरेर रु २८ हजार आम्दानी भएको जानकारी दिएको छ ।

अस्पतालमा जडान भएका दुई अटोक्लेभ मेसिनमा प्लाष्टिकजन्य फोहर प्रशोधन हुन एक घण्टा लाग्छ भने रगतजन्य पदार्थ लागेका सामग्री प्रशोधन हुन दुई घण्टा लाग्छ । अस्पतालमा एउटा अटोक्लेभ मेसिन १० वर्षअघि कोरियाली सहयोग नियोग ९कोइका०ले दिएको थियो भने अर्को मेसिन विश्व स्वास्थ्य सङ्गठनले उपलब्ध गराएको थियो ।

स्वास्थ्य सङ्गठनकै सहयोगमा मेसिन जडान भई सञ्चालनमा आएको अस्पताल विकास समितिका अध्यक्ष झपटबहादुर सोडारीले जानकारी दिनुभयो । “प्लाष्टिकजन्य फोहर व्यवस्थापन चुनौती रहेका बेला हामीलाई मेसिन जडानपछि सहज भएको छ”, उहाँले भन्नुभयो, “हामीले स्थानीय पालिकामा सङ्कलन भएको फोहर प्रशोधनमा पनि सघाउन सक्छौँ । हामीले आसपासका केही पालिकासँग कुरा पनि गरेका छौँ । पालिकाहरूले चाहेमा हामी प्रशोधनमा सघाउन सक्छौँ ।”

अस्पतालमा फोहर निर्मलीकरण हुन थालेपछि हरेक वार्डमा फरक–फरक रङका बाल्टिन राखिएका छन् । प्लाष्टिकजन्य र रगतजन्य फोहर राख्नका लागि हरेक वार्डमा रातो, निलो, हरियो रङका बाल्टिन राखिएका छन् । साथै सिसाजन्य फोहर राख्नका लागि साना बाल्टिन राखिएका छन् ।

फोहर छुट्याएर तोकिएको भाँडामा राख्नका लागि अस्पतालका कर्मचारी, स्वास्थ्यकर्मी र नर्सहरूले बिरामीलाई पटक–पटक आग्रह गर्ने गरेका छन् । यसरी अस्पतालमा सङ्कलन भएको फोहर दैनिक अस्पताल परिसरमै रहेको फोहर व्यवस्थापन केन्द्रमा लगेर निर्मलीकरण गरिन्छ । “निर्मलीकरण भएको फोहर बिक्रीका लागि राखिन्छ । बिक्रीका लागि खासै समस्या छैन”, अध्यक्ष सोडारी भन्नुहुन्छ, “यसरी निर्मलीकरण गरेको रगतजन्य पदार्थ खाल्डोमा राखिने, प्याड सुकिसकेपछि आगोले जलाउन मिल्ने र अन्य सामग्री पुनःप्रयोगका लागि बिक्री गर्न थालेका छौँ ।”

अस्पतालजन्य फोहर अन्यत्र विसर्जन गर्न पनि मिल्दैन । विगतमा अस्पतालभित्रै जलाउँदा प्रदूषण पनि हुने समस्या थियो । अटोक्लेभ मेसिनको प्रयोगले प्रदूषणको समस्यासमेत समाधान भएको सोडारी बताउनुहुन्छ । “पोखरा अस्पतालको फोहर व्यवस्थापन गर्ने शैलीबाट सिकेका हौँ । दुई जनालाई तालिम दिएर प्रशोधनको काम सुरु गरेका हौँ । प्रशोधनमा लागेको लागत उठोस् भन्ने चाहना हो”, उहाँ भन्नुहुन्छ, “अस्पतालका दुई कर्मचारीले दैनिक छ घण्टा जति काम गर्नुहुन्छ । डेढ सय लिटर क्षमताका दुईवटा मेसिन छन् ।”

अस्पतालमा दुईवटा मेसिन भए पनि अस्पतालको फोहरमात्रै थोरै हुने हुँदा हाल एउटामात्र निर्मलीकरण मेसिन प्रयोगमा ल्याइएको सफाइकर्मी काशीराम रेग्मी बताउनुहुन्छ । “थप फोहर पनि प्रशोधन गर्न सकिन्छ, एकैसाथ दुईवटै मेसिन सञ्चालन गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “हाल फोहर कम भएकाले एउटै मेसिन चलाउने गरेका छौँ ।”

फोहर वर्गीकरण गरेर ल्याउने र लागतमा सहभागिताका लागि अस्पतालले स्थानीय पालिकासँग छलफल गरिरहेकाले पालिकाले पनि सहकार्य गरेमा फोहर व्यवस्थापनमा सहजता हुने स्थानीय बताउँछन् । अस्पतालले निर्मलीकरण गरेको अस्पतालजन्य सामग्री लगेर चिप्स बनाई बुटवलका प्लाष्टिक कम्पनीलाई बेच्ने गरेको जय सियाराम होजियारी उद्योग जोशीपुरका सञ्चालक राजेश मण्डलले जानकारी दिनुभयो ।

यसैबीच अस्पतालमा एनेस्थेसिया चिकित्सक सेवा सञ्चालन भएको छ । गत साउनदेखि सहायक कर्मचारीका भरमा सेवा दिइँदै आएको अस्पतालले जटिल खालको शल्यक्रियाका लागि भने बाहिरबाट चिकित्सक ल्याउनुपर्ने बाध्यता थियो । गत असारसम्म भने जानकी गाउँपालिकाको आर्थिक सहयोगमा एनेस्थेसिया चिकित्सकको सेवा थियो । आइसीयू र जटिल खालका शल्यक्रियाका लागि मानिसलाई बेहोस बनाउन एनेस्थेसिया आवश्यक हुन्छ ।

व्यवस्थापन समितिका अध्यक्ष सोडारीले प्रदेश सरकारको सहयोगमा नवौँ तहका एनेस्थेसिया डा पूर्णराधा श्रेष्ठ टीकापुर अस्पतालमा आउनुभएको जानकारी दिनुभयो । एनेस्थेसिया चिकित्सक नियमित भएमा अस्पतालमा शल्यक्रिया सेवा नियमित र सहज हुने अस्पतालले जनाएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button