मुख्य समाचारसमाचार

नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सचिव डिलाराम आचार्यसंगको अन्तर्वार्ता

Gobal IME Bank

काठमाडौं । यतिबेला मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । अधिकांश मत परिणाम आइसकेको छ भने केही स्थानमा मतगणना जारी छ । केही ठाउँमा भने मतदान हुँदैछ । समानुपातिकतर्फको मत परिणाम पनि अन्तिम चरणमा पुगिसकेको छ ।

अहिलेसम्मको निर्वाचन मत परिणाम हेर्ने हो भने कुनै एक पार्टीको मात्रै बहुमत पुग्ने स्थिति देखिँदैछ । त्यसैले गठबन्धनको आडमा सरकार बनाउनुको विकल्प छैन । अब बन्ने सरकार पनि गठबन्धन भएर नै बन्ने निश्चित छ । नेपाली काँग्रेस र नेकपा एमाले पहिलो पार्टी बन्नका लागि प्रतिष्पर्धामा अझै छन् भने तेस्रो पार्टीका रुपमा नेकपा (माओवादी केन्द्र) हुने प्रायः निश्चित छ । त्यस्तै नयाँ राष्ट्रिय स्वतन्त्र पार्टी देशको चौथो ठूलो पार्टी बन्दैछ । राष्ट्रिय प्रजातन्त्र पार्टी पाँचौं स्थानमा प्रतिनिधि सभामा देखिने लगभग पक्का छ । यस्तो अवस्थामा दलहरुबीच गठबन्धन गरेर मात्रै सरकार बनाउन सक्नेछन् । एकल दलको सरकार बन्ने अवस्था छैन । देशभरबाट हालसम्म ५ जना स्वतन्त्र उम्मेदवारले चुनाव जितेका छन् ।

यस्तो अवस्थामा बाम गठबन्धन भएर कम्युनिष्ठहरुको सरकार बन्छ वा अहिलेकै गठबन्धनले नयाँ सरकारको नेतृत्व गर्छ ? भन्ने प्रश्न पनि यतिबेला आम जनमानसमा छ । सचिव आचार्यले काँग्रेसको शेखर–गगन समूहले (माओवादी केन्द्र) लाई भोट नहाल्न तलसम्म नै निर्देशन दिएको आरोप लगाउनु भयो । उहाँले आफ्नो पार्टीले प्रत्यक्षमा नै ४० सिट माथि जित्ने आँकलन गरेपनि त्यसो नभएको बताउनु भयो । उहाँले नयाँ पार्टीहरुले पाएको जनमत बहकिने खालको जनमत बहकिने खालको जनमत भएको र उत्तेजनामा मतदान गर्नेकुरा स्वभाविक नरहेको तर्क गर्नुभयो । उहाँले माओवादीले सरकारको नेतृत्वमा दाबी गर्नेपनि बताउनु भयो । नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सचिव डिलाराम आचार्यसँग गरिएको कुराकानी निर्वाचनको मत परिणाममा पार्टीको धारणा, वर्तमान सत्ता गठबन्धनको भविष्य, नयाँ सरकार निर्माण लगायतको विषयमा भएको कुराकानी ।

प्रश्नः निर्वाचनको मत परिणामलाई नेकपा (माओवादी केन्द्र) कसरी लिएको छ ?
उत्तरः सामान्य रुपमा हेर्दा अस्वभाविक छ । किनभने गठबन्धन गरेर गइसकेपछि हाम्रो अनुमान के थियो भने हामीले उठाएको ४८ सिटमध्ये ४० सिटजति आउनपर्दथ्यो भन्ने छ । तर के देखियो भने हामी माओवादीको भोट गठबन्धनका अन्य दलमा खास गरेर काँग्रेसमा, समाजवादीमा सबैतिर सजिलोगरी पर्यो । काँग्रेसको भोट त्यति सजिलैगरी हामीतिर सिफ्ट भएन कि, आएन कि भन्नेकुरा निर्वाचनको परिणामले देखाउँछ । यसको गहिरो विश्लेषण त पछि होला । तर फेरि कांँग्रेसको एउटा पक्षले काहीँ न काहीँ हामीलाई भोट नहाल्ने भनेर भनेको भन्नेकुरा काठमाडौं आएपछि त्यो जानकारी पाएँ मैले । एउटा पक्षले माओवादीलाई भोट नहाल्नु भनेर गर्ने, अर्कोतिर हाम्रो भोट जतिसक्दो पूरै लिने । एक खालको असामाञ्जस्यता जस्तो, आशंकाजस्तो उत्पन्न हुने वातावरण त बनेको छ निश्चित रुपले चुनाव पछि ।

प्रश्नः आशंका त रह्यो, तर तोकेरै भन्न सक्नुहुन्छ काँग्रेसले भोट हालेन भनेर ?
उत्तरः परिणामले त्यो देखाउँछ । किनभने मत हिसाव गर्दा माओवादीले ४० जति सिटमा जित्नुपथ्र्यो । आठओटा हाम्रो फुत्किएपनि भन्ने थियो । हामीले व्यवहारमै विश्लेषण गरेर ४० को हाराहारीमा हामी प्रत्यक्षमा आउँछौ । समानुपातिकमा हाम्रो भोट कति आउँछ त्यो हिसावले पुरानो जुन पोजिशन थियो हाम्रो त्यो भन्दा यसपटक कम हुन्न भन्ने हाम्रो आँकलन । तर अहिले प्रत्यक्षमा झण्डै आधि भन्दा बेसिको फरक पर्यो । त्यो फरक मत कम भएको कारणले होइन कि मत सहज रुपले हामीतिर सिफ्ट भएन भन्ने कुरा देखिन्छ ।

प्रश्नः किन तपाईहरुलाई भोट सिफ्ट भएन त ?
उत्तरः माथिबाट केही न केही निर्देशन गयो । शेखर–गगन समूहको तर्फबाट केही न केही निर्देशन तल गएको भन्ने बुझिन्छ । अहिले ठ्याक्कै प्रमाण त छैन । तर घटनाहरुले त्यस्तो देखाउँछ । काँग्रेसको संस्थापन पक्षले मुलतः इमान्दारी साथ भोट हाल्ने कोशिस गरेको देखिन्छ । तर फेरि अर्को समस्या के रहेछ भने काँग्रेस हाम्रो जस्तो क्याडरबेस पार्टी भएन । मासबेस पार्टी हो । मासमा जाँदाखेरी मासले आफ्नो किसिमले सोच्ने कुरा पनि भइहाल्यो । तर काँग्रेसको एउटा पक्षले माओवादीलाई जानि बुझिकन भोट नहाल, बरु अरुअरुसँग हातेमालो गर भन्ने दिशामा गएको हो कि भन्ने घटनाले त्यस्तो देखाउँछ ।

प्रश्नः संसदमा नयाँ पार्टीहरुको उदय भएको छ, नयाँ पार्टीहरुको उदय हुनुलाई कसरी विश्लेषण गर्नुहुन्छ ?
उत्तरः नयाँ पार्टीहरु आउने कुरा नराम्रो होइन । प्रजातन्त्रको फूलबारी हो । यसमा सबै किसिमका फूलहरु फुल्न पाउँछन् । तर जनताले विश्वास गर्दा ति नयाँ पार्टीहरुको सिद्धान्त के हो ? राजनीति के हो ? कार्यदिशा के हो ? भोलि कहाँ लैजाने हुन् ? भन्ने कुरा हिसाव नगरीकन भोट हाल्ने जुन ट्रेण्ड देखिएको छ नेपालमा यो खतरनाक छ । किनभने हामीले उनीहरुलाई भोट हाल्ने भनेको त उनीहरुका नीति, कार्यक्रम माथि आधारित भएर हो । व्यक्तिको अनुहार हेरेर होइन । व्यक्तिको अनुहारले त धोका दिनसक्छ । लिखित प्रतिवद्धता, सिद्धान्त, राजनीति, कार्यनीति, अर्थनीति, परराष्ट्र नीति, नेपालको विकास सम्बन्धी उनीहरुको अवधारणा यि सबै कुरालाई विश्लेषण गरेर भोट हाल्नुको सट्टा नेपाली जनमानसमा सतही खालको फेसबुके विश्लेषणको आधारमा बहकिने जुन चिज देखिएको छ, यो राम्रो छैन । हामीले गर्व गथ्र्यौं, दश वर्षे जनयुद्ध, २०६२/०६३ को जनआन्दोलन देशमा आमुल परिवर्तनपछि जनताको चेतना ह्वात्तै माथि बढेको छ, भन्ने विश्लेषण हुन्थ्यो । तर अहिले के देखियो भने होइन रहेछ । हामी फेसबुकको वरिपरी नाचिरहेका छौँ । फेसबुकका राम्रा कुराका वरिपरि पनि नाचिरहेका छौँ । नराम्रा र भ्रमपूर्ण कुराहरुको वरिपरि पनि हामी नाचिरहेका छौँ ।

विषयको जरोसम्म पुगेर त्यो के हो भनेर पत्ता लगाएर आफ्नो अभिमत दिने भन्दापनि तत्कालिक क्षणिक आवेग, उत्तेजनामा निर्णय गर्ने कुराहरु केही मात्रामा हाबी भएको देखिन्छ । यो राम्रो कुरा होइन । जुन जनमत उनीहरुले पाएका छन् त्यो जनमत पाउनुमा हाम्रो जनमत बहकिने खालको छ, उत्तेजक नाराहरुमा केन्द्रित हुने खालको छ । र गाली गलौजलाई मन पराउने खालको छ । घण्टी भन्नुस् वा सिके राउत भन्नुस् उहाँहरुले मतदाताहरुलाई जे विषय दिइराख्नुभएको छ त्यो पुराना पार्टी र उनीहरुका केही कमी, कमजोरीहरुको उजागर गर्ने र एकोहोरो गाली गर्ने बाहेक उहाँहरुको आफ्नो के हो ? उहाँहरु के चाहानुहुन्छ रु भन्नेकुरा उहाँहरुले भन्न सक्नुभएको छैन । यस्तो अवस्थामा जनताले उहाँहरुलाई तिरस्कार गर्नुपथ्र्यो । तिम्रो आफ्नो नीति लिएर आउ । कार्यक्रम लिएर आउ । घोषणा लिएर आउ । सिद्धान्त लिएर आउ । तिमी के हौ ? तिमी दाहिने, देब्रे, दरबारिया, कम्युनिष्ट, काँग्रेस के हौ भन्ने कुरा प्रश्न गर्नुपथ्र्यो । त्यो नगरीकन उत्तेजनामा मतदान गर्ने जुन कुरा हो । त्यो राम्रो र स्वभाविक छैन ।

प्रश्नः गठबन्धन कायम रहन्छ रहँदैन ? गठबन्धनको सरकार बन्छ कि बन्दैन ? सरकारको नेतृत्व कसको हुन्छ ? सरकारको नेतृत्वमा दाबी छ कि छैन ?
उत्तरः गठबन्धन तलमाथि पार्ने बारेमा हाम्रो बीचमा कुनै छलफल भएको छैन । गठबन्धन यथावत नै रहला भन्ने हामी अनुमान गर्नसक्छौँ । एक दुई दिनमा हाम्रो बैठक बस्ला सबै परिणाम आइसकेपछि । त्यसबारेमा गम्भिरतापूर्वक छलफल होला । गठबन्धन तलमाथि हुन्छ भन्ने त देखिन्न । तर नेतृत्वको प्रश्नमा त एकचोटी यसमा खुलेरै छलफल गर्नुपर्ने हुन्छ । किनभने मतदाताहरुको अहिले कुरा के हो भने तिमी राजनीतिक नेताहरुको जीवन सुखमय हुने ।

आम जनताको जिवन नबदलिने किन भयो भन्ने एउटा प्रश्न पनि हो । नयाँ पार्टीमा मत जानुको कारण के पनि हो भने जीवन बदलिएन जनताको भन्ने कुरा पनि हो । यसको निम्ति हामीले शेरबहादुरलाई प्रयोग गरेर हे¥यौँ । शेरबहादुरबाट हुन्छ नयाँ किसिमले नेतृत्व गर्नुहुन्छ भन्ने पनि देखिन्न । काँग्रेस भित्र पनि आधा दर्जन मानिसको दाबी छ । हामीले हामी नेतृत्व गर्छौं भन्ने ठाउँमा पनि हाम्रो असाध्यै थोरै छ । यद्यपी हामी निर्णयात्मक छौँ । त्यो अवस्थामा यदी हाम्रो पार्टीले नेतृत्व गर्न पाउँछ भने, चुनावमा देखिएका जनताका आक्रोशहरु छन् । आलोचनाहरु छन् । गुनासा, बिरोधहरु छन् । यि सबै कुरालाई समेटेर देशको अवस्थालाई परिवर्तन गर्ने दिशामा जानको निम्ति हामी प्रतिवद्ध छौँ । माओवादीसँग जनताले आशा गर्ने कुरा पनि जायज छ । जनतालाई अहिले उठेको आक्रोशलाई शान्त पार्नको निम्ति हाम्रो नेतृत्व अपरिहार्य छ । काँग्रेस बाट या अरु कसैबाट यो कुरा सम्भव छैन ।

प्रश्नः प्रचण्डको नेतृत्वमा सरकारमा जानका लागि तपाईहरुको दाबी हो ?
उत्तरः यो त चुनाव अगाडीको पनि दाबी हो । अहिले पनि हाम्रो दाबी रहन्छ । तर हाम्रो दाबी यो हदसम्म हुन्न कि हामीले नेतृत्व पाए हुन्छ नत्र हुन्न भन्ने तहसम्म जान्न । किनभने नेपालजस्तो गरिव देशले तुरुन्तै अर्को मध्यावधि चुनाव घोषणा गर्न सम्भव छैन । त्यसैले अहिले आएको परिणामलाई जोगाएर हामी सरकार सञ्चालनमा, सरकार निर्माणमा त केन्द्रित हुनुपर्छ । तर यो कुरा सत्य हो, यो कुरा हामीले जनतालाई पनि भन्नुपर्छ कि माओवादीले कमसेकम १०/१५ वर्ष नेतृत्व गर्न पायो र उसले देशको, जनताको जीवनको परिवर्तन गरेन भने बल्ल तपाईहरु माओवादीलाई डस्टबिनमा फाल्नुहोस् । हामी त्यो सजाय भोग्न तयार छौँ । तर माओवादीको राम्रोगरी प्रयोग नै भएको छैन सत्ताको सन्दर्भमा र जुन आक्रोश छ जनताको, जनताको आक्रोश जायज छ । तर यो कुरा सँगसँगै बुझ्नुपर्यो कि माओवादीले नेतृत्व गर्न पाएको छ कि छैन ? भन्ने कुरा हेक्का राखिदिनु पर्यो जनताले भन्ने कुरा हो मेरो ।

प्रश्नः संसदीय अंक गणितमा नेपाली काँग्रेस बाहेकको सरकार हुने भयो भने तपाईहरु नेकपा (एमाले) सँग सत्ता सहकार्य गर्न तयार हो कि होइन ?
उत्तरः अहिले नै हामीले त्यसबारेमा कुनै निर्णय गरेका छैनौँ । आज देशमा जुन अवस्था आएको छ, नयाँ शक्तिहरु सल्बलाएका छन् । परिवर्तन बिरोधी शक्तिहरु, गणतन्त्र मन नपराउनेहरु, संघीयता मन नपराउनेहरु सल्बलाइरहेका छन् । जुन नेपाली समाजमा आशंकाहरु उत्पन्न भएका छन् । त्यसको पछाडीको कारक तत्व त फेरि केपी ओली हो । उहाँलाई दुई तिहाइ बहुमतसहितको प्रधानमन्त्री हामीले बनाएका हौँ । त्यसलाई लगेर उहाँले विघटनमा हालिदिनु भयो । पार्टी विभाजनमा हालिदिनु भयो । त्यसकारण अहिलेको सन्दर्भमा फेरि उहाँसँग सहकार्य गरेर जान्छौँ कि जान्नौँ भन्ने बारेमा त यो पार्टी भित्रको छलफल, बहस र प्रस्तावको विषय हुनसक्छ । हुँदै हुन्न भन्नेकुरा पनि भएन । एउटा छलफलको विषय हुनसक्छ, तर आजसम्म पार्टीको जुन स्प्रिट छ, निर्णय छ, यसले ओलीसँग एकता गरेर जान दिन्न ।

प्रश्नः संसदमा राष्ट्रिय प्रजातन्त्र पार्टी बलियो शक्ति, निर्णायक शक्तिको रुपमा आएको देखिन्छ, यसलाई कसरी बुझ्ने ?
उत्तरः राप्रपा आउनुको पछाडी त म ओलीजिलाई जोड्छु । यतिका सिट लिएर राप्रपा सदनभित्र आउनुको पछाडी ओलीजीले जुन काँधमा बोकेर हिँड्नुभयो राप्रपालाई । राजेन्द्र लिङदेन र कमल थापालाई बोकेर हिँड्नुभयो । त्यसमध्येका केही मान्छेहरु छचल्किएर आएका हुन् । आफ्नो तागत, आफ्नो बलबुताबाट आएका होइनन् । ओलीजिले यसको जिम्मा लिनुपर्छ । फेरि गणतन्त्र, संघीयता, धर्म निरपेक्षताले जुन खालको जनतालाई डेलिभरी दिनुपथ्र्यो, जनताको जीवनमा परिवर्तन हुनुपर्यो भन्ने जनताको माग जायज छ । तर यसो हुन नसक्नुको कारण गणतन्त्र, धर्मनिरपेक्षता, सहभागितामूलक र समानुपातिक राज्य व्यवस्था हो ।

केही ठालुहरुले मात्रै शासन गर्न पाउनुपथ्र्यो । दलित, जनजाति आदि इत्यादिलाई ल्याएर बिग्रियो । या संघीयतामा गएर बिग्रियो भन्ने कुरा बेठिक हो । जनतालाई डेलिभरी दिन ग्याप भएको । अलिकति परम्परागत किसिमले हामी चलेको । पुराना बन्धनहरुलाई तोडेर नयाँ किसिमले जान नसकेको कुरा साँचो हो । त्यसो भएको हुनाले जनताको गुनासाहरु साँचो हुन् । तर परिवर्तन बिरोधी शक्तिको हाबी भइराखेका छन् । त्यो त केपी ओलीले बोकेर ल्याउनुभएको हो । त्यसो उहाँले किन गर्नुभयो । त्यसको जवाफ त उहाँले नै दिनुहोला । मुलरुपमा जे जति शक्तिमा उनीहरु आएपनि यसको सुन्दरता नै यही हो । हिजो राजाका बिरुद्ध एउटा नारा लगाउँदाखेरी कयौँ पटक गिरफ्तार हुने, जेल पर्ने मान्छे हामी हौँ । सारा देशका हजारौँ मान्छेहरु हुन् । राजतन्त्रको बिरुद्ध बोल्नुपर्दा मर्नुपर्ने हाम्रा कयौँ साथीहरु हुन् । तर आज राजतन्त्रवादीहरुले के बुझ्नुपर्छ भने यो यस्तो व्यवस्था हो जहाँ आएर राजा पनि माग्न पाइन्छ ।

प्रश्नः सुदूरपश्चिम प्रदेशमा (माओवादी केन्द्र) क्लिनस्वीप भयो, मधेस प्रदेशमा एक सिट मात्रै आयो, सुदूरपश्चिम र मधेस प्रदेशमा पार्टी किन कमजोर ?
उत्तरः नढाँटीकन भन्दा यो कुरा बाहिर मिडियामा पनि आएको छ । मधेसमा विभिन्न गुटहरुको पार्टी भित्रमै खुट्टा तानातानले त्यहाँ पुर्याएको भन्ने एउटा तर्क छ । माओवादीलाई भोट नहाल भन्ने काँग्रेसभित्रको एउटा पाटोले पनि त्यहाँ काम ग¥यो भन्ने देखिन्छ । त्यहाँ हाम्रो पार्टी सुव्यवस्थित रुपमा नचलेको । किनभने सबभन्दा धेरै उत्पीडन भएको ठाउँ मधेस हो । गरिव र धनीको धेरै ठूलो खाडल भएको ठाउँ पनि मधेस हो । त्यसो हुँदा सबभन्दा बलियो कम्युनिष्ट पार्टी निर्माण हुनसक्ने ठाउँ मधेस हो ।

तर त्यहाँ आपसी मनमुटावहरु एकातिर । अर्कोतिर काँग्रेसको एउटा पाटोले भोट नहाल माओवादीलाई भन्ने सन्देशको प्रभाव यि सबै कारणले त्यहाँको अवस्था त्यस्तो भएको हो । सुदूरपश्चिममा, हाम्रो पार्टीले पाँच वर्ष त्यहाँ सरकार सञ्चालन गर्दाखेरी कति राम्रो कति नराम्रो ग¥यो मसिनो गरी मैले बुझेको छैन । तर जनअपेक्षा अनुसार त्यहाँ काम हुन सकेन । परम्परागत रुपले नियमअनुसार त काम भयो तर जनअपेक्षा अनुसारका केही कामहरु हामीले शुरुवात गरिदिनुपथ्र्यो । त्यो काम गर्न नसक्नुको परिणाम सुदूरपश्चिमको होला । सुदूरपश्चिमको पार्टीको आन्तरिक मामिला सबै मैले मसिनोगरी बुझेको छैन । तर यो दुर्भाग्यपूर्ण छ । सुदूरपश्चिम हाम्रो आधार हो । त्यहाँ हामीले पाँच वर्ष सरकार सञ्चालन ग¥यौँ । तर परिणाम आउँदा जिरोमा आउने वा मधेस जहाँ वर्ग संघर्षको केन्द्र हुनसक्छ । आजको सन्दर्भमा नेपालमा कम्युनिष्ट पार्टी सबभन्दा बलियो हुने ठाउँ त्यहाँ हो । त्यहाँ हाम्रो उपस्थिति कमजोर हुने कुरा दुर्भाग्यपूर्ण छ ।

प्रश्नः संसदमा प्रतिनिधित्व गर्ने दलहरुको संख्याका कारण संसदमा अस्थिरता आउने हो कि भन्ने आशंकाहरु उब्जिएको विश्लेषण सुनिन्छ, यहाँको भनाई के छ ? संसदको अहिलेको अंक गणितले यसको पूर्ण कार्यकालमा कस्तो असर पार्ला ?
उत्तरः पुरानो पाँच दलिय गठबन्धनले निरन्तरता पायो र सरकार निर्माणमा गयो भने यो पाँच वर्ष जान्छ । पाँच वर्ष जाने भनेको एकै जनाको नेतृत्वमा नभएर दलहरुको बीचमा केही समय नेतृत्व परिवर्तन गरेर भएपनि पाँचै वर्ष जान्छ र जानुपर्छ । नेपालजस्तो देशले हरेक वर्ष मध्यावधि चुनाव गरेर खर्बौं रुपैयाँको व्ययभार व्यहोर्न सक्दैन ।

त्यसकारण पनि यसलाई पाँच वर्ष लैजानुपर्छ । धेरै पार्टीको उपस्थितिले राम्रै पनि गर्नसक्ला । सबैको उपस्थितिले सकारात्मक विषयहरु, जनताका विषयहरु सदनभित्र उठ्छन् । जनताको संसदप्रतिको आशा बढेर जानपनि सक्ला । त्यो लडाईंमा हामीले आफूलाई सही साबित गर्ने चुनौती त छँदैछ । तर गठबन्धन राम्रोगरी नहुने, दलहरु भित्र आपसी खिचातानि तिब्र हुने, दलहरु अझ थप विभाजित हुँदै जाने र देश अझ अन्यौलता, अस्थिरतातिर जाने पनि हुनसक्छ । त्यसो हुन नदिनका लागि हाम्रो पार्टी निश्चित रुपले प्रतिवद्ध छ । हामीले हाम्रो पार्टीको हीतको कारणले सदनलाई तलमाथि हुन दिने र तुरुन्तै मध्यावधिमा देशलाई धकेल्ने दिशामा जाँदैनौँ । त्यसप्रति हामी प्रतिवद्ध छौँ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button