समाचार

मुस्ताङको पर्यटन बढ्दै -GoodNews24

Gobal IME Bank

म्याग्दी, १७ जेठ। प्रमुख पर्यटकीयस्थल मुस्ताङ लोमान्थाङमा पर्यटकको आगमन बढ्दै गएको छ । यसैसंगै लोमान्थाङ पुरानै लयमा फर्किन थालेको छ । कोरोनाको महामारीका कारण यसअघिका दुई वर्ष सुनसान बनेको लोमान्थाङमा पर्यटकको चहलपहल बढेको हो । लोमान्थाङ संरक्षण क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष टासी गुरुङले दुई वर्षपछि पर्यटकको आगमनले पुरानै लयमा फर्किएको बताउनुभयो ।
“होटल र होमस्टे पाहुनाले भरिएर घरमा समेत सुताएका छौँ,” उहाँले भन्नुभयो, “यसअघिको दुई वर्ष पर्यटक आगमन शून्य थियो ।” आइतबार सकिएको लोमान्थाङ र लोघेकर–दामोदरकुण्ड गाउँपालिकाका बासिन्दाले मनाउने सबैभन्दा ठूलो पर्व तिजीमा हालसम्मकै धेरै पाहुना भित्रिएका अध्यक्ष गुरुङले बताउनुभयो ।
लोमान्थाङ सीमा प्रहरी चौकीका अनुसार जेठ महिना सुरु भएयता ३८९ विदेशी पर्यटक भित्रिएका छन् । लोमान्थाङ प्रवेशका लागि विदेशी पर्यटकले १० दिनका लागि प्रतिव्यक्ति पाँच सय डलर नेपाल सरकारलाई प्रवेश शुल्क बुझाउनुपर्छ । लोमान्थाङमा रहेका ३५ होटल पाहुनाले भरिभराउ छन् । चैत–वैशाख–जेठ र असार महिना लोमान्थाङ भ्रमणका लागि उपयुक्त समय हो ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को लोमान्थाङ संरक्षण कार्यालयका कर्मचारी रामबहादुर गुरुङले अभिलेख नराखिए पनि विदेशीको तुलनामा नेपाली पर्यटक धेरै आएका छन् भन्नुभयो । सडक यातायातको सहज पहुँचसँगै लोमान्थाङमा स्वदेशी पर्यटकहरु बढेका उहाँले बताउनुभयो । जोमसोम–कोरला ११० किलोमिटर दूरीको सडक स्तरोन्नति भएपछि अहिले पोखरादेखि एकै दिनमा लोमान्थाङ पुग्न सकिने भएको छ । समथर, नाङ्गा र फुस्रा पहाडले घेरिएको लोमान्थाङ आसपासका क्षेत्रमा गुम्बा, गुफा, दरबार, लोवा समुदायको कला संस्कृति र हिमाली जीवनशैली आकर्षण बनेका छन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button