अन्यसमाचार

१९ औँ हस्तकला व्यापार मेला हुने

Gobal IME Bank

काठमाडौं । काठमाडौंमा १९ औँ हस्तकला व्यापार मेला हुने भएको छ । नेपाल हस्तकला महासंघले हरेक वर्ष गर्दै आएको हस्तकला व्यापार मेलाको १९ औँ संस्करण आगामी मंसिर २३ गतेदेखि २७ गतेसम्म हुने भएको हो । मेला काठमाडौंको बौद्धस्थित होटेल हायात रिजेन्सीमा हुने भएको छ ।

महासंघको आयोजना तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र र उद्योग वाणिज्य क्षेत्रका विभिन्न संघ, संगठनहरुको सहयोगमा हुन लागेको मेलामा हस्तकलाका वस्तुहरुको करिव १५० वटा स्टल रहने बताइएको हो । मेलामा फिलगिरी, थोज्यामाज्या (धातु पत्रकला) र पौभा थांका गरी ३ वटा विधाका कला प्रदर्शनी हुने जनाइएको छ । महासंघका अध्यक्ष प्रचण्ड शाक्यले नेपाली हस्तकलाको प्रवद्र्धन गर्दै विदेशसम्म पहिचान गराउनका लागि मेलाको आयोजना गरिएको बताउनु भयो ।

उहाँले मेलाले हस्तकलाका सामग्रीहरुको निर्यातलाई बढाउनका लागि सघाउ पुर्याउने बताउनु भयो । मेलामा हस्तकलाका वस्तुहरुको वृहत प्रदर्शनी तथा बिक्री हुनेछ । मेला संयोजक डिल्लीरत्न तुलाधरले मेलामा उत्कृष्ट स्टल प्रतियोगिता, मेड इन नेपाल, मेक इन नेपाल अवधारणा अनुरुप वस्तुहरुको प्रदर्शन र परम्परागत तथा नवोदित हस्तकलाको जीवन्त सीप प्रदर्शनी गरिने जानकारी दिनुभयो ।

त्यस्तै अमूर्त सांस्कृतिक सम्पदाको उजागर, जेष्ठ वरिष्ठ कलाकारहरुलाई सम्मान, अग्रणी निर्यातकर्ताहरुलाई सम्मान कला प्रदशर्नी र २०२३-२४ को ट्रेन्ड डिस्प्ले देखाइने उहाँले उल्लेख गर्नुभयो । मेलासँगै १७ औँ हस्तकला प्रतियोगितासमेत हुने भएको छ । काष्ठकला, प्रस्तरकला, मैनकला, मृतिकाकलामा मानव मुखाकृति भएको गरुड अर्थात बण्टेजको मूर्ति बनाउने र ऊनी, ढाका, कपडा, प्राकृतिक रेशाजन्य वस्तुबाट मफलर बनाउने प्रतियोगिता हुने उहाँले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार रुपैयाँ, द्वितीय हुनेलाई ३० हजार रुपैयाँ र तृतीय हुनेलाई २० हजार रुपैयाँ तोकिएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button