समाचार

मतदाता नामावली सङ्कलनमा उत्साहजनक सहभागिता -Good News 24

Gobal IME Bank

चितवन, ८ असार । स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै निर्वाचन आयोगले सञ्चालन गरेको मतदाता नामावली सङ्कलन कार्यमा उत्साहजनक सहभागिता देखिएको छ ।
जिल्ला निर्वाचन कार्यालय चितवनले असार १ गतेदेखि सुरु गरेको नामावली सङ्कलन कार्यमा नयाँ नाम दर्ता गर्न आउनेको सङ्ख्या उल्लेख्य रहेको पाइएको छ । एक सातामा जिल्लाका एक हजार ८०५ ले मतदाता नामावलीमा नाम दर्ता गराएको कार्यालयका प्रमुख भीमशेन कार्कीले जानकारी दिनुभयो । यो सङ्ख्या स्थानीय तहको निर्वाचनअघि २०० हाराहारी रहेको थियो । उहाँले भन्नुभयो, “अहिले ३०० देखि ४०० को दैनिक नाम दर्ता भइरहेका छन् ।” उहाँका अनुसार जिल्लामा अहिले तीन स्थानका पाँच केन्द्रबाट नामावली सङ्कलन भइरहेको छ । जिल्ला निर्वाचन कार्यालय चितवनमा तीनवटा केन्द्र, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालय माडीमा नामावली दर्ता भइरहेको छ । निर्वाचन कार्यालयमा एउटा बाहिरी जिल्लाको नाम दर्ता गरिएको छ भने अन्य केन्द्रबाट जिल्लाको नामावली दर्ता भएको उहाँले जानकारी दिनुभयो ।
जिल्ला निर्वाचन कार्यालयबाट बाह्य जिल्लाका २०८ को नाम दर्ता गरिएको उहाँले बताउनुभयो । यस्तै सोही कार्यालयका दुई केन्द्रबाट एक हजार १६०, जिल्ला प्रशासन कार्यालयबाट ४७२ र इलाका प्रशासन कार्यालय माडीबाट १७३ ले नामावली दर्ता गराएका छन् ।
स्थानीय निकायको निर्वाचनका क्रममा उमेर पुगेरसमेत मतदान गर्न नपाएका बढी सङ्ख्यामा नामावली दर्ता गर्न आएको उहाँले बताउनुभयो । नामावली दर्ताका लागि नागरिकताको सक्कल प्रमाणपत्र, बसाइँसराइ भए बसाइँसराइको कागजपत्र र विवाह भएर आएको भए विवाह दर्ता आवश्यक पर्ने उहाँले जानकारी दिनुभयो । स्थानीय तहको निर्वाचन २०७९ मा जिल्लामा तीन लाख ९७ हजार ६८५ मतदाता रहेका थिए ।
–––

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button