समाचार

भुम्लुमा रेबिजको त्रास: २८९ जनालाई लगाईयो खोप – Good News 24

Gobal IME Bank

काभ्रेपलाञ्चोक । भुम्लु गाउँपालिकाको सात गाउँका स्थानीय हाल प्राणघातक रोग रेबिजको डरले त्रसित अवस्था बस्न बाध्य छन् । भुम्ल –१ स्थित सापिङ, कात्तिके, आरनगाउँ, भारतीगाउँ, गैराटोल, बोक्से र खोलमबारीमा रेबिजविरुद्ध दुई सय ८९ जनालाई खोप लगाइएको छ ।

बितेको एक महिनाका अवधिमा चार दर्जनभन्दा बढी पशुचौपाया मरेपछि भुम्लुको सात गाउँका स्थानीय त्रसित भएका हुन् । मरेका पशुचौपायाको परीक्षण गर्दा रेबिज रोग पुष्टि भएपछि स्थानीय दुई सय ८९ लाई रेबिजविरुद्धको खोप लगाइएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । मरेको पशुचौपायाको मासु खाएका १९ परिवारका ५१ सहित दुई सय ८९ लाई स्थानीय अस्पतालको सहयोगमा रेविजविरुद्धको खोप लगाइएको कार्यालयका प्रमुख डा पुरुषोत्तम सेढाईँले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्लास्थित स्वास्थ्य कार्यालय, भुम्लु गाउँपालिकाको स्वास्थ्य शाखा तथा पशु स्वास्थ्य शाखाद्वारा परीक्षणसँगै रोकथामको प्रयास भइरहेको छ । “मरेको भैँसीको मासु खाएका थप स्थानीय नखुल्दा रोकथाममा समस्या निम्तिन सक्छ, रेबिजको पहिचान, परीक्षण र रोकथाम सुरुआत गरिएको छ”, उहाँले भन्नुभयो । गत बिहीबार भुम्लुबेँसीमा मरेको राँगोमा रेबिज रोग पुष्टि भएपछि स्थानीय थप त्रसित बनेका हुन् ।

स्थानीयका अनुसार हाल गाउँपालिकाको वडा नं १ सहित ७ र ८ मा पनि रेबिज सङ्क्रमणको जोखिम बढेको छ । गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख सुदर्शन भट्टराईका अनुसार भैँसी, गाई, कुकुर, बाख्रा मरेका छन् । रेबिज सङ्क्रमित कुकुरले पशुचौपाया तथा कुकुरलाई टोकेका कारण मृत्यु भएको हो ।

भारतीगाउँ र आरनगाउँका स्थानीयले केही कुकुरलाई नियन्त्रणमा लिई मारेका छन् । स्थानीय दावा लामाका अनुसार पछिल्ला दिनमा पशुचौपाया मरिरहेकाले गाउँमा रेबिजको त्रास फैलिएको छ । जिल्लास्थित भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले बाख्रा पनि मरेकाले थप परीक्षण भइरहेको जनाएको छ । केन्द्र प्रमुख पशु चिकित्सक राजकुमार हुमागाईँले रेबिज रोकथामका उपाय अपनाइएको बताउनुभयो । उहाँका अनुसार पशुचौपायाको अवस्था तथा सङ्क्रमणबारे पनि अनुगमनको काम भइरहेको तथा पशुलाई पनि खोप दिने काम भइरहेको छ ।

शतप्रतिशत प्राणघातक मानिएको उक्त रोगबाट छिमेकी गाउँपालिका चौँरीदेउराली–६ मा गत वर्ष एक महिनाको अवधिमा एक आठ वर्षीय बालक र दुई पुरुषको मृत्यु भएको थियो । त्यसयता काभ्रेपलाञ्चोकमा रेबिजका कारण मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ ।

भुम्लुमा हालसम्म मानिसमा कुनै लक्षण नखेखिएको तर खोपसहित निगरानीमा भने राखिएको जनाइएको छ । हाल केही स्थानीयको भैँसीले ¥याल काढिरहेकाले पशुमा पनि रेबिजविरुद्धको खोप लगाइएको हो । “त्यस क्षेत्रमा कुकुरबाट बच्न र अब उप्रान्त मरेको कुनै पनि पशु–चौपाया नखान आग्रह गरेका छौँ”, हुमागाईँले भन्नुभयो । उहाँका अनुसार घटनाक्रमले जिल्लामा रेबिज रोगको सङ्क्रमण केही वर्ष नै रहिरहने देखिएको बताउनुभयो ।

रेबिज लागेको कुकुर तथा अन्य जनावारले मानिसलाई टोकेमा मृत्यु निश्चित हुन्छ । एक वर्षअघि चौँरीदेउरालीमा रेबिजबाट मानिसको मृत्यु भएपछि केन्द्रले सामुदायिक तथा छाडा कुकुरसँग सावधानी अपनाउन आग्रह गर्दै आएको छ । हाल भुम्लुमा आमा समूह, स्वास्थ्यचौकी, विद्यालय, सर्वसाधारण तथा विभिन्न सङ्घसंस्थाले रेबिजविरुद्धको सचेतनाका अभियान सुरु गरेका छन् ।

चिकित्सकका अनुसार राम्रोसँग पकाएर खाएको मासु, उमालेर खाएको दूधबाट रेबिज सर्दैन । काँचो दूध, मासु खाँदा रेबिज रोग सर्छ । ९९ प्रतिशत सङ्क्रमण कुकुरबाट सर्ने गर्दछ । कुकुरलाई रेबिजविरुद्धको खोप लगाउँदा रेबिज फैलन पाउँदैन । रेबिज लागेको कुकुरले मान्छे, पशुपक्षीलाई टोकेको अवस्थामा रेबिज सर्न सक्छ ।

सम्भावित जोखिम न्यूनीकरण गर्न केन्द्रमा पर्याप्त भ्याक्सिन राखिएको छ । चिकित्सकका अनुसार सुरुमा घरपालुवा वा अन्य जनावरको ¥यालमा रहेका रेबिज भाइरस टोकाइबाट शरीरमा प्रवेश गर्दछ । भाइरस रगतबाट नभई छालामुनिको भित्री तन्तु र मांसपेशी हुँदै परिधीय स्नायु, मेरुदण्ड र अन्त्यमा गिदीसम्म पुग्ने र गिदी सङ्क्रमित भएपछि मात्रै लक्षण देखिन थाल्ने गर्दछ ।

प्राणघातक रेबिज रोग नियन्त्रणका लागि अन्तर्राष्ट्रियरुपमा जनचेतना जगाउन तथा सरोकारवालहरुबीच एक्येबद्धता प्रकट गर्न प्रत्येक अङ्ग्रेजी वर्षको सेप्टेम्बर २८ को दिनलाई ‘अन्तर्राष्ट्रिय रेबिज दिवस’को रूपमा मनाउने गरिएको छ ।

नेपालमा बर्सेनि दुई सय बिरामीको रेबिजका कारण मृत्यु हुने गरेको स्वास्थ्य तथ्याङ्कले देखाएको छ । विश्वका एक सय ५० देशमा हरेक वर्ष रेबिज रोगबाट ५९ हजार मानिसले ज्यान गुमाउने गरेको तथ्याङ्क पनि छ । आगामी सन् २०३० सम्ममा विश्वमै रेबिज रोग उन्मूलन गर्ने लक्ष्यसमेत लिइएको छ । रासस

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button