मुख्य समाचारसमाचार

तेस्रो पटक संसद्मा प्रखररुपमा प्रस्तुत हुँदै एमाले उपमहासचिव गुरुङ

Gobal IME Bank

लमजुङ । लामो समयदेखि नेकपा (एमाले)को राजनीतिमा सक्रिय उपमहासचिव पृथ्वीसुब्बा गुरुङ सातौँ प्रयासमा तेस्रो पटक संसद् प्रवेश गर्नुहुने भएको छ । लमजुङको प्रतिनिधिसभा सदस्य निर्वाचनको गए राति सम्पन्न मत परिणामअनुसार माओवादी केन्द्रका उम्मेदवार देवप्रसाद गुरुङलाई तीन हजार एक सय ८८ मतान्तरले पछि पार्दै गुरुङ विजयी हुनुभएको हो ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख नारायणप्रसाद सापकोटाका अनुसार विजयी गुरुङले ३४ हजार नौ सय ६९ मत प्राप्त गर्नुभएको छ भने पराजित माओवादी केन्द्रका गुरुङले ३१ हजार सात सय ८१ मत प्राप्त गर्नुभएको छ । कूल एक लाख ३३ हजार पाँच सय ५९ मतदाता रहेकामा ८० हजार एक सय ९२ मत खसेको थियो । विसं २०७४ मा एमाले र नेकपा (माओावदी केन्द्र)बीच तालमेल थियो । उक्त निर्वाचनमा पृथ्वीसुब्बा लमजुङ प्रदेशसभा (२) बाट उम्मेदवार तथा देवप्रसाद प्रतिनिधिसभा सदस्यका उम्मेदवार बन्दै विजयी हुनुभएको थियो । पृथ्वीसुब्बा गण्डकी प्रदेशको मुख्यमन्त्री बन्न सफल हुनुभयो भने, देवप्रसाद सांसद बन्नुभयो ।

विसं २०७४ को निर्वाचनमा एक अर्काको सहयोगी बनेर दुवैजना कांग्रेसविरुद्ध उभिनुभएको थियो । यस पटक भने, माओवादी केन्द्र कांग्रेसलगायत गठबन्धनसँग मिलेर एमालेविरुद्ध नै प्रतिस्पर्धामा उत्रिएको थियो । जिल्लामा यी दुई कम्युनिष्ट नेताबीच पहिलो पटक प्रतिस्पर्धा भएको हो । पृथ्वीसुब्बा २०६४ सालमा लमजुङ क्षेत्र नं २ बाट कांग्रेसका दिलबहादुर घर्तीलाई छ हजार बढी मतान्तरले हराउँदै विजयी हुनुभएको थियो ।

तत्कालीन गिलुङ गाविस–८, टक्सार हाल क्व्होलासोथर गाउँपालिका–९ गिलुङमा २०१४ सालमा गङ्गाप्रसाद र चिनी गुरुङको सन्तानका रुपमा पृथ्वीसुब्बा जन्मिनुभएको हो । उहाँको राजनीतिक यात्रा २०२७ सालमा इशानेश्वर प्रमोद हाईस्कुल, भोर्लेटारबाट सुरु भएको हो । उहाँ त्यो बेला अनेरास्ववियुका तर्फबाट स्ववियु सचिवमा निवार्चित हुनुभयो ।

विज्ञान विषयमा स्नातक तह उत्तिर्ण गर्नुभएका गुरुङ सुरुमा शिक्षण पेसामा आबद्ध हुनुभयो । विसं २०४० मा उहाँ नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको जिल्ला अध्यक्षमा निवार्चित हुनुभएको थियो । एमालेको दसैं महाधिवेशनबाट गुरुङ उपमहासचिवमा निर्वाचित हुनुभएको हो । त्यसअघि उहाँ पार्टीको सचिव हुनुहुन्थ्यो ।

गुरुङ २०४८, २०५१, २०५६ र २०७० सालमा सम्पन्न निर्वाचनमा पराजित हुनुभएको थियो । विसं २०६४ मा गुरुङ नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हुनुभयो । गुरुङ २०४३ सालमा पञ्चायती व्यवस्थामा तत्कालीन नेकपा मालेका तर्फबाट जनपक्षीय उम्मेदवारका रूपमा निर्वाचनमा होमिनुभएको थियो । उहाँ कारागारबाटै उम्मेदवार बन्नुभएको थियो । तर उहाँ पराजित हुनुभयो । गुरुङले आदिवासी जनजाति महासङ्घको नेतृत्वसमेत गरिसक्नुभएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button