समाचार

हाइड्रोजन बिक्री गरेर देशलाई आर्थिक रुपमा समृद्ध बनाउन सकिन्छः अर्थमन्त्री

Gobal IME Bank

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले हाइड्रोजन बिक्री गरेर देशलाई आर्थिक रुपमा समृद्ध बनाउन सकिने बताउनुभएको छ ।
सोमवार काठमाडौंमा आयोजित नेपाल ग्रिन हाइड्रोजन समिट २०२२ लाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले हाइड्रोजन उत्पादन गरी बिक्री गरेर देशलाई आर्थिक रुपमा समृद्ध बनाउन सकिने बताउनुभएको हो ।

उहाँले जलवायु परिवर्तनका कारण विभिन्न असरहरु पनि देखिन थालेको भन्दै कार्बन उत्र्सजनलाई कम गर्नुपर्ने बताउनु भयो । उहाँले पेट्रोलियम पदार्थको खरिदमा नेपालबाट सबैभन्दा बढी डलर बाहिरिरहेको र व्यापार घाटा भइरहेको बताउनु भयो । मन्त्री शर्माले देशभित्र मात्रै हाइड्रोजनको प्रयोग गर्न सकेमा व्यापार सन्तुलनमा आउन सक्ने बताउनु भयो ।

उहाँले भन्नुभयो- ‘हामीले नेपालबाट अब विद्युत बिक्री गर्नुपर्दैन । अब हाइड्रोजन बिक्री गरे पुग्छ । एमोनिया बिक्री गरे पुग्छ । त्यसकारणले विद्युत पिपिए गर्न नपर्ने कुरा अब केही छैन । विद्युत उत्पादन गर्नमा हामीले अब क्यु फोर्टी, सिक्स्टी भन्नुपर्ने अवस्था पनि छैन । भएको पानीको सबै सदुपयोग गरेर विद्युत उत्पादन गर्नसक्यो भने र त्यसबाट हामीले हाइड्रोजन, एमोनिया बनाएर विश्वबजारमा प्रतिष्पर्धी भएर हामीले पुर्याउन सक्यौँ भने नेपालको समृद्धी त्यहीँ छ । नेपालको विकासको एउटा सुन्दर भविष्य मैले त्यही देखिरहेको छु । त्यसकारण यतातिर हामी सबैको ध्यान जानुपर्छ । जलवायु परिवर्तनका कारणबाट पार पाउनका लागि, कार्बन उत्र्सजनलाई कम गर्नुपर्ने आवश्यकतालाई यसले त्यसको विकल्पको रुपमा हामीले एमोनिया र ग्रिन हाइड्रोजन प्रयोग गर्नसक्ने भएको हुनाले यसको पनि त्यत्तिकै महत्व छ ।

नेपालको सन्दर्भमा सबैभन्दा बढी डलर खर्च गर्नुपर्ने वस्तु पेट्रोलियम पदार्थ भएको छ । पेट्रोलियम पदार्थको विकल्पको रुपमा हामीले हाइड्रोजनलाई प्रयोगगरी आफैँलाई मात्र प्रयोग गर्नसक्यौँ भने नेपालको व्यापार सन्तुलनमा आउने अवस्था देखिन्छ । नेपालको आर्थिक विकासको दृष्टिकोणले, जलवायु परिवर्तनलाई न्यूनिकरण गर्ने दृष्टिकोणले, विश्व बजारमा नेपालको पहुँचलाई वृद्धि गर्ने र प्रतिष्पर्धी बन्ने हिसावले र हामीसँग भएको अपार सम्भावनालाई सदुपयोग गर्ने र नेपालमा लगानी भित्राउने दृष्टिकोणले पनि यो विषय ज्यादै महत्वपूर्ण छ ।’
मन्त्री शर्माले हाइड्रोजन उत्पादन देशको विकास र जलवायु परिवर्तनलाई न्युनिकरण गर्ने दृष्टिकोणले निकै नै महत्वपूर्ण रहेको बताउनु भयो । यसमार्फत नेपाललाई विश्वबजारमा पहुँच वृद्धि गर्न र लगानी भित्राउन पनि सकिने उहाँले उल्लेख गर्नुभयो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button