समाचार

किसानको साहारा बन्दै चितवन मिल्क-GoodNews24

Gobal IME Bank

चितवन- चितवनको भरतपुरस्थित वहुर्राष्ट्रिय कम्पनी नेपाल तराई वोटलर्स लिमिटेडले उद्योग बिस्तार गर्दै गर्दा नजिकै रहेको चितवन मिल्क लिमिटेड चल्न नसकेर बन्द भयो । कोको कोला लगायत पेय पदार्थ उत्पादन गर्ने कम्पनी दिनानुदिन फष्टाउँदै गर्दा किसानको दूध प्रशोद्धन गर्ने उद्योग विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकेर बन्द भएको हो ।

भरतपुर महानगरपालिका—१ ठिमुरामा २०६८ सालमा १२ विगाहा क्षेत्रफलमा स्थापित सो उद्योगमा एक अर्ब रुपैयाँ भन्दा बढी लगानी छ । पाउडर दूध नेपालमा बिक्री गर्न नसकेपछि घाटामा गएको उद्योग २०७२ को भूकम्पपछि पूर्ण रुपमा बन्द भएको हो । भूकम्पको समयमा उपकरण र भवनमा आंशिक क्षति पनि भयो ।

किसानको समस्यालाई ध्यानमा राखेर दुग्ध विकास संस्थानसँग सहकार्य गरी स्थापन भएको चितवन मिल्क लिमिटेड उद्योगबाट दूध, पाउडर दूध, होल मिल्क पाउडर, डेरी ह्वाइटनर र क्रिम मिल्क पाउडर ह्वाइटनरलगायत दूधजन्य पदार्थ उत्पादन हुँदै आएको थियो । विशेषगरी भारतमा बिक्री नभएको गुणस्तरहीन पाउडर दूध समेत नेपाल भित्रिदा यहाँको गुणस्तरको दूधले बजार पाउन र प्रतिस्पर्धा गर्न नसकेपछि यो उद्योग बन्द भएको बताइएको छ ।

उद्योग बन्द हुँदा चितवनमा मिल्क होलिडे फेरी शुरु भएको कृषक कुलानन्द अधिकारीले बताउनुभयो । पश्चिम चितवनको चनौलीका अगुवा कृषक अधिकारीले यो उद्योग सञ्चालन भएमा किसानलाई ठूलो राहत पुग्ने बताउनुभयो । चितवन दुग्ध सहकारी सङ्घका अध्यक्ष रत्नमणी न्यौपाने किसानसँग प्रत्यक्ष सरोकार राख्ने यस्ता उद्योगको नियमित सञ्चालनमा सरकारको ध्यान जानुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “किसानलाई मिल्क होलिडेबाट बचाउनुपर्छ । अन्यथा किसान कृषि पेशाबाट विस्थापित हुन पुग्छ ।”

चितवनमा मात्रै दैनिक ३ लाख १५ हजार लिटर दूध उत्पादन भइरहेको छ । यहाँका १ सय ६७ सहकारीले दूध सङ्कलन गरेर निजी डेरीलाई बिक्री गर्दै आएका छन् । न्यौपानेको भनाइमा चितवन मिल्क कृषकको सहारा बनेको छ । लामो समयदेखि बन्द रहेको नेपालकै ठूलो पाउडर दूध कारखाना चितवन मिल्क लिमिटेड नेपाल डेरी उद्योग सङ्घले आफू मातहतका डेरीहरुमा खपत नभएको दूध उद्योगमा ल्याएर पाउडर र बटर बनाउँदै लैजाने भनेपछि सञ्चालनमा आएका छन् । बन्द रहेको उद्योगमा निजी डेरीहरुले दूध उपलब्ध गराएपछि प्रशोद्धनको काम हुँदै आएको छ । नेपाल डेरी उद्योग सङ्घका अध्यक्ष अरनिको राजभण्डारीले डेरीहरुसँग बचेको दूध उद्योगलाई भाडा तिरेर पाउडर र बटर उत्पादन गर्दै आएको बताउनुभयो । उद्योगले गत पुस महिनाबाट निजी डेरीहरुको बचेको दूध प्रशोद्धन गर्दै आएको छ । उद्योगले दूध पाउडरको प्रतिकिलो मूल्य अभिवृद्धि कर बाहेक रु एक सय पाँच र वटरको रु ४३ कन्भर्सन शुल्क लिएर प्रशोद्धन गर्दै आएको छ । तरपनि उद्योग नियमित सञ्चालन हुन सकेको छैन । सरकारले भारतबाट पाउण्डर दूध ल्याउन रोक लगाएपछि डेरीहरुले यो विकल्प रोजेका हुन् ।

चितवन मिल्क लिमिटेडका अध्यक्ष राजुबाबु श्रेष्ठले आगामी असोजबाट उद्योग नियमित सञ्चालन गर्ने गरी तयारी अघि बढाइएको बताउनुभयो । उद्योगले असोजबाट डेरी ह्वाइटनरको नियमित उत्पादन शुरु गर्नेछ । त्यसपछि क्रमशः अन्य उत्पादन बढाउँदै लैजाने योजना उद्योगको छ । चितवन मिल्कले उत्पादन गर्ने दुग्धजन्य पदार्थहरु उपयोग गर्न नेपाल डेरी उद्योग सङ्घ सकारात्मक बनेको छ । सङ्घ सकारात्मक भएपछि उद्योग नियमित सञ्चालन गर्न लागिएको अध्यक्ष श्रेष्ठको भनाइ छ । दैनिक एक लाख ५० हजार लिटर दूधको पाउडर बनाउने क्षमता उद्योगसँग छ । यो नेपालमा नै सवैभन्दा धेरैं हो । त्यसैगरी घ्यू, दही, पनिर र पाउँच दूध पनि उद्योगले उत्पादन गर्न सक्दछ । उद्योग स्थापनाको शुरुका वर्ष नेपालको दूध नपुगेपछि भारतबाट दैनिक एक लाख लिटरसम्म दूध ल्याएर उद्योगले प्रशोधन गर्ने गरेको थियो ।

नेपालमा वार्षिक रु तीन अर्वको हाराहारीमा १० हजार मेट्रिक टन पाउडर दूध आयात हुँदै आएको छ । तीमध्ये ४५ प्रतिशत खपत दुग्ध विकास संस्थान, ४५ प्रतिशत निजी डेरी र बाँकी बेकरी, बिस्कुट लगायतका उद्योगले खपत गर्ने गरेका छन् । अहिले सरकारले पाउडर दूध आयातमा प्रतिबन्ध लगाएको छ । जसले गर्दा यहाँको पाउडर दूधले बजार पाउने अवस्था सिर्जना भएको छ । यसबाट व्यवसायीहरु उत्साहित बनेका छन्।

यसरी प्रशोद्धन गरिएको पाउडर दूध एक वर्षसम्म बिग्रिदैन । सङ्घका सदस्य उद्योगहरु आफ्नैले खपत गर्ने गरी पाउडर उत्पादन गरिएको अध्यक्ष राजभण्डारीको भनाइ छ । चितवन मिल्क र सुजल डेरीले निजी र सहकारीको दूध प्रशोद्धन गर्दै आएका छन् । निजी डेरीहरुले मात्र एक वर्षमा २ करोड ५० लाख लिटर दूध प्रशोधन गर्ने गरेको उहाँको भनाइ छ । दूधको अभाव हुने मौसममा नेपालमा धूलो वनाएर राख्न नसके हुँदा रु चार अर्ब मूल्य बराबरको दूध ल्याउनुपर्ने उहाँले जानकारी दिनुभयो ।

चितवन मिल्कमा डेरी उद्योग सङ्घ, नेपाल डेरी एशोसिएशन अन्तर्गतका डेरीहरु र सहकारीले देशैभरबाट दूध ल्याउने गरेको उद्योग हेर्दै आउनुभएका दुर्गा पराजुलीले जानकारी दिनुभयो । चितवन मिल्क ठूलो उद्योग भएकाले ५० हजार लिटर भन्दा कम दूध राखेर उद्योग चलाएमा नोक्सान हुने पराजुलीको भनाइ छ । सो उद्योगले एक सिफ्टमा ८० हजारदेखि एक लाख लिटर दूध प्रशोद्धन गर्न सक्छ । चौविसौं घण्टा उद्योग चलाएमा २ लाख ५० हजार लिटरसम्म प्रशोद्धन गर्न सक्ने पराजुलीले जानकारी दिनुभयो । हाल २० जना कर्मचारी राखेर एक सिफ्ट मात्र उद्योगले सञ्चालन हुँदै आएको बताइएको छ ।

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”6152″] [irp posts=”6192″] [irp posts=”6588″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button