समाचार

“लोकतन्त्र र समावेशी प्रजातन्त्र बचाउन गठबन्धन बनाइएको हो ।” : प्रधानमन्त्री देउवा

Gobal IME Bank

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी मङ्सिर ४ गते हुनलागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनले नेपाल कता जाने हो भन्ने कुराको फैसला गर्ने बताउनुभएको छ ।

वाम लोकतान्त्रिक गठबन्धन काठमाडौँ क्षेत्र नं १० ले आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै उहाँले ठूलो सङ्घर्षपछि प्राप्त भएको संविधानको रक्षा गर्नु आजको आवश्यकता भएको बताउनुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो, “यो राष्ट्रले धेरै ठूलो लडाइँपछि संविधान पाएको छ । पद्धति पाएको छ । संविधानले नै ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित गरेको छ । आदिवासी, जनजाति सबैलाई हक दिएको छ । यो समावेशी संविधान मात्रै नभई सबै समावेशी लोकतन्त्र पनि छ ।”

सबै वर्ग तथा क्षेत्र अटाउने संविधानलाई बचाउने लक्ष्यका साथ गठबन्धन बनेको उहाँको भनाइ छ । प्रधानमन्त्रीले भन्नुभयो, “हाम्रोमा स्थापित भएको समावेशी प्रजातन्त्र र राजनीतिलाई बचाई राख्नुछ । नेपाली जनताले निर्वाचनमार्फत सरकार बनाउन पाउने, बदल्न पाउने अधिकार पाएका छन् । यो महत्वपूर्ण छ । यसलाई स्थायी राख्न पनि हामी एक ठाउँमा उभिएका छौँ ।”

प्रधानमन्त्री देउवाले जथाभावी तरिकाले  (नेकपा एमालेका) अध्यक्ष केपी शर्मा ओलीले दुई दुई पटक संसद् भङ्ग गरेपछि आफूहरू मिलेर त्यसलाई बचाएको दृष्टान्त पेश गर्नुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो, “दुई पटक संसद् भङ्ग गर्न थालेपछि हामीले प्रजातन्त्र बचाएका हाँै । लोकतन्त्र र समावेशी प्रजातन्त्र बचाएका हौँ । यसलाई स्थायी बनाउन गठबन्धन बनेको छ ।”

गठबन्धनको एउटै शर्त स्थायी लोकतन्त्रलाई समृद्ध पार्नु रहेको उल्लेख गर्दै उहाँले जनताले पाएको अधिकार कमजोर गर्न नसकोस् र हटाउन नसकोस् भनेर गठबन्धन बनेको उल्लेख गर्नुभयो । उहाँले गठबन्धन आगामी १० देखि १५ वर्षसम्म जाने विश्वास व्यक्त गर्नुभयो ।

स्थायी शान्ति र लोकतन्त्रको सम्वद्र्धनका लागि गठबन्धन अपिरहार्य रहेको प्रधानमन्त्रीको भनाइ छ । उहाँले सडक विस्तारका क्रममा समस्यामा परेका स्थानीयबासीलाई मुआब्जा दिने विश्वास दिलाउनुभयो ।

“कसैको पनि सम्पत्ति बिना मुआब्जा भत्काउन पाइँदैन । भत्काउन त पाइन्छ, तर मुआब्जा दिएपछि मात्रै”, प्रधानमन्त्रीले भन्नुभयो, “अब मुआब्जा दिलाउने काम उहाँ (सो क्षेत्रका प्रतिनिधिसभा सदस्यका उम्मेदवार राजन केसी) को हो ।”

कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले लोकतान्त्रिक मूल्य र मान्यतालाई कायम राख्दै मुलुकको सर्वाङ्गीण विकासका लागि गठबन्धनको जीत जरुरी रहेको बताउनुभयो ।

विकास र समृद्धिको गति अगाडि बढाउनका लागि कांग्रेसको नेतृत्व आवश्यक रहेको भन्दै उहाँले शिक्षा, स्वास्थ्य र ऊर्जा क्षेत्रको विकासका लागि पनि आफूले ध्यान केन्द्रीत गरेको बताउनुभयो । उहाँले व्यापार घाटा कम गर्दै बेरोजगारीको अन्त्य र परनिर्भरताको अन्त्य गर्न लगानीको विस्तार जरुरी रहेकामा जोड दिनुभयो ।

सो क्षेत्रका प्रतिनिधिसभाका उम्मेदवार केसीले मुलुकको विकास र समृद्धिका लागि गठबन्धनको उम्मेदवारलाई विजयी गराउन आग्रह गर्नुभयो । उहाँले कृषि पर्यटन र ऊर्जा क्षेत्रको विकास गरी मुलुकलाई समृद्ध बनाउनुपर्ने बताउनुभयो । उहाँले आफू ठोस योजना र कार्यक्रमसहित जनताको बीचमा आएको उल्लेख गर्नुभयो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button