मुख्य समाचारशिक्षा स्वास्थसमाचार

जाडोमा ओठको हेरचाह कसरी गर्ने ? पढ्नुहोस् यी उपायहरु…

Gobal IME Bank

काठमाडौं । जाडो मौसम सुरु भएसँगै हाम्रो शरीर र अनुहारको छाला सुख्खा हुन सुरु हुन्छ । छाला सुख्खा हुनु भनेको नै जाडो महिना अथवा चिसो मौसमको सुरुवातको सूचक हो । यसरी मौसम परिवर्तन हुने बित्तिकै हाम्रो छाला सुख्खा र रुखो हुन थाल्छ । हाम्रो शरीरको अङ्गहरुमध्ये ओठ शरीरको कोमल अङ्ग हो ।

जाडो मौसममा बढी चिसो हुने, पानी कम खाने कारणले ओठ फुस्रो, रुखो र फुट्नेजस्ता समस्याहरु देखा पर्न थाल्छन् । विशेषगरी जाडो महिनामा हाम्रो छालाको हेरचाह गर्न ज्यादै नै आवश्यक हुन्छ । हामीले राम्ररी हेरचाह नगरेमा ओठ फुट्ने, जलन हुने हुनेजस्ता धेरै समस्या आउन सक्छन् । यस्तो अवस्थामा ओठलाई सुन्दर वा नरम बनाउन बजारमा धेरै थरिका कस्मेटिक प्रडक्टहरु प्रशस्त पाईन्छ, त्यसमध्ये लिप बाम धेरैले प्रयोग गर्ने गर्छन् । बजारमा उपलब्ध विभिन्न कस्मेटिक प्रडक्टहरुमध्ये कुन बढी प्रभावकारी हुन्छ ? भन्ने कुरा यकिनका साथ गर्न सकिन्न । त्यसकारण आफ्नो ओठलाई नरम बनाउनका लागि हामीले विभिन्न घरेलु उपायहरुअपनाउन सक्छौं ।

जाडोमा कसरी ओठको सुरक्षा गर्ने ?

कोमल र गुलाबी ओठलाई आकर्षक र स्वस्थ पनि मानिन्छ । लिप बामको प्रयोग, पर्याप्त मात्रामा पानी पिउने, घरबाहिर हिंडडुल गर्दा र खासगरी बाईकमा यात्रा गर्दा मास्क प्रयोग गर्दा ओठको सौन्दर्यलाई जोगाइराख्न सकिन्छ । यसैगरी धेरै चिसो वा धेरै तातो खानेकुराले पनि ओठमा असर गर्छ । धुम्रपानले पनि ओठलाई असर गर्छ ।

यी कुरामा ध्यान दिएमा ओठको ख्याल राख्न सकिन्छ ।

लिप बामको र लिपिस्टिकको छनोट

विशेषगरी जाडो मौसमका लागि भनेर बजारमा विभिन्न लिप केयर प्रोडक्टहरु ल्याउने गरिन्छ । तर कतिपय लिप बाम कम गुणस्तरका हुने भएकाले यसले ओठमा असर गर्न सक्छ । त्यसैले राम्रो ब्राण्डको ग्लिसिरिन सहितको मोइस्चराइजिङ प्रपर्टी बढी भएको लिप बाम प्रयोग गर्नु राम्रो हुन्छ। निभिया, हिमालयन ब्राण्डका लिप बाम राम्रो हुन्छ । SPF भएको लिप बामको प्रयोग गर्दा राम्रो हुन्छ । किनभने यसले चर्को घामको असर ओठमा छालामा पर्न दिँदैन । लिप बाम राति सुत्नुभन्दा अगाडि, बिहान मुख धोएपछि र मेकअप गर्नुभन्दा अघि लगाउनु आवश्यक हुन्छ । त्यसैगरी जाडोमा म्याट लिपिस्टिकको प्रयोग गर्नु हुँदैन । सकेसम्म सेमी म्याट प्रयोग गर्नु उपयुक्त हुन्छ र त्यसका साथै लिपिस्टिक लगाउनुअघि र पछि पनि लिप बाम लगाउनु जरुरी छ । यसले ओठलाई फुट्न दिंदैन र कोमल राख्न मद्दत गर्छ । विशेषगरी जाडोमा मोइस्चरयुक्त लिपिस्टिकको प्रयोग गर्नुपर्छ।

जाडोमा ओठको लागि प्रभावकारी घरेलु उपायहरु

नरिवल तेलः नरिवलको तेल निकै प्रभावकारी प्राकृतिक मोइस्चराइजर मानिन्छ । नरिवलको तेलमा मिडियम चेन फ्याटी एसिड पाइन्छ जसले गर्दा ओठले यसलाई सजिलै सोस्न सक्छ । नरिवलको तेलले मोइस्चर लक गरि ओठलाई हाइड्रेट राख्न मद्दत गर्छ । नरिवलको तेलले ओठमा मसाज गर्नु लाभदायक हुन्छ ।

घीउकुमारीः घीउकुमारीमा एन्टी इनफ्ल्यामेटरी र एन्टी ब्याकटेरियल प्रर्पटी हुन्छ जुन सुख्खा र रुखो छालाको लागि फाइदाजनक हुन्छ । फ्रेस एलेभेरा जेलमा भिटामिन, मिनरल्स र एन्टीअक्सिडेन्ट हुन्छ जसले नरिसमेन्ट र प्रोटेक्सन दिन्छ । फ्रेस एलेभेराको जेललाई निकालेर कुनै भाँडामा स्टोर गरि राखेर दिनमा दुई पटक ओठमा लगाउनाले फाइदा हुन्छ ।

महः महमा पनि एन्टी इनफ्ल्यामेटरी र एन्टी अक्सिडेन्ट प्रपर्टी हुन्छ र यसले प्राकृतिक मोइस्चराइजरको काम गर्छ । यसको नियमित प्रयोगले फुटेको ओठलाई निको पार्छ र ओठलाई नरम र सुन्दर बनाउँछ । महलाई १० देखि १५ मिनेट ओठमा लगाएर धुने अथवा रातभर छाड्नु पर्छ ।

चिनीः चिनीले स्क्रबको रूपमा काम गर्छ, जसले ओठको मृत छाला हटाउन मद्दत गर्दछ र ओठलाई कोमल र नरम बनाउन सहयोग गर्छ । थोरै मह लिएर यसमा चिनी मिसाएर ओठमा स्क्रब गरेर राम्रोसँग मसाज गर्दा फाइदा हुन्छ । यसो गरेर केहीबेर राख्ने र मनतातो पानीले धुने । त्यसपछि लिप बाम लगाउँदा राम्रो हुन्छ ।

कागती र बदामको तेलः तेलले छालालाई फुट्नबाट जोगाउँछ र यसको लगि बदामको तेल निकै राम्रो मानिन्छ । दुई तीन थोपा बदामको तेलमा दुई तीन थोपा कागतीको रस मिसाएर ओठमा लगाउने र यसलाई ५ देखि १० मिनेट ओठमा लगाएर धुने र लिप बाम लगाउने ।

जाडोमा यस्ता विभिन्न कुरामा ध्यान दिएमा हाम्रो ओठ कोमल, सुन्दर, आर्कषक र स्वस्थ हुनसक्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button