मुख्य समाचारसमाचार

बौद्ध धर्मको भिक्षुक संघ के हो ?

Gobal IME Bank

एजेन्सी । बुद्धका दीक्षित शिष्यहरूको समुदाय अर्थात् भिक्षु र भिक्षुणीको समुदायलाई बुझाउन संघ शब्दको प्रयोग गरिन्छ। पश्चिमी विश्वमा पनि बुद्धधर्म निकै फैलिएको छ र बुद्धधर्म मान्ने सम्पूर्ण समुदाय वा कुनै बुद्धधर्म केन्द्रसँग सम्बन्धित गृहस्थीहरूको सानो समुहलाई पनि संघ भन्ने चलन रहेको छ।

बुद्धले बुद्धत्व प्राप्त गरे पछि विगतमा आफूसँगै धेरै समय तपस्या गरेका पाँच पूर्व मित्रहरूलाई पहिलो पटक धर्मको शिक्षा दिनुभयो, जसको विषय थियो – चार आर्यसत्य। यो शिक्षा ग्रहण गर्दै ती पाँचै जना तपस्वी बुद्धका शिष्य बने। यसरी यिनै पाँच शिष्यहरू संघको प्रथम सदस्यहरू भए अर्थात् प्रथम बौद्ध भिक्षुहरू बने।

बुद्धले बाँकीको जीवन करीब ४५ वर्षसम्म आफूले हासिल गरेको ज्ञान मानिसहरूलाई बाँड्नुभयो। उहाँका अन्य धेरै शिष्यहरूले पनि उत्तरी भारतका गाउँ नगरहरू डुल्दै बुद्धका शिक्षा बाँडे। चाँडै नै समाजका अनेक तह र तप्काबाट धेरै मानिस बुद्धका अनुयायी बने। यसरी आउने अधिकांश मानिस सांसारिक गृहस्थी जीवन छाड्न चाहँदैन थिए, तर कसैले त्यो जीवन छाडेर संघमा प्रवेश गर्न चाहेमा उनीहरूलाई स्वागत गरिन्थ्यो। गृहस्थी जीवनमै रहेर विवाह गर्ने तथा सांसारिक काम गर्ने शिष्यहरूले संघलाई खानेकुरा र लत्ताकपडा दिएर सहयोग गर्थे।

समय बित्दै जाँदा धेरैभन्दा धेरै मानिस औपचारिक रूपमा बुद्धसँग जोडिँदै गए। एक आध्यात्मिक समुदाय निर्माण गर्न शिष्यहरूका लागि निश्चित नियमहरू बनाउनु आवश्यक भयो। संघभित्र हुने अवाञ्छित व्यवहार र नतिजालाई रोक्न अनेक नियमहरू बनाइए। बुद्धको जीवनको अन्तिम क्षणमा आइपुग्दा भिक्षु र भिक्षुणीले अपनाउनु पर्ने ती नियमको संख्या सयौं भए ।

प्रारम्भमा बुद्धले केवल पुरुषहरूलाई मात्र बौद्ध संघमा प्रवेश दिनुभएको थियो। भिक्षु संघको स्थापना भएको पाँच वर्षपछि बुद्धकी सानीआमा महाप्रजापति गौतमीले आफूलाई पनि भिक्षुणीको रूपमा प्रवेश गराउन अनुरोध गर्नुभयो, तर बुद्धले त्यसलाई स्वीकार गर्नुभएन। तर महाप्रजापति आफ्नो आग्रहमा अडिग रहनुभयो र ५०० अन्य महिलाको साथ लिई सबैले कपाल मुण्डन गर्ने, पहेँलो कपडा धारण गर्ने र बुद्धको अनुसरण गर्ने निश्चय गर्नुभयो।

महाप्रजापतिले बुद्धसामु थप दुइपल्ट अनुरोध गर्नुभयो, तर दुवैपल्ट बुद्धले उहाँहरूलाई भिक्षुणीको रूपमा प्रवेश दिन अस्वीकार गर्नुभयो। चौथोपल्ट बुद्धका काकाका छोरा आनन्दले हस्तक्षेप गर्नुभयो र महाप्रजापतिको पक्ष लिँदै सोध्नुभयो, के पुरुष सरह महिला पनि आध्यात्मिक मार्गको अनुसरण गर्न र बुद्धत्व प्राप्त गर्न सक्षम हुन्छन् ? बुद्धले हुन्छन् भनेर जवाफ दिनुभयो। त्यसोभए महिलाहरू पनि भिक्षुणी बन्न उपयुक्त हुने कुरा आनन्दले बुद्धसमक्ष राख्नुभयो। र, बुद्धले त्यसैअनुरूप महिला शिष्यहरूलाई पनि भिक्षुणीको रूपमा प्रवेश गर्न दिनुभयो।

सामान्यतया संघ शब्दले भिक्षु र भिक्षुणीहरूको ती दुई समूह जनाउँछ जो बुद्धको शिक्षाको अनुसरण गर्छन्। “भिक्षु” शब्दको अर्थ खासमा “भिक्षा माग्ने” हो, किनकि उनीहरू सांसारिक वस्तुहरू त्यागेर एक ठाउँबाट अर्को ठाउँमा डुलिरहने, अरूले दानमा दिएका खानेकुराबाट जीवन निर्वाह गर्ने गर्छन्। संघ बन्नका लागि बोधिप्राप्तिको जुनसुकै तहमा भएपनि कम्तीमा चारजना पूर्ण रूपमा प्रवज्या लिएका वा नवप्रवेशी भिक्षु वा भिक्षुणीको समूह हुनु पर्छ। यसलाई लौकिक संघ भनिन्छ। अर्को संघ आर्य संघ हो, जसमा प्रवज्या लिएका वा नलिएका जे भए पनि धर्मको मार्गबाट आंशिक बोधिलाभ गरेका व्यक्तिहरू पर्छन्।

यसरी लौकिक र आर्य संघबीच फरक बुझ्नु महत्त्वपूर्ण छ। लौकिक संघमा कतिपय त उच्चस्तरका उत्कृष्ट भिक्षु वा भिक्षुणी हुन सक्छन्, तर कतिपय साधारण र आवेगात्मक विचलनले युक्त मानिसहरू पनि हुन सक्छन् र तिनमा किन शरणगमन गर्ने भन्ने प्रश्न आउन सक्छ। त्यसैले त्रिरत्न मध्येका एक हुनका लागि आर्य संघ हुनुपर्छ, यो हामीले साँच्चिकै शरणगमन गर्ने रत्न हो। उनीहरूले हामीलाई सही मार्गदर्शन प्रदान गरेर हाम्रो हित गर्न सक्छन्।

संघमा कस्ता गुण हुन्छन् ?

१. शिक्षा दिँदा उनीहरूले पुस्तकमा पढेका कुरा मात्र दोहोर्याउँदैनन्। उनीहरू आफ्नो अनुभवका बारेमा पनि कुरा गर्छन् जुन प्रेरणादायी हुन्छ।

२. उनीहरूको एकमात्र चाहना अरूलाई सहयोग गर्ने हुन्छ। उनीहरूले दिएको शिक्षाको अनुसरण आफैँ पनि गर्छन्।

३. असल साथीहरूको संगतले प्रयत्नबिना नै उनीहरूको असल गुणहरु हामी सिक्छौं। त्यसैगरी धर्म अभ्यासमा प्रगति गर्न संघको ज्यादै उत्तम प्रभाव हुन्छ।

संघका कारण अद्भुत तवरले संरक्षित र एक पुस्ताबाट अर्कोमा हस्तान्तरित हुँदै आएका बुद्धका शिक्षा आजको आधुनिक युगमा उपलब्ध छन्। संघले हामीलाई आफ्ना तत्कालका समस्या र आफ्ना दुःखबाट पूर्ण छुटकारा पाउने बाटो छ भनेर थाहा पाउने प्रेरणा दिन्छ। संघले प्रेरणा मात्र दिने होइन, हामीलाई प्रत्येक चरणमा दिशानिर्देश, उत्साह र सहयोग पनि प्रदान गर्छन्। कहिलेकाहीँ भनिन्छ संघ भएन भने बुद्धधर्म पनि हुँदैन।

लौकिक संघ अन्तर्गतका बौद्ध भिक्षु र भिक्षुणीको प्रतिबद्धताको फलस्वरूप नै धर्म विश्वभरी फैलिन सकेको छ । जसरी बुद्धलाई एक चिकित्सकको र धर्मलाई औषधिको उपमा दिइन्छ, त्यसरी नै संघलाई ती नर्सहरूको उपमा दिन सकिन्छ जसले हामीलाई आफ्ना दुःखबाट सधैँका लागि मुक्त हुने मार्गको बारेमा प्रेरणा र मार्गदर्शन प्रदान गर्छन्।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button