मुख्य समाचारसमाचार

नेपाली नर्सलाई बेलायतमा काम , वार्षिक ५५ लाख रुपैयाँ कमाई – Good News 24

Gobal IME Bank

काठमाडौं । नेपाल र बेलायतबीच जीटुजी (सरकार–सरकारबीचको समझदारी) मोडलमा श्रम सम्झौता भएको छ । सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा दुई देशका पदाधिकारीबीच बेलायतमा नेपाली नर्स र स्वास्थ्य क्षेत्रमा कामदार पठाउने गरी श्रम सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
श्रम सम्झौतापत्रमा नेपालका तर्फबाट श्रमसचिव एकनारायण अर्याल र नेपालका लागि बेलायती राजदूत निकोल पोलिटले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । श्रम सम्झौताअनुसार छिट्टै परीक्षा दिएर नेपाली नर्सका साथै स्वास्थ्य क्षेत्रमा अरु कामदार पनि बेलायत पठाइने गरि सम्झौता भएको सचिव अर्यालले जानकारी दिए ।
नेपालबाट बेलायतमा काम गर्न जाने नर्सहरुले बेलायतको श्रम ऐनअनुसार सेवा सुविधा पाउने बेलायती राजदूत पोलिटले जानकारी दिइन्। सम्झौतापत्रमा उल्लेख भएअनुसार अब नेपालबाट नर्स मात्रै नभएर ल्याब असिस्टेन्ट, अनमी, बीएन नर्स, फार्मेसिस्टलगायत पनि बेलायत काम गर्न जान पाउनेछन ।
बेलायतको ‘डिपार्टमेन्ट अफ हेल्थ सर्भिस’ र ‘नेसनल हेल्थ सर्भिस’का प्रतिनिधिका साथै काठमाडौंमा रहेको बेलायती दूतावासका प्रतिनिधि र नेपाल सरकारका प्रतिनिधिबीच विभिन्न चरणमा छलफल भई स्वास्थ्य क्षेत्रमा श्रमिक बैलायत लैजाने मापदण्ड तय भएको सचिव अर्यालले बताए।
बेलायतका काम गर्न पहिलो चरणमा कम्तीमा १ हजार नर्स पठाउने गरी सम्झौता गरिएको श्रम मन्त्रालयले जनाएको छ। रोजगारीका लागि बेलायत जान चाहने नर्सहरूले इन्टरनेसनल इङ्लिस ल्याङ्ग्वेज टेस्टिङ सिस्टम (आईईएलटीएस) परीक्षामा ६.५ अंक प्राप्त गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।
बेलायत जाने स्वास्थ्य जनशक्तिले नर्सिङ काउन्सिलबाट अनुमतिपत्र लिनुपर्ने, बेलायतमा पाँच वर्षसम्म काम गरेपछि अनिवार्य स्वदेश फर्किनुपर्ने, आईईएलटीएस अनिवार्य गर्नुपर्ने, २० देखि ४५ वर्ष उमेर समूहका नर्स पठाइने, दक्षताका आधारमा उनीहरूले आईईएलटीएसमा ६ अंक ल्याउनुपर्ने सर्त रहेको सचिव अर्यालले बताए।
सम्झौताअनुसार कम्तीमा साढे दुई वर्ष सरकारले मान्यता दिएका अस्पतालमा काम गरेका नर्सले आईईएलटीएस परीक्षामा सहभागी हुन पाउँनेछन् । बेलायत जाने नर्सले वार्षिक ३६ हजार पाउन्ड स्टर्लिङ अथवा वार्षिक करिब ५५ लाख नेपाली रुपैयाँभन्दा बढी कमाउने अवसर पाउनेछन् । यो अवसर स्वास्थ्य क्षेत्रमा काम गरिरहेका नेपालीहरुका लागि निकै लाभदायक हुने अपेक्षा परिएको छ ।

बेलायत लैजाने सम्झौता पत्रमा उल्लिखित विषयहरू-

१. स्वास्थ्यकर्मीको छनोट र पदस्थापना नेपालको वैदेशिक रोजगार विभाग तथा बेलायतको डिपार्टमेन्ट अफ हेल्थ एन्ड सोसियल केयर वा तोकिएको निकायको प्रत्यक्ष संलग्नतामा सरकारी (गभर्मेन्ट टु गभर्मेन्ट) प्रक्रिया बमोजिम हुने।

२. नेपाली स्वास्थ्यकर्मीलाई बेलायतको स्वास्थ्य सेवा (एन.एच.एस.) मा सुरक्षित, मर्यादित र व्यवस्थित तवरले रोजगारीमा संलग्न हुने व्यवस्था मिलाइने।

३. विश्व स्वास्थ्य संगठनको हेल्थ वर्कर सपोर्ट एन्ड सेफगार्ड लिस्ट-२००० मा नेपाल समावेश रहेको अवस्थालाई मध्यनजर गरी स्वास्थ्यकर्मीको संख्या र प्रकारका सम्बन्धमा दुबै सरकारले संयुक्त निर्णय गर्ने।

४. नेपालको स्वास्थ्य क्षेत्रको विकास र सुदृढीकरणमा बेलायत सरकारको योगदान रहँदै आएकोमा आगामी दिनमा समेत स्वास्थ्य क्षेत्रको निरन्तर सुदृढीकरण र आधुनिकीकरणमा सहयोग जारी हुने।

५. परीक्षणका रूपमा प्रथम चरणमा नेपाली नर्सलाई बेलायतमा पदस्थापना गर्ने कार्यलाई इम्प्लिमेन्टेसन प्रोटोकल स्पष्ट व्यवस्था गरिने।

६. नियुक्ति प्रक्रियाका लागि कुनै शुल्क नलाग्ने एवम् रोजगारीका लागि छनोट भएका स्वास्थ्यकर्मीको लागतको शोधभर्ना हुने।

७. परीक्षण चरणको अन्तमा समग्र स्वास्थ्यकर्मी नियुक्ति प्रक्रियाको मूल्यांकन गरिने र थप नियुक्ति तथा विस्तारका सम्बन्धमा आवश्यक निर्णय लिइने।

८. समझदारी पत्र, नियुक्ति प्रक्रिया र अन्य जानकारी मन्त्रालयको वेबसाइट मा उपलब्ध हुने तथा थप जानकारीका लागि uknursing@moless.gov.np मा इमेल गर्न सकिने।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button