समाचार

किबी खेतीप्रति किसानको आकर्षण-Goodnews24

Gobal IME Bank

गलकोट- पछिल्लो समय बागलुङ जिल्ला किबीखेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । बसाइँसराइ सराइका कारण बाँझो हुन थालेको जग्गामा राम्रो किबी उत्पादन थालेपछि पछिल्लो समय किबी खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ ।
विस २०५८ मा पाँच वटा किबीका बोटबाट किबीखेती शुरु गर्नुभएका बडिगाड गाउँपालिका–५ ग्वालिचौरका ५७ वर्षीय मेहरसिंह पाइजाको बारीमा अहिले ५०० किबीका बोट छन् । २५० बोटमा लटरम्म किबी फलेका छन् भने बाँकी बोटमा किबी फल्ने तयारीमा छ ।

बडिगाड गाउँपालिकाका अध्यक्षसमेत रहनुभएका पाइजाले बागलुङमा पहिलो पटक किबीखेती भित्र्याउनुभएको हो । पाइजाले थाल्नुभएको किबीखेती सफल भएपछि उहाँकै प्रेरणामा बागलुङका दुई दर्जनभन्दा बढी किसानले व्यावसायिक रुपमा किबीखेती गर्दै आउनुभएको छ ।

पाइजा मात्रै होइन गलकोट नगरपालिका–१ दुदिलाभाटीका गुमानसिंह खत्री, निसीखोला गाउँपालिका–४ स्थित लीला घर्ती, बागलुङ नगरपालिका–८ सिगानाका अनन्तबहादुर खड्का, हरि जिसी, बागलुङ नगरपालिका–९ तित्याङका हीरा केसी र प्रेम केसी ताराखोला गाउँपालिका–५ का नरबहादुर रानालगायतले व्यावसायिक किबीखेती गर्दै आउनुभएको छ ।

गाउँपालिका अध्यक्षसमेत रहनुभएका मेयरसिंह पाइजाले राजनीतिसँगै कृषि कर्ममा लाग्दा उहाँकै प्रेरणाबाट गाउँपालिकामा व्यावसायिक किबीखेती समेत फस्टाउँदै आएको छ । समुद्री सहतदेखि दुई हजार ३०० फिट अग्लो स्थानमा ५० रोपनी जग्गामा किबीसहित, सुन्तला, ओखर, स्याउ, पाउलिनिया, एबोकार्डो, कागती, अनार र हलुवावेदलगायतका थुप्रै धेरै मूल्य पर्ने फलफूलको खेती गर्नुभएको छ ।

“मलाई गाउँलेले शुरुमा बारीमा किबी लगाएको देखेर यस्तो लामो समय नफल्ने बोट लगाएर मकै, कोदो हुने बारी मास्यो, बौलायो पनि भने”, विगतका दिन स्मरण गर्दै उहाँले भन्नुभयो, “अहिले तिनै गाउँलेले कोदो, मकैको ठाउँमा किबीखेती गर्न थालेका छन् ।’’ गाउँलेहरुमा विस्तारै व्यावसायिक कृषिको सोच विकास भएको बताउँदै उहाँँ भन्नुहुन्छ, ‘‘विस्तारै कृषि पेशाप्रतिको सोच परिवर्तन हुँदै गएको छ, अहिले किबी खेतीप्रति दर्जनांै किसानको आकर्षण रहेको छ ।’’

यस्तै गलकोटका किसान गुमानसिंह खत्रीले पाँच वर्ष अगाडि दुदिलाभाटीको १० रोपनी जग्गामा किबीखेती गर्दै आउनुभएको छ । उहाँले लगाउनुभएको किबीले गत वर्षदेखि उत्पादन दिन थालेको छ । “पच्चीस वर्षदेखि व्यावसायिक कृषि उत्पादनमा लागे पनि किबीखेतीमा लागेको पाँच वर्ष भएको छ” खत्रीले भन्नुभयो “व्यावसायिक कुखुरापालन, तरकारीखेती गर्दागर्दै किबीखेती तर्फ आकर्षित भएको हुँ ।”

यस वर्ष रु चार लाखसम्म किबी बिक्रीबाटै आम्दानी गर्ने लक्ष्य राखेको छु । बागलुङ नगरपालिका–८ सिगानाका अगुवा किसान अनन्तबहादुर खड्काले छ वर्षदेखि व्यावसायिक किबीखेती गर्दै आउनुभएको छ । खड्काले लगाएको किबीखेतीले गत वर्षदेखि उत्पादन दिन थालेको छ ।

गत वर्ष मात्रै “दुई क्विन्टल किबी बिक्री गरेको थिएँ, बगँैचा व्यवस्थापन नहुँदा भनेजस्तो उत्पादन भएन”, खड्काले भन्नुभयो “अहिले बगैँचा व्यवस्थापन गरेको छु चार क्विन्टल किबी बिक्री गर्ने लक्ष्य राखेको छु ।” उहाँले एक केजी किबीलाई रु ४०० मा बिक्री गर्दै आउनुभएको थियो । उहाँले हाल दुई रोपनी जग्गामा व्यावसायिक किबीखेती र आठ रोपनी जग्गामा सुन्तलाखेती गर्दै आउनुभएको छ ।

कृषि ज्ञान पर्वतका अनुसार बागलुङमा दुईवटा किबीका पकेट क्षेत्रका रुपमा रहेको उत्पादनसमेत भइरहेको छ । गलकोट नगरपालिका–१ दुदिलाभाटीमा दुदिलाभाटी किबी पकेट क्षेत्र र ताराखोला गाउँपालिका–५ मा जुल्फे किबी पकेट क्षेत्र रहेको कृषि ज्ञान केन्द्र पर्वतका सूचना अधिकारी विश्वास काफ्लेले जानकारी दिनुभयो ।

उहाँका अनुसार पकेट क्षेत्रमा अनुदानग्राहीमार्फत किबीका बिरुवा, किबीको थाँक्रो, बारसहित क्षेत्रफल विस्तारमा सहयोग गर्दै आएको छ । बागलुङमा झण्डै ४० हेक्टर (८ हजार) जमीनमा व्यावसायिक किबीखेती गर्दै आइएको छ । यसमध्ये २० हेक्टर जमीनमा लगाइएको किबीले उत्पादन दिन थालेको छ । बागलुङमा उत्पादन भएको किबीले पोखरा बुटवल लगाएको बजार लिइरहेको छ ।

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”6152″] [irp posts=”6192″] [irp posts=”6588″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button