मुख्य समाचारसमाचार

साततले दरबार पुर्ननिर्माण गर्न चिनियाँ प्राविधिक टोली आइपुग्यो – Good News 24

Gobal IME Bank

त्रिशूली । सात वर्षअघि गएको विनासकारी भूकम्पले क्षति पुराएको नुवाकोटको साततले दरबार सहित आसपासको धार्मिक एवम् पुरातात्विक सम्पदाको पुर्ननिर्माणको लागी चिनियाँ पक्ष कार्यक्षेत्रमा आइपुगेको छ ।
भूकम्पले पुराएको क्षतिको पुर्ननिर्माणको लागी चीन सरकारले जिम्मेवारी लिएको साततले दरबार सहित आसपासमका विभिन्न सातवटा संरचनाको पुर्ननिर्माण तथा मर्मतसम्भारको लागी चिनियाँ पक्षले विदुर नगरपालिका वडा नंं २ स्थित दरबार क्षेत्रमा आएर प्राविधिक अध्ययन सुरु गरेको हो ।

नुवाकोट दरबार हेरचाह तथा संरक्षण कार्यालयका प्रमुख अर्जुन फुँयालको अनुसार करीब बीस जनाको प्राविधिक (इञ्जिनियर) टोलीले साततले दरबारको जगतह, दरबारको गाह्रो र छानाको वस्तुस्थितीको अध्ययन अघि बढाएका छन् ।
विसं. २०७२ बैशाख १२ को भूकम्पले क्षति पुराएका संरचनाको पुर्ननिर्माणमा सहयोग पुराउने कार्यक्रम अन्तरगत नेपाल र चीन सरकारबीच नुवाकोटको साततले दरबार सहित आसपासमा रहेका थप सातवटा धार्मिक, पुरातात्विक एवम् ऐतिहासिक महत्वका संरचनाको पुर्ननिर्माण गर्ने समझदारी भएको ‘दरबार हेरचाह तथा संरक्षण कार्यालय’का प्रमुख अर्जुन फुँयालले जानकारी दिनुभयो ।

सोही अनुसार पुरातत्व विभाग र ‘चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेज’बीच ४५ महिना भित्रमा पुर्ननिर्माण सम्पन्न गर्ने सम्झौता २०७५ साल असार ७ गते भएको थियो ।
त्यसको एक वर्षपछि २०७६ साउनमा पहिलो पटक कार्यक्षेत्रमा आइपुगेको चिनियाँ पक्षले साततले दरबार र तुलजा (तलेजु) भवानीको मन्दिरलाई थप क्षति हुनबाट जोगाउन खट बनाएर नयाँ वर्षपछि अर्थात २०७६ सालको माघ–फागुनमा फर्कने भनेर गएका थिए । तर, “चिनियाँ कम्पनीका प्राविधिकहरु स्वदेश फर्के लगत्तै सुरु भएको कोरोनाको जोखिमले रोकिएको पुर्ननिर्माण अघि बढाउन प्राविधिक अध्ययनको टोली नुवाकोट दरबारमा बल्ल आइपुगेको हो ।

चिनियाँ प्राविधिक टोलीको ‘चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेज’ले साततल्ले दरबारसहित वरिपरिका पुरातात्विक महत्वका दरबार र मठमन्दिरको पहिलो चरणको सर्भेक्षण सोही समयमा गरेपनि अहिले पुनः अघि बढाएका छन् । यसअघि चिनियाँ प्राविधिकको आठजनाको टोलीले दरबारको सर्बेक्षण गरेको थियो भने अहिले कार्यक्षेत्रमा बीस जना प्राविधिक एकसाता देखि खटिएका छन् ।
पृथ्वीनारायण शाहले नुवाकोट माथी १८०१ मा बिजयी गरेपश्चात साततले दरबारको निर्माण गर्न लगाएको भन्ने इतिहास रहेको छ । साततले दरबार क्षेत्र परिसरमा अवस्थित तुलजा भवानी मन्दिर भने लिच्छविकालीन मन्दिर भएको ‘नुवाकोट दरबार मौला अमाल’का प्रतिनिधि (द्धारे) महेन्द्रकुमार शाहीले जानकारी दिनुभयो ।

उहाँको अनुसार सातवर्ष अघि गएको भूकम्पले नुवाकोट दरबारलाई क्षति पुराएपनि प्रवलीकरण गरेर सुरक्षित गर्नसक्ने प्राविधिक अध्ययनमा देखिएको चिनियाँ पक्षले जनाएको छ । त्यही स्थानमा रहेको रङ्गमहल पनि सग्लो नै भएकाले के गर्ने भन्ने अध्ययन भइरहेको छ । दरबार बाहेक चिनियाँ पक्षले निर्माणको जिम्मेवारी लिएको दरबार क्षेत्रमा अवस्थित तुलजा भवानीको मन्दिर, दरबार परिसरमा रहेको गारदघर, विष्णु र नारायणको मन्दिर, भैरवीदेवी मन्दिर परिसरमा रहेको लामपाटी र सेतोपाटी पूर्ण क्षति भएकाले नयाँ निर्माण गर्नुपर्ने देखिएको छ । अब हुने पुर्ननिर्माणमा पुरातात्विक संरचनालाई कायम गरेर बनाउनुपर्छ भन्ने सुनिश्चित हुनुपर्ने नुवाकोटका सरकारवालाहरुले मुख्य माग राख्दै आइरहेका छन् ।

साततले दरबार क्षेत्रमा अवस्थित नेपालको प्रसिद्ध भैरवीदेवी मन्दिर सहित बुढीदेवी, गणेश र सरस्वतीको मन्दिर पुरातत्व विभाग मार्फत पुरातात्विक मौलिकपन (जस्तो पहिला थियो त्यस्तै) कायम राखेर पुर्ननिर्माण सम्पन्न भइसकेको छ ।
यसैबीच, चिनियाँ पक्षले ४५ महिना भित्र दरबार सहितको सातवटा संरचनाको प्राविधिक अध्ययनको आधारमा प्रवलीकरण तथा पुर्ननिर्माण सम्पन्न गर्ने जनाएको थियो । तर, सम्झौता भएको समय सम्पन्न भइसकेपछि मात्रै चिनियाँ टोली काममा फर्किएको हो ।
नयाँ सम्झौता तथा म्याद के हुने निर्णय हुन बाँकी रहेको दरबार हेरचाह तथा संरक्षण कार्यालयका प्रमुख अर्जुन फुँयालले बताउनुभयो । उहाँको अनुसार चिनियाँ पक्षले पहिलो चरणमा हाल खट राखेर थप क्षति हुनबाट रोकेका दरबारको प्रवलीकरण गरेर त्यसपछि अन्य संरचनाको काम अघि बढाउने तयारी गरेको छ ।

नेपालमा गणतन्त्र स्थापना भएसगैँ साततले दरबारलाई नुवाकोट संग्राहलयमा परिणत गरेर सर्वसाधारणको लागी खुला गरिएको थियो । दरबार भित्र पृथ्वीनारायण शाहले प्रयोग गरेका लुगाफाटा, पलङ, ओछ्यान, युद्धका सामग्री, पृथ्वीनारायण शाह र उहाँका रानीहरुको प्रतीमा लगायतका ऐतिहासिक संरचना राखिएका छन् । खट र टेको लगाएर राखिएको दरबार भित्र नै ती सामाग्रिहरु सुरक्षित राखिएका छन् । एकीकरणको समयमा पृथ्वीनारायण शाहले नेपालको राजधानी नुवाकोट बनाएर यही दरबारबाट शासन सञ्चालन नै गर्नुभएको थियो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button