अन्यसमाचार

प्लाष्टिकका माला उपयोग नगर्न फ्यानको आग्रह

Gobal IME Bank

काठमाडौँ । फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) का अनुसार नेपालमा एक सय ७८ हेक्टर जमिनमा व्यावसायिक फूललखेती हुने गरेको छ । हाल नेपालका ४४ जिल्लामा व्यावसायिक फुलखेती भइरहेको छ । यस वर्षको भाइटीकामा विभिन्नथरीका रु १४ करोड मूल्य बराबरको २४ लाख माला खपत हुने अनुमान छ । यस वर्षको भाइटीका कात्तिक १० गते परेको छ ।

यस वर्ष सरकारले तिहारमा फुल र माला आयातमा रोक लगाएको छ । जसले गर्दा पुष्प व्यवसायी, किसान तथा उपभोक्तालाइ राहत हुने भएको छ । माला एकपटक प्रयोग हुने वस्तु हो । “किसानले तिहारमा माला बिक्री गर्ने उद्देश्यले पुष्पखेती गरेका हुन्छन् । तर उपभोक्ताले प्लाष्टिकका माला प्रयोग गरेपछि आम किसान मर्कामा पर्ने भएकाले प्लाष्टिकका माला उपभोग नगर्न आग्रह गरेका हौँ”, फ्यानका महासचिव विश्वमणि पोखरेलले राससलाई बताउनुभयो ।

प्रायःतिहारमा सयपत्री, मखमली र गोदावरी फूलको खपत हुने गरेको छ । नेपालमा फूल तथा फूलजन्य सामग्री छिमेकी मुलुक भारतबाट आयात हुने गरको थियो । नेपाल फूलमा आत्मनिर्भर छैन । गत वर्ष नेपालले रु ११ करोडको फूल आयात गरेको थियो । गत वर्षको तिहारमा भारतबाट झन्डै तीन लाख वटा माला आयात भएको थियो । तर यस वर्ष समयमा नै वर्षा भएकाले फूलको उत्पादन बढेको हुँदा आयात आवश्यक नपर्ने फ्यानले बताएको छ ।

नेपालमा व्यावसायिक फूलखेती सुरुआत भएको २५ वर्ष पुगिसकेको छ । विसं २०११ बाट नेपाल प्राइभेट नर्सरीको स्थापनासँगै सामान्यस्तरमा सुरु भएको फूल व्यवसायबाट आर्थिक वर्ष २०७९/८० सम्म आइपुग्दा ४२ हजारभन्दा बढी व्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा लाभान्वित भएका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले नेपालमा पुष्प व्यवसायको भविष्य उज्ज्वल रहे पनि नीतिगत समस्याका कारण अपेक्षाअनुसार लगानी बढ्न नसकेको बताउनुहुन्छ । नेपालको भौगोलिक विविधताका कारण संसारमा पाइने जुनसुकै फूल तथा वनस्पति खेती गरेर निर्यातसमेत गर्न सकिने प्रचुर सम्भावना छ ।

“पुष्प क्षेत्रको लगानीबाट राम्रो प्रतिफूल लिन सकिन्छ । विश्वमा नेपाली फूल ‘हिमालयन फ्लावर’ का नाममा बिक्री हुनसक्छ । तर बृहत् लगानी हुन सकेका छैनन् । ठूला लगानी भित्र्याउन सरकारले नीतिगत सुधारमा ध्यान पुर्याउनुपर्छ ”, अध्यक्ष गोल्छाले भन्नुभयो ।

धार्मिक, सांस्कृतिक तथा सामाजिक क्षेत्रमा फूलको महत्व रहिआएको छ । फूलले नेपालको अर्थतन्त्रमा ठूलो टेवा पुर्याउने सम्भावना छ । सयपत्री फूलखेती गर्न उर्वर जमिनको आवश्यकता पर्दैन । भिरालो तथा खेतबारीका आली तथा कान्ला, आँगनका डिल, गमला एवं घरघरका कौशीमा फूलखेती गर्न सकिन्छ ।

नेदरल्याण्ड विश्मा धेरै फूल निर्यात गर्ने देशमा पर्छ । नेपालले फुल निर्यात गर्नसक्ने सम्भावना रहेको फ्लोरिकल्चर एशोसिएसन नेपालका पूर्वध्यक्ष कुमार कसजुले जानकारी दिनुभयो ।

फूल पवित्र वस्तु भएकाले नेपालमा जन्मदेखि मृत्युसम्म उपभोग हुँदै आएको छ । यसको आवश्यकता सबै जातजाति र धर्म, संस्कृतिमा बराबरी छ । कृषि विभागका उपमहानिर्देशक डा हरिबहादुर केसीले सरकारी लगानी खाद्यबालीमा केन्द्रित भएका कारण पुष्प क्षेत्रमा अपेक्षाअनुसार लगानी हुन नसकेको जानकारी दिनुभयो ।

वनस्पति विभागका महानिर्देशक डा राधा काफ्लेले नेपालमा वर्षैभरि फूलिरहने गोदावरी फूलको विकास गरेको भन्दै यसको प्रवद्र्धनका लागि विभागले फ्यानसँग सहकार्य गर्दै आएको जानकारी दिनुभयो ।

फ्यानका अध्यक्ष मीनबहादुर तामाङले सङ्घीयता लागू भएसँगै पुष्प क्षेत्र हेर्ने केन्द्रीय निकाय नै नभएको गुनासो गर्नुभयो । उहाँले पुष्प क्षेत्रको प्रवद्र्धनका लागि सरकारले पुष्प प्रवद्र्धन नीतिको पुनर्लेखन गरी लागू गर्नुपर्छ भन्नुभयो । पुष्प प्रवद्र्धन नीति अहिलेसम्म कार्यान्वयनमा आएको छैन । नीतिको समयसापेक्ष परिवर्तन आवश्यक छ । नेपालमा पुष्पखेतीका लागि हालसम्म ‘हाइब्रिड’ बीउ र ‘टिस्यू कल्चर’ बिरुवा उत्पादन प्रविधि नभएका कारण फूलको मागअनुसार उत्पादन हुन नसकेकाले बेलाबखतमा आयात गर्नुपरेको हो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button