मुख्य समाचारशिक्षा स्वास्थसमाचार

किन हुन्छ दम ? कसरी जोगिने ?

Gobal IME Bank

एजेन्सी । आस्थमा श्वास प्रश्वाससित सम्बन्धित एउटा रोग हो । वातावरणीय प्रदुषण, धुवाँ धुलो, चिसो तथा फूल फूल्ने मौसममा फूलको परागको कणबाट हुने एलर्जीका कारण जुनसुकै उमेर समूहका मानिसलाई आस्थमा हुन सक्दछ । यदि कसैलाई एलर्जी छ र त्यो लामो समयसम्म रहृयो भने मानिसलाई आस्थमा हुने गर्दछ ।

आस्थमामा श्वास प्रश्वासका कोषिकाहरुले एक प्रकारको इन्जाइम उत्पादन गर्छन्, जसले फोक्सोको मांसपेशीहरुलाई खुम्च्याई श्वास प्रश्वास नलीमा व्यवधान उत्पन्न गराउँछ र मानिसलाई श्वास फेर्नमा अप्ठेरो महसुस भई खोकी लाग्ने, स्वाँ स्वाँ हुने, छाती कस्सिने लगायतका लक्षण हुने देखा पर्छन् । चुरोट खाने र धुलो धुवाँमा बस्ने कारणले हुने दमखोकीलाई सी.ओ.पी.डी. भनिन्छ ।

दम किन हुन्छ ?

दम (आस्थमा) रोग बिभिन्न कारणले लाग्ने गर्दछ । ती मध्ये केही प्रमुख कारणहरुः

१)वंशाणुगत आस्थमाः
विशेषगरी ३० र ३५ वर्ष उमेर समूहका मानिसमा प्रायः देखिने यस्ता आस्थमा वंशजका कारणले गर्दा हुने गर्छ । आन्तरिक कारणले नै हुने भएको यस प्रकारको आस्थमालाई इन्ट्रिन्सिभ आस्थमा पनि भन्ने गरिन्छ । वंशाणुगत कारणले हुने भएकाले यस्ता आस्थमा पूर्ण निको पार्न कठिन हुने गर्छ । यो रोग ढल्कदो उमेर सँगै बढेर जान्छ ।

२)वातावरणीय प्रदुषणः
धेरै मानिसहरुलाई वायु प्रदुषणका कारणले एलर्जी र पछि आस्थमा हुने गर्छ । जसलाई एक्सट्रिन्सिभ आस्थमा पनि भन्ने गरिन्छ । यस्तो आस्थमा केटा, केटी र बयस्कहरूमा हुने गर्दछ । धुलो, धुवाँ, प्रदुषणका कारण उत्पन्न हुने एलर्जीको समयमै उपचार नगरेको खण्डमा त्यसले स्वाँ स्वाँ सहितको दम, खोकी निम्त्याउने गर्दछ र आस्थमा हुने गर्दछ ।

३)मौसमी परिवर्तनः
कयौँ मानिसहरुमा मौसमी परिवर्तनका कारण पनि आस्थमा हुने गर्दछ । यस्ता एलर्जी विशेषगरी फागुन, चैत तथा असोज, कात्तिक महिनामा अर्थात् फूल फूल्ने मौसममा बढी देखा पर्ने गर्दछ । विशेषगरी फूल फूल्ने मौसममा फूलको परागको कणका कारण मानिसलाई एलर्जी हुने गर्दछ । जसले दम बढाउँछ ।

४) पेशागतः
मिल, मैदा उद्योग, कपडा उद्योग, सिमेन्ट उद्योग, बाटोमा काम गर्ने व्यक्तिहरुमा पनि आस्थमाको जस्तै समस्या देखिने गर्दछ । जसलाई चिकित्सकिय भाषामा ‘पेशागत दम खोकी’ भन्ने गरिन्छ । काम गर्ने क्रममा धुलो धुँवा उड्ने र श्वास फेर्नेबेला नाक मुखबाट फोक्सोसम्म धुलो गएर दम हुन्छ ।

५) मुटु रोगले हुने आस्थमा
मुटु रोगीलाई सोही कारणले दम खोकी भएमा पनि आस्थमाका जस्तै लक्षण देखिने गर्छ । यस अर्थमा सबै दम खोकी आस्थमा नहुन पनि सक्छन् । चुरोट खानेलाई पनि दम, खोकी हुन्छ । आई.एल.डी. मा पनि दम खोकी हुन्छ । त्यस्तै, क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिज (सी.ओ.पी।डी.), टि.बी. अर्थात क्षयरोग, निमोनिया भएका बिरामीहरुमा पनि दम तथा खोकीको समस्या देखा पर्ने गर्छ । तर ती सबै आस्थमा होइनन् ।

त्यसैले, आस्थमा वंशाणुगत समस्या परिवारका कुनै व्यक्तिलाई त्यो समस्या भएको खण्डमा अरु पुस्तालाई पनि हुने सक्छ । त्यस्तै, मौसमी एलर्जी वा लामो समयसम्म कुनै प्रकारको एलर्जी भएर खोकी लागेको वा स्वाँ स्वाँ भएको छ भने पनि दमको समस्या आउन सक्छ ।

दम लागेको कसरी थाहा पाउने ?

सामान्यतया वायु प्रदुषण तथा एलर्जीका कारण हुने आस्थमा उपचारबाट निको पार्न सकिन्छ । तर खोकी लाग्दालाग्दै पनि त्यसको उपचार नगरी बस्दा, स्वाँ स्वाँ हुने, छाती कराउने अवस्थाको सिर्जना भएमा क्रोनिक आस्थमा हुने जोखिम बढ्छ।

बच्चाहरुमा भाइरल संक्रमणका कारण ब्रोनकाइटिस भएमा पनि आस्थमा जस्तै लक्षण देखिने गर्छ।

हाछ्यूँ आउने, घाँटी खसखसाउने, नाक, कान, घाँटी चिलाउने, नाक बन्द हुने, पानी जस्तो पातलो सिगान बग्ने, खोकी लाग्ने, स्वाँ स्वाँ हुने, सास फेर्न कठिनाई हुने, छाती कसिने यसका प्रमुख लक्षण हुन् ।

उपचार विधि

यदि कसैलाई वायु प्रदुषण, मौसमी परिवर्तन लगायतका बाह्य कारणले आस्थमा भएको देखिएमा सो मौसममा नियमित औषधि सेवन तथा निरन्तरको उपचारबाट यो रोग पूर्णरुपमा निको पार्न सकिन्छ । तर यदि उक्त व्यक्तिलाई वशांणुगत कारणले आस्थमा भएको छ भने त्यो पूर्णरुपमा निको नहुन पनि सक्छ ।

कसरी जोगिने ?

दम रोग श्वासप्रस्वाससँग सम्बन्धित समस्या भएकाले सावधानीका उपाय अपनाउन आवश्यक हुन्छ ।

दम भएका मानिसहरु धुवाँ, धुलो लगायतका वातावरणीय प्रदुषणबाट जोगिनु पर्दछ । त्यसका लागि गुणस्तरीय मास्कको प्रयोग गर्नुपर्दछ । भुत्ला वा रौं भएका पशुपंक्षीबाट टाढा बस्नुपर्छ ।

यसका साथै चिसोबाट जोगिनुपर्दछ । जाडो समयमा दम रोगले झन् च्याप्छ । त्यसैले घर वा कोठालाई न्यानो पार्ने, न्यानो लुगा लगाउने गर्नुपर्छ । सकेसम्म चिसोबाट बच्नुपर्छ । फ्रिजमा राखिएका चिसो खानेकुरा पनि खानु हुँदैन ।

हाछ्युँ आउने, नाक, घाँटी खसखसाउने समस्या छ भने तपाईंलाई एलर्जी हुनसक्छ । त्यसैले एलर्जी हुने कार्य वा चिजबाट टाढै रहनु लाभदायक हुन्छ । यस्ता एलर्जी भइहाल्यो भने तुरुन्त उपचार गर्नुपर्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button