समाचार

रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाका किशोरीहरुको यस्तो नमूनायोग्य काम – Good News 24

Gobal IME Bank

रुकुमपूर्व । हाम्रो समाजमा बालबालिकाको कुरालाई सजिलै सबैले पत्याउँदैनन् । बालबालिकाले राम्रै कुरा गरेपनि उनीहरुका कुरालाई सामान्य रुपमा हेर्ने चलन यो समाजमा रहेकामा रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाका बालबालिकाले नमूनायोग्य काम गर्दै आएका छन् ।

बालविवाह व्याप्त रहेको उक्त गाउँपालिकामा पालिकास्तरीय बाल क्लब सञ्जाल, किशोरी र आमा समूह सञ्जाल तथा वडास्तरीय बाल क्लब, किशोरी समूह, आमा समूहले बाल विवाह न्यूनीकरणका लागि विभिन्न अभियान चलाउदै आएका छन् । बाल विवाह न्यूनीकरणका लागि थालिएको अभियानले समाजमा प्रभाव पनि पार्न थालेको छ ।

उक्त गाउँपालिकाको वडा नम्बर १० की १६ वर्षीया शिरिमाया पुन अहिले कक्षा १० मा पढ्नुहुन्छ । यो उमेरमै बाल विवाह न्यूनीकरण अभियानमा सक्रिय भएर लाग्नुभएको उहाँ वडास्तरीय गेमी मेलमिलाप किशोरी समूहको अध्यक्ष भएर वाल विवाह न्यूनीकरण अभियानको नेतृत्व गर्नुभएको छ । वडामा हुने बाल विवाह, बालबालिकामाथि हुने हिंसा र सबै प्रकारका घरेलु हिंसाको विरुद्धमा उहाँले आवाज उठाउँदै आउनुभएको छ । सोही आवाजले अहिले उक्त वडामा २० वर्ष नपुुगी विवाह गराउन अभिभावक पछि हट्न थालेका छन् भने उमेर नपुगी विवाह गर्दा प्रहरीकहाँ पुगिन्छ की भनेर स्वयं केटाकेटी पनि सचेत भएका पाइन्छ ।

पुथा १० कै संस्कृति पुन पनि वडास्तरीय बाल क्लबको अध्यक्ष हुनुहुन्छ । उहाँको भूमिका पनि वाल विवाह न्यूनिकरणको अभियानमा शिरीमायाको भन्दा फरक छैन । गाउँमा कतै बाल विवाह हुन लागेको खबर पाउने बित्तिकै विवाह रोक्नका लागि विवाह भइरहेको घरमा पुग्ने, अभिभावकलाई सम्झाउने र नमानेमा स्थानीय सररकार र प्रहरीलाई खबर गर्न दौडधूप गर्नुहुन्छ अध्यक्ष पुन । सबैसँगको समन्वय र सहयोगमा बाल विवाह रोक्न पनि सफल भएको उहाँ बताउहुनुन्छ ।

गाउँपालिकास्तरमा भएका बाल क्लब सञ्जाल, किशोरी सञ्जाल, आमा समूह सञ्जाल र वडास्तरमा भएका बाल क्लब, किशोरी समूह, आमा समूहले गाउँपालिकाको विभिन्न क्षेत्रमा हुने बाल विवाह, बालबालिकामाथि हुने हिंसा र घरेलु हिंसाको विरुद्धमा काम गरिररहेका छन् । उनीहरुले मासिक बैठक बसेर कार्ययोजना निर्माण गर्ने, लेबी उठाएर आवश्यक सानातीना समस्या टार्नेदेखि लिएर बाल विवाह न्यूनिकरण सम्बन्धी सचेतनामुलक सडक नाटक प्रदर्शन गर्ने कार्यक्रम गरिरहेका छन् ।

बाल विवाहको विरुद्धमा काम गर्न बाल बहस किताबले आफूहरुलाई झन सजिलो बनाएको किशोरीहरुले बताएका छन् । आफूहरुको यस अभियानले पछिल्लो समयमा समाजमा खुलेआम वाल विवाह गर्ने तथा गराउनेहरु सचेत भएको देख्दा खुशी लाग्ने गरेको वडा नं १० की वडास्तरीय बाल क्लबको पूर्वअध्यक्ष सुरपी पुन बताउनुहुन्छ । अहिले क्बल, सञ्जाल तथा समूहमा आवद्ध भइसकेपछि सबै बालबालिकाले खुलेर आफ्ना कुराहरु प्रस्तुत गर्ने, समस्याहरु उत्थान गर्नेदेखि लिएर बालबालिकामा हुने हिंसा तथा दुव्र्यवहारको विरुद्धमा पहल गर्ने र समाज तथा सरोकारवाला निकायको ध्यानाकर्षण गराउनेतर्फ अब्बल हुदै आएको उहाँ जनकारी गराउनुहुन्छ ।

बालबालिकामाथि हुने हिंसा विरुद्धको अभियान चलाउदै आएपनि यसमा थुप्रै चुनौतीहरु रहेको समूह तथा क्बल, सञ्जालमा आबद्ध किशोर किशोरीहरुले बताउँछन् । समाजमा गुपचुपरुपमा बाल विवाह गर्ने गराउने, बाल विवाह रोकेको खण्डमा समाजले तगारोको रुपमा हेर्ने, बाल विवाह रोके पनि पछि फेरी भागेर विवाह गर्नेलगायत समस्याको सामना आफूहरुले गर्नुपरेको किशोरीहरुले सुनाएका छन् । यसमा आफूहरुलाई स्थानीय सरकार, प्रहरी, प्रशासन र समाजका अगुवाको साथ र सहयोगको आवश्यक रहेको उनीहरुको भनाइ छ । अहिले बाल विवाह र बालबालिकामाथि हुने हिंसाको विरुद्धमा किशोर किशोरीले चलाएको अभियानमा स्थानीय सरकार र प्रहरीले साथ दिइरहेको उनहरुले बताएका छन् ।

किशोर किशोरीको अभियानमा स्थानीय सरकार र प्रहरी पनि साथ हुँदा समाजमा हुने बाल विवाह तथा बालबालिकामाथि हुने हिंसा पहिलेको तुलनामा अहिले कम हुँदै गएको गाउँपालिकाका अध्यक्ष पुनीराज घर्ती बताउनुहुन्छ । बाल विवाह व्याप्त रहेको यस गाउँपालिकामा पछिल्लो एक दुई वर्षयता किशोर किशोरीहरु आफै सक्रिय हुँदा सकारात्मक परिवर्तन हुँदै गएको उहाँको भनाइ छ । गाउँपालिकाको विभिन्न क्षेत्रमा बाल विवाह र बालबालिकामाथि हुने जुनसुकै खालको हिंसा र दुव्र्यवहारको किशोर किशोरीले प्रतिकार गर्ने गरेको र त्यसमा समस्या आए गाउँपालिकाको न्यायिक समिति र प्रहरीकहाँ पुग्ने गरेको अध्यक्ष घर्ती बताउनुहुन्छ । यस अभियानमा गाउँपालिका सधै किशोर किशोरीको साथमा रहेको पनि उहाँ उल्लेख गर्नुहुन्छ ।

गाउँपालिकाको सात वटा वडामा युनाइटेड मिसन टु नेपाल रुकुम (पूर्व) कलष्टरले सक्षम परियोजनामार्फत बालबालिकाको क्षेत्रमा काम गर्दै आएकोे छ । यसै परियोजनामार्फत स्थानीय सरकारसँगको समन्वयमा पालिकास्तरीय र वडास्तरीय बाल क्लब, किशोरी समूह तथा आमा समूह सञ्जाल निर्माण गरिएको छ भने वडास्तरमा बाल क्लब, किशोरी समूह र आमा समूह निर्माण गरिएको छ । यीनै सञ्जाल, समूह र क्लबलाई सक्रिय गराउदै बालबालिकाको क्षेत्रमा काम गरिरहेको र त्यसबाट सकारात्मक परिवर्तनहरु पनि हुँदै गएको सक्षम परियोजनाका व्यवस्थापक हेमन्त राई बताउनुहुन्छ । रासस

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button