समाचार

उम्मेदवार सिफारिसः प्रतिनिधिसभामा सहज, प्रदेशसभामा कठिन – Good News 24

Gobal IME Bank

पाँचथर । आगामी मङ्सिर ४ गतेका लागि घोषित प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि उम्मेदवार सिफारिसमा दलहरूलाई सकस परिरहेका बेला यहाँ भने फरक दृश्य देखिएको छ । एकमात्रै प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको पाँचथरमा प्रतिनिधिसभा भन्दा प्रदेशसभाका उम्मेदवार छनोट गर्न दलहरूलाई कठिन परेको छ ।

गत स्थानीय निर्वाचनमा सबैभन्दा बढी मत पाएको नेकपा (एमाले)ले प्रतिनिधिसभाका लागि एकल नाम सिफारिस गर्यो । एमाले जिल्ला कमिटीको बैठकमा पूर्वमन्त्रीसमेत रहनुभएका प्रतिनिधिसभा सदस्य वसन्तकुमार नेम्वाङले मात्रै उम्मेदवार बन्ने आकाङ्क्षा राख्नुभएको सो पार्टीका सचिव विष्णुप्रसाद सापकोटाले जानकारी दिनुभयो । प्रतिनिधिसभाको समानुपातिकतर्फ पूर्वमन्त्रीसमेत रहनुभएका उक्त पार्टीका केन्द्रीय सदस्य डम्बरसिंह सम्बाहाम्फे, प्रदेश कमिटी सदस्यद्वय नरेन्द्रकुमार बस्नेत र आशारत्न जबेगूको नाम सर्वसम्मत सिफारिस भएको सापकोटाको भनाइ छ ।

प्रदेशसभा ९क०का लागि पार्टीका जिल्ला अध्यक्ष राजकुमार भण्डारीलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको सो दलले प्रदेशसभा ९ख० मा भने जिल्लामा सहमति जुटाउन सकेन । तीन दिनसम्म प्रयास गर्दासमेत जिल्लामा सहमति नजुटेपछि तीन जना आकाङ्क्षीको नाम प्रदेश कमिटीमा पठाइएको सापकोटाले जानकारी दिनुभयो । एमालेले सो क्षेत्रको उम्मेदवारका लागि केन्द्रीय सदस्य अइन्द्रसुन्दर नेम्वाङ, प्रदेश कमिटी सदस्य कृष्णकुमार आङदेम्बे र जिल्ला कमिटी उपाध्यक्ष धनकुमार फियाकको नाम सिफारिस गरेको हो ।

प्रदेशमा समानुपातिकतर्फ उम्मेदवार बन्ने आकाङ्क्षी नेताहरूको पनि एमालेमा ठूलो सङ्ख्या रहेको सापकोटाले बताउनुभयो । “केन्द्रीय सदस्य श्रीप्रसाद जबेगूसहित आठ–दश जना नेताहरूले प्रदेश समानुपातिकको उम्मेदवार बन्ने चाहना राख्नुभएको छ”, उहाँले भन्नुभयो ।

नेपाली कांग्रेसले सामान्य असन्तुष्टिका बाबजुद प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा सहमहामन्त्री भीष्मराज आङदेम्बेको एकल नाम सिफारिस ग¥यो । जिल्ला कार्यसमितिका उपसभापति डिकेन्द्रकुमार चेम्जोङ र फिदिम नगर कार्यसमितिका सभापति प्रकाश गुरुङले पनि प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने आकाङ्क्षा राखेको भए पनि कार्यसमितिले आङदेम्बेको एकल नाम सिफारिस गरेको छ ।

“उपसभापति चेम्जोङले आङदेम्बेको एकल नाम सिफारिस गर्न सहमति जनाउनु भएपछि कार्यसमितिले सर्वसम्मतरूपमा सिफारिस गरेको छ”, नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सचिव दीपक नेपालले भन्नुभयो । प्रतिनिधिसभाको समानुपातिकतर्फ नेता सुरेन्द्रकुमार दाहालसहित आठ जनाको नाम सिफारिस गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रदेशसभाका दुवै क्षेत्रमा कांग्रेसले सहमति जुटाउन सकेको छैन । यसकारण प्रदेश निर्वाचन क्षेत्र कार्यसमितिबाट सिफारिस भइआएका नामहरूलाई प्रदेश कार्यसमितिमा सिफारिस गरी पठाइएको सचिव नेपालले जानकारी दिनुभयो ।

विशेषतः प्रदेशसभा (क)को उम्मेदवार टुङ्ग्याउन कांग्रेसमा सकस देखिएको छ । जिल्ला कार्यसमितिका सभापति रुपनारायण जबेगू र निवर्तमान सभापति नरेन्द्रकुमार केरुङ टिकटको दौडमा हुनुहुन्छ । क्षेत्रीय कार्यसमितिका सभापति भगीश्वर योङहाङ र कार्यसमितिका सदस्य लवदेब ढुङ्गाना गरी चार जनाको नाम प्रदेश कार्यसमितिमा सिफारिस भएको छ ।

प्रदेशसभा (ख)तर्फ भने आकाङ्क्षी नेताहरूको सङ्ख्या झनै ठूलो छ । गठबन्धन बनेको अवस्थामा यो क्षेत्र कांग्रेसले पाउने सम्भावना निकै कम भए पनि नेताहरू गंगाबहादुर आङदेम्बे, गोपालप्रसाद पोखरेल, चन्द्रकुमार आङदेम्बे, जीतबहादुर भण्डारी (जीतेन्द्र), धर्मेन्द्रबिक्रम नेम्वाङ, मुनेन्द्रविक्रम नेम्वाङ, सन्तोषप्रकाश रिजाल र होमनाथ थापा यस क्षेत्रमा प्रत्यक्षतर्फको उम्मेदवारको आकाङ्क्षी रहनुभएको छ । कांग्रेसमा प्रतिनिधिसभाको समानुपातिकतर्फ आठ जना, प्रदेशसभा समानुपातिकतर्फ क्षेत्र नं (क) बाट १९ जना र क्षेत्र (ख) बाट १७ जना नेताहरू उम्मेदवार बन्न आकाङ्क्षी देखिनुभएको छ ।

गठबन्धनमा एक प्रदेशसभा सदस्यको उम्मेदवार पाउने आकलन गरिएको नेकपा ९माओवादी केन्द्र०बाट समेत प्रतिनिधिसभाको उम्मेदवारमा एकल तथा प्रदेशसभाको उम्मेदवारमा एकभन्दा बढी नाम सिफारिस भएका छन् । माओवादी केन्द्र प्रदेश कमिटीका सदस्य दिनेशकुमार लावतीका अनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १ नं प्रदेश कमिटीका अध्यक्ष हर्कबहादुर नेम्वाङ र समानुपातिकतर्फ नरबहादुर दुलालको एकल नाम सिफारिस भएको छ ।

प्रदेशसभातर्फ भने एकभन्दा बढी नाम सिफारिस भएका छन् । प्रदेशसभा क क्षेत्रतर्फ १ नम्बर प्रदेश कमिटीका अध्यक्ष नेम्वाङ, केन्द्रीय सदस्य सीता थेबे र प्रदेश कमिटी सदस्य लालबहादुर गुरुङको नाम सिफारिस भएको छ । यस्तै प्रदेशसभा ९ख०तर्फ केन्द्रीय सदस्य एवं प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो र प्रदेश कमिटी सदस्य शङ्खध्वज नेम्वाङको नाम सिफारिस गरिएको लावतीले जानकारी दिनुभयो । प्रदेशसभाको समानुपातिकतर्फ जुनुकुमारी लावती, होमबहादुर जबेगू, विशाल रसाइली, पेम्बा शेर्पा र मेदनीप्रसाद खत्रीको नाम सिफारिस भएको उहाँले वताउनुभयो ।

मुख्य दलहरूमा प्रदेशसभातर्फ बढी र प्रतिनिधिसभातर्फ कम आकाङ्क्षी देखिएका हुन् । प्रदेशसभा सदस्यको प्रत्यक्ष वा समानुपातिकतर्फको उम्मेदवार बन्न सक्ने सम्भावना बढी हुने, टिकट सिफारिस गर्ने नेताहरूसँग पहुँच पुग्ने तथा निर्वाचित हुने आधार बढी हुने भएपछि प्रदेशसभातर्फ नेताहरूको आकर्षण देखिएको हो ।

पाँचथरमा सत्तारुढ गठबन्धनको नेकपा (एकीकृत समाजवादी) ले गठबन्धनबाट प्रदेशसभा (क) मा स्थान प्राप्त गर्नसक्ने सम्भावना भएपछि सो दलले जिल्ला कमिटीका अध्यक्ष कमलप्रसाद जबेगूलाई उम्मेदवार बनाउन सिफारिस गरेको छ । प्रदेशसभा (ख)बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका सहमहामन्त्री एवं प्रवक्ता सगुनसुन्दर लावती उम्मेदवार बन्ने चर्चा चले पनि यसबारे सो दलले औपचारिक घोषणा गरेको छैन ।

एक प्रतिनिधिसभा सदस्य र दुई प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र रहेको पाँचथरमा आठ स्थानीय तह र ६० वडा रहेका छन् । विसं २०७४ मा सम्पन्न निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभाका तीनवटै स्थानमा तत्कालीन वाम गठबन्धनका उम्मेदवार विजयी भएका थिए भने सोही गठबन्धनबाट दुई समानुपातिकतर्फ प्रदेशसभा सदस्य निर्वाचित भएका थिए ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button