गुड न्यूज 24मुख्य समाचारसफल कथासमाचार

आलेखः जुम्लाका तीन भाग्यमानी छोरी !

Gobal IME Bank

कर्णाली । भनिन्छ २००७ सालमा प्रजातन्त्र आउँदा कर्णालीवासीले एक वर्षपछि मात्रै थाहा पाएका थिए । विसं २०१५ सम्म भएका राजनीतिक घटनाक्रमका बारेमा पनि कर्णालीलाई त्यति धेरै थाहा नभएको यहाँको पाको पुस्ता बताउने गर्दछन् । विसं २०२१/०२२ सालपछि मात्र जुम्लाले केन्द्रमा प्रतिनिधित्व गर्न थालेको पाइन्छ ।

बहुदलीय व्यवस्था आउनुपूर्व केन्द्रमा पुरुष प्रतिनिधित्व हुँदै आए पनि प्रजातन्त्रको प्रादुर्भावपछि सात दशकको अन्तरालमा मात्र जुम्लाले संसद्मा महिला प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्यो । बहुदलदेखि लोकतान्त्रिक गणतन्त्र आउँदा पनि जुम्लाका नीतिगत तहमा केन्द्रमा पुग्न सकेनन् । विसं २०७० पछि बल्लतल्ल जुम्लाबाट संसद्मा महिला प्रतिनिधित्वको सुरुआत भयो ।

पञ्चायतकालीन शासन व्यवस्थामा २०२० सालपछि जुम्लाबाट सुरुमा रमाकान्त न्यौपानेले जित्नुभयो । त्यसपछि अदनसिंह कठायतले जुम्लाबाट केन्द्रमा प्रतिनिधित्व गर्नुभएको थियो । कठायत कालीकोट जिल्ला कायम नहुँदै राजाको पालामा सहायकमन्त्रीसमेत हुनुभएको थियो । पछि उहाँलाई पराजित गर्दै तिब्रीकोटका धर्मदत्त उपाध्याय विजयी हुनुभयो जतिबेला तिब्रीकोट जुम्लाभित्रै थियो ।

जुम्लाबाट तिब्रीकोट अलग भएर कालीकोट कायम भएपछि हरिचन्द्र महत निर्वाचित हुनुभयो । उहाँ राजाको पालमा दुईपटक मन्त्री भएको वामपन्थी बुद्धिजीवी रामकृष्ण बुढ्थापाले जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लोपटक महत जलस्रोत तथा यातायातमन्त्री पनि बन्नुभएको थियो । कोहलपुर वनवासाको मुद्दामा भारतविरुद्ध अडान लिएर आफ्नो व्यक्तित्व कायम गर्नुभएका उहाँले जुम्लामा पहिलोपटक विद्युत् पूर्वाधार निर्माण गर्नुभएको थियो ।

बहुदलीय व्यवस्था प्राप्तिपश्चात् २०४८ सालयताको संसदीय इतिहासलाई पल्टाउँदा संसदमा महिला प्रतिनिधित्व हुन जुम्लालाई दुई दशकभन्दा बढी समय लाग्यो । उतिबेला जुम्लामा महिला नेतृत्वहरु खोज्नुपर्ने अवस्था थियो ।

जुम्लाबाट २०४८ देखि २०६९ सालसम्म वामपन्थीले सांसद बनेर संसद्मा प्रतिनिधित्व गरे । विसं २०४८ नेपाल मजदुर किसान पार्टीबाट डिल्लीबहादुर महतले संसदमा प्रवेश गर्नुभएको थियो । त्यस्तै २०५१ सालमा नेमकिपाकै भक्तबहादुर रोकाय विजयी भएर संसदमा प्रतिनिधित्व गर्नुभयो ।

विसं २०५६ को संसदीय निर्वाचनमा नेकपा (एमाले) का देवीलाल थापाले सांसद बन्नुभयो । विसं २०६३ मा संसद् पुनःस्थापना हुँदा पनि थापा मनोनित हुनुभयो । विसं. २०६४ को संविधानसभा सदस्यको निर्वाचनमा भने नेकपा (माओवादी) बाट नरेश भण्डारीले जित्नुभयो । त्यससँगै समानुपातिक सांसदमा एमालेकै थापा छानिनुभएको थियो । त्यस बेलादेखि प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणाली सुरुआत भए पनि जुम्लाबाट संसद्मा महिला प्रतिनिधित्व हुन सकेन ।

वामपन्थीको बलियो किल्लाको विजयको क्रमभङ्गता भने विसं २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनबाट भयो । उक्त निर्वाचनमा नेकपा९एकीकृत माओवादी०का उम्मेदवार गजेन्द्रबहादुर महतलाई पराजित गर्दै जुम्लाबाट नेपाली कांग्रेसका ललितजङ्ग शाही विजयी हुनुभएको थियो ।

विसं २०५२ यता नेकपा माओवादीले सञ्चालन गरेको १० वर्षे सशस्त्र विद्रोह र २०६२/६३ को जनआन्दोलनपश्चात् २०६४ चैत २८ गते सम्पन्न पहिलो संविधानसभाको निर्वाचनबाट प्रत्यक्ष तथा समानुपातिक प्रणालीबाट मुलुकका धेरै महिलाले संसद्मा प्रतिनिधित्व हुने अवसर पाए पनि जुम्लालाई त्यो अवसर जुटेन ।

विसं २०७० बाट मात्र जुम्लाले पहिलोपटक संसदमा महिलाले प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्यो । त्यो अवसर पाउने महिला हुनुहन्थ्यो एकीकृत माओवादीकी गोमा गौतम (कुँवर) । उहाँ समानुपातिक सांसद चुनिनुभएको थियो । एमालेबाट बलबहादुर महत र नेमकिपाबाट डिल्लीप्रसाद काफ्लेले संसद्मा प्रतिनिधित्व गर्नुभयो । विसं २०७४ को संसद्मा भने जुम्लाले महिला प्रतिनिधित्व हुन पाएन ।

विसं २०७० मा एक महिला र तीन पुरुषले जुम्लाबाट संसद्मा प्रतिनिधित्व गरेका थिए । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा जुम्लाबाट ज्ञानबहादुर शाही विजयी हुनुभयो भने तीन महिला क्रमशः कांग्रेसका कान्तिका सेजुवाल, नेकपा (माओवादी केन्द्र) बाट छिरिङ ल्हामु लामा र राष्ट्रिय स्वतन्त्र पार्टीका बिनिता कठायतले जुम्लाबाट संसद्मा प्रतिनिधित्व गर्दै हुनुहुन्छ ।

राजाका पालामा चुनिनेबाहेक जुम्लाबाट प्रत्यक्षतर्फ राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर शाही यो चुनावमा अधिकतम मतले विजयी हुनुभयो । अन्य तीनै दलका महिला समानुपातिक निर्वाचन प्रणालीबाट चुनिएर जानुभएको हो । जुम्लाको इतिहासमा राप्रपाबाट प्रत्यक्ष सांसदमा निर्वाचित हुने शाही पहिलो व्यक्ति हो ।

भाग्यमानी बिनिता

भनिन्छ, ‘समय शक्तिशाली मात्र छैन, यसले परम्परागत हरेक संरचना र परिस्थितिमा अनपेक्षित परिणाम ल्याइदिन्छ ।’ यसको ज्वलन्त उदाहरण बन्नुभएको छ, जुम्लाका बिनिता कठायत । यसपटकको समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधिसभा सदस्यमा चुनिनुहुने जुम्ला चन्दननाथ नगरपालिका–५ की कठायत उमेरका हिसाबले नेपालकै दोस्रो कान्छी सांसद हुनुहुन्छ ।

रास्वपाले समानुपातिकतर्फ ११ लाख ३० हजार तीन सय ४४ मत ल्याएर १३ सिट ल्याउन सफल भयो । जसमा २६ वर्षीय कठायत कर्णालीबाट खस आर्य पिछडिएको क्षेत्रको प्रतिनिधित्व गर्दै सांसद बन्न सफल हुनुभयो । भर्खरै रोपेको पार्टीमा सानै उमेरमा त्यो पनि प्रतिनिधिसभा सदस्य हुन पाउने उहाँ भाग्यमानी छोरी बन्नुभएको छ । अहिले पनि धेरै महिलाले बिनितालाई भाग्यमा लेखेर आएकी छोरी भनेर पिठ्युँमा धाप लगाउँदै बधाई तथा शुभकामना व्यक्त गर्दै आएका छन् । कर्णालीको खस भाषामा भन्दा बिनिता अत्यन्तै भाग्यमानी छोरी पनि हुन् ।

मूलतः यो तहमा आइपुग्नुमा आजको सङ्घीय व्यवस्था, समानुपातिक निर्वाचन प्रणाली र रास्वपा पार्टीलाई नै श्रेय दिनुहुन्छ, संसद् कठायत । “त्यति लामो समय पनि होइन । म पार्टीमा तीन÷चार महिना जति मात्र सक्रिए भएँ”, उहाँले भन्नुभयो, “पार्टीले चुनावमा भाग लिएपछि जुम्लाबाट समानुपातिकको बन्दसूचीमा नाम गएको थियो ।”

चुनावमा भोट आउला र म सांसद बनुला भन्ने आशा त कल्पना नै नगरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “पार्टीमा तत्काल केही योगदान नै थिएन । त्यस्तो कर्म पनि गरिएको होइन । लामो समय राजनीति गरेका व्यक्तित्व यो ठाउँमा पुग्न नसकिरहँदा कर्णाली तथा सुदूरपश्चिम नेपालमा रास्वपाबाट प्रतिनिधित्व गर्दै सांसद हुने एक मात्र मलाई अवसर मिल्नु मेरा लागि भाग्य नै हो ।”

सन्ध्या फाउण्डेसनको संस्थापक कोषाध्यक्ष, हाल उपाध्यक्ष र हिमानी ट्रष्ट जुम्लाको संयोजकको भूमिका रहेर काम गर्नुभएका भएका उहाँले विगतमा कठायत परिवारको राजनीतिक विरासतले आफू यहाँ पुगेको बताउनुभयो । अब संसद्मा जुम्लाको शिक्षा, बाटो, स्वास्थ्य, बजेट र रोजगार विषय कुरा राख्ने योजना बनाएको उहाँले सुनाउनुभयो ।

जुम्लालगायत कर्णाली तथा सुदूरपश्चिम नेपालको पछिल्लो समयमा भयावह अवस्थामा फैलिएको लागुऔषध दुव्र्यसनीको नियन्त्रण, रोकथाम तथा न्यूनीकरणका लागि सम्बन्धित सरोकारवालालाई उत्तरदायी बनाउने र त्यसका लागि अभियानात्मक कार्यक्रम गर्ने कठायतले बताउनुभयो । उहाँका अनुसार उक्त अभियानका निम्ति स्थानीय तहसँग समन्वय गरेर अघि बढिनेछ ।

व्यवस्थाका कारण अवसर पाएकी लामा

माओवादीले समानुपातिकतर्फका १४ सांसदको नाम टुङ्ग्याउँदा जुम्लाबाट छिरिङ ल्हामु लामा तामाङ पनि चुनिन सफल हुनुभयो । उहाँ आदिवासी जनजाति पिछडिएका क्षेत्रबाट समानुपातिक प्रतिनिधिसभा सदस्य बन्नुभएको हो ।

उमेरका हिसाबले ३० वर्षीय लामा चन्दननाथ नगरपालिका–६ जुम्ला निवासी हुनुहुन्छ । जुम्लाको कृषि, सुशासन र महिला तथा बालबालिकाको सुरक्षा र अधिकार सुनिश्चिताका क्षेत्रमा काम गर्ने लामाले बताउनुभयो । उहाँले भन्नुभयो, “आज देशभरिका जति महिला, उत्पीडित, उपेक्षित, पिछडिएको, अल्पसङ्ख्यक र सीमान्तकृतहरु वर्ग जातिहरुका मानिस सबैलाई नीतिगत तहमा पु¥याउन समानुपातिक निर्वाचन प्रणालीले ठूलो भूमिका खेलेको छ । उहाँ भन्नुहुन्छ, ‘‘त्यो तत्कालीन माओवादीले आजको व्यवस्था ल्याउन खेलेको जीवित उदाहरण हो । जसका कारण आज हामीले ठूलो अवसर हात पार्न सफल भएका छौँ ।”

सेजुवाल पूर्वघोषित समानुपातिक सांसद

नेपाली कांग्रेसले देशभरि प्राप्त गरेको समानुपातिकतर्फको ३२ सिटमा जुम्लाबाट नेपाली काँग्रेसका नेतृ कान्तिका सेजुवाल छानिनुभयो । सेजुवाल पूर्व चन्दननाथ नगरपालिकाको प्रमुख पनि हुनुहुन्छ । खस आर्य र विशेषगरी पिछडिएको क्षेत्र कर्णालीबाट उहाँ समानुपातिक सांसद बन्नु हुनेछ भन्ने चुनाव सम्पन्न हुनुपूर्व नै अनुमान गरिएको थियो ।

कांग्रेस जुम्लाका पूर्वसभापति स्वर्गीय मानव सेजुवालको धर्मपत्नीसमेत रहेकी उहाँले स्थानीय सरकार सञ्चालन तथा व्यवस्थापनको अनुभव लिइसक्नुभएको । पहिलो पटक संसद भाग लिने तयारी रहेको बताउँदै सेजुवालले संसद्बाट अगाडि बढ्न नसकेका शिक्षा ऐनलगायतका राष्ट्रिय महत्व बोेकेका विधेयक अगाडि बढाउन जोड गर्ने बताउनुभयो । “कर्णालीको समृद्धि र विकासका लागि गौरवका आयोजनाको पहल तथा ती आयोजनाको कार्य तीव्रतामा विशेष जोड दिनेछु”, उहाँले भन्नुभयो, “नीतिगत सुशासन कायम गराउनतर्फ पनि मेरो सधैं खबरदारी रहनेछ ।” उहाँले स्थानीय तहको व्यवस्थापकीय अधिकार पूर्णरुपले प्राप्त नभएको विषयमा पनि संसद्मा कुरा उठाउने जनाउनुभयो ।

उहाँका अनुसार स्थानीय तह सञ्चालन ऐन संशोधन र सङ्घ सरकारले स्थानीय तहमा राख्ने ७० प्रतिशत करबारे संसद्मा जोडदार आवाज उठाइनेछ । उहाँले जुम्लासहित सिङ्गो कर्णालीको विकास र समृद्धिमा योगदान पुग्ने आयोजना सञ्चालनमा पहल थाल्ने जनाउनुभयो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button