मुख्य समाचारशिक्षा स्वास्थसमाचार

दाँत सफा गरेपछि दाँत कमजोर हुन्छ भन्नु एउटा भ्रम मात्रै- डा. रोहिस महर्जन (अन्तर्वार्ता/भिडियो)

Gobal IME Bank

– प्रिन्सु ढकाल

काठमाडौँ । हरेक व्यक्तिको सुन्दरता उनीहरुको मुस्कानमा झल्कने गर्दछ । सुन्दर मुस्कानका लागि हाम्रो दाँत सुन्दर हुनु निकै जरुरी मानिन्छ तर दाँतको नाता सुन्दरता संग मात्र छैन, यो त हाम्रो शरीरको यस्तो हिस्सा हो, जसले समग्र स्वस्थ्यको अभिभारा बोकेको हुन्छ । हाम्रो शरीरलाई चाहिने पोषक तत्वको प्रवेशद्वार नै हाम्रो मुख हो र दाँतको सहयताले हामीले खानेकुराहरु टुक्राउने र चपाउने गर्छौ ।

खानेकुरा राम्ररी चपाएर नखाँदा हाम्रो पाचन प्रणालीमा पनि असर गर्छ । त्यसका कारण हाम्रो दाँतको स्वस्थ्य हाम्रो शरीरको सम्पूर्ण स्वस्थ्यसगँ जोडिएको हुन्छ । दाँतप्रति हामी त्यति सजग छैनौं, जति यो संवेदनशील छ । त्यसैले आजभोलि दाँतसम्बन्धी अनेक समस्या बढ्दैछन् । यस्ता समस्याहरुको समाधान कसरी गर्ने र सही तरिकाले कसरी दाँतको हेरचाह गर्ने भन्ने विषयमा दन्त चिकित्सक सगँ सल्लाह लिनु आवश्यक हुन्छ ।

दन्त चिकित्सकहरुले पनि दाँतको हरेचाह गर्न ज्यादै महत्वपूर्ण रहेको बताउने गर्छन् । दन्त चिकित्सक रोहिस महर्जनका अनुसार आजभोलि भने मानिसहरु इन्टरनेट र अरु माध्यमका कारण पनि आफ्नो स्वास्थ्यप्रति वेल अवेर रहेको र समय समयमा आफ्नो ओरल हेल्थ चेकअप गर्न आउने गर्छन् । विशेषगरी १५ देखि २५ वर्ष समुहका व्यक्तिहरु धेरै आउने उहाँ बताउनुहुन्छ । यसरी आउने व्यक्तिहरु प्राय दाँतमा किरा लागेर र दाँतमा पिप बोकेर आउने गरेको बताउनुभयो ।

यो उमेर समुहका व्यक्तिहरु आफ्नो दाँतको स्वास्थ्यप्रति अलि बढी सर्तक र बुझकी रहेको पनि उहाँले बताउनुभयो । ”हामी कहाँ चाहि दुई किसिमका पेसेन्टहरु आउने गर्छन् , एउटा चाहिँ इनिसिएल क्यरिज जस्तै दाँत अलिकति दुखेमा वा थोरै किरा लागेमा पनि आउने गर्छन् र अर्को पेसेन्टको क्याटगरी भनेको चाहिँ एकदमै क्रोनिक स्टेजमा दाँत एकदमै बिग्रिसकेपछि बचाउनै नमिल्ने स्थितिमा पुरै दाँत किराले खाइसकेपछि आउँछन् ”,उहाँले भन्नुभयो ।

हामीले प्रायजसो धेरै सुन्दै आएका छौँ कि गुलियो खानेकुराले हाम्रो दाँत बिगार्छ र यो हाम्रो दाँतको लागि हानीकारक हुन्छ । यसै सम्बन्धीको हाम्रो प्रश्नमा उहाँले यो कुरा भने त्यति सत्य नरहेको बताउनुभयो । ”यसरी गुलियो खानासाथ किरा लाग्ने भए त चकेलट खाँदैमा सबैको दाँतमा किरा लाग्नुपर्ने हो , तर हामीले आफ्नो ओरल हेल्थ कसरी मेनटेन गर्छौ त्यो कुरामा पनि भर पर्छ । हामीले गुलियो मात्र नभई अमिलो, पिरो अन्य खानेकुरा खाइसकेपछि भने कुल्ला गर्ने बानी बसाल्नुपर्छ । यसरी कुल्ला नगर्दा भने हाम्रो दाँतमा किरा लाग्ने सम्भावना बढी हुन्छ न कि गुलियो मात्र खाएर”, उहाँले भन्नुभयो ।

त्यसो भए दाँतलाई कस्तो खानेकुराले चाहिँ असर गर्छ त भन्ने कौतुहलता हामी सबैलाई अवश्य नै हुन्छ । डा. महर्जनका अनुसार राम्ररी हेरचाह गरेमा त्यस्तो खासै कुनै खानेकुराले दाँत किरा लाग्ने भन्ने हुँदैन् तर टोब्याको (सुर्तीजन्य) प्रडक्टहरु जस्तै खैनी, चुरोट, पानपराग आदि चाहिँ दाँतको लागि एकदमै नराम्रो र हानीकारक हुन्छन् । अरु हामीले दिनहुँ खाने खानेकुराले भने त्यति असर नपर्ने पनि उहाँले बताउनुभयो ।

दाँतलाई स्वस्थ राख्न हामीले आफैले कसरी यसको हेरचाह गरिन्छ भन्ने कुरामा भर पर्छ । यो मनिस मानिसमा फरक परिरहेको हुन्छ । ”उदाहरणका लागि मैलै अब एकदम धेरै केयर गरिरहेको छु तैपनि मलाई किरा लागेको हुन्छ, कोही कोही ले चाहिँ केयर नै नगरे पनि किरा लाग्दैन त्यो चाहिँ उसको इम्युनिटीमा पनि भर पर्छ । कसैको इम्युन सिस्टम राम्रो छ भने उसले थोरै मेनटेन गरे पनि किरा लाग्ने हुँदैन ” उहाँले भन्नुभयो । दाँतलाई स्वस्थ राख्न हामीले दिनमा दुई पटक ब्रस गर्ने र राती सुत्नुभन्दा अगाडि चाहिँ ब्रस गर्नु अति नै आवश्यक हुने उहाँले बताउनुभयो । ”हामी सुतेको बेलामा मुखको केही एक्टिभिटी हुदैन साइलेन्ट फेजमा हुन्छ त्यो बेलामा मुख ड्राई हुन्छ क्यरिज एक्टिभिटीज राती मुख ड्राई भएको बेलामा एकदमै एक्टिभ हुन्छ त्यसैले जो व्यक्तिहरुको राती ब्रस नगरी सुत्ने बानी छ उहाँहरुलाई नर्मल मानिसभन्दा छिटै किरा लाग्ने चान्स हाइ हुन्छ”, उहाँले भन्नुभयो ।

दाँत सफा गरेपछि झन् दाँत कमजोर हुन्छ, सिरिङ्ग हुन्छ भन्ने भनाइ पनि प्राय: हामीले सबैले सुन्दै आएका छौँ । यही प्रश्नमा डा. महर्जनले यो केवल एक मिथ मात्र रहेको बताउनुभयो । ”प्राय मानिसमा दुई किसिमको फोहोर पाइने गरिन्छ । एउटा हो डेन्टल क्लाकुलस जुन ढुङ्गा जस्तो हुने गर्छ र धेरैलाई यसको बारेमा थाहा पनि हुँदैन । दाँतको भित्र ढुङ्गा जस्तो फरमेसन देखियो भने प्रायले यसलाई दाँत नै भन्ने सोच्छन् तर यो क्लाकुलस हो । यस्तो फोहोरहरु छन् भने चाँहि यसले बिस्तारै गिजालाई असर गरिरहको हुन्छन् । त्यसैले यो क्लाकुलस छ भने निकाल्नु पर्ने हुन्छ । त्यसैगरी अर्को भनेको स्टेन हो ।

स्टेन चाहिँ विशेषगरी कफी, चिया, चियापत्तीको आइटमहरु, टोब्याको, चुरोट, तम्बाखुहरु प्रयोग गर्यो भने दाँतमा सानो सानो कालो दाग बस्न जान्छ र यो दागहरु सफा गर्दा दाँत सफा गर्नु पर्ने हुन्छ । क्लाकुलस सफा गर्दा दाँत र गिजाको बिचमा सफा गरिन्छ तर यो स्टेन्स सफा गर्दा दाँत नै सफा गर्नु पर्ने हुँदा बिस्तारै इनामेल जाने हुन्छ । त्यसैले यो फोहोर अनुसार भर पर्छ र आफ्नो सुर्तीजन्य प्रडक्टको प्रयोग गर्ने नराम्रो बानी छ भने यसलाई सुर्धानै पर्छ”, उहाँले बताउनुभयो ।

हामीमध्ये कतिपयलाई कहिलेकाहीँ केही तातो वा चिसो खाँदा दाँत सिरिङ्ग भएको जस्तो महसुस हुन्छ , तर यसको कारण के हो भनेर हामीले थाहा पाएका हुदैँनौ । डा. महर्जनका अनुसार गिजा नराम्रो हुँदा यस्तो हुने गर्छ । गिजा नराम्रो तब हुन्छ जब दाँतमा ढुङ्गा जस्तो फोहोर क्यालकुलस जम्मा हुन्छ । ”हाम्रो दाँत जति नै सफा गरेपनि यसमा सानो सानो फोहोर अड्किरहेको हुन्छ र मुखमा लगातार सलाइभा (र्याल) आउने हुदाँ यसले एउटा लेयर बनाइदिन्छ र डेन्टल क्यालकुलस जम्मा भएर हाम्रो गिजामा इन्फाल्मेसन (फुलिने) हुने गर्छ । गिजा चारैतिर फुलिदा हाम्रो जराहरु एक्पोज हुन थाल्छ एक्सर्टनल इन्भारोमेन्टमा । तपाईले तातो, चिसो खाँदा यसले जरामा कन्ट्याक्ट गर्ने हुन्छ । हाम्रो दाँतमा इनामेल पोर्सन हुन्छ जसले हाम्रो दाँतलाई प्रोटेक्ट गरिरहेको हुन्छ तर गिजामा भने इनामेल हुँदैन् र डाइरेक्ट कन्ट्याक्ट हुँदा यस्तो सिरिङ्ग भएको जस्तो महसुस हुन्छ भने अर्को कारण चाहिँ एट्रिजन । यदि कसैको दाँत किट्ने बानी छ भने यसो गर्दा बिस्तारै दाँत माथिको इनामेल लुज हुन्छ र सेन्सेटिभिटी हुन्छ ”, उहाँले भन्नुभयो ।

बुद्धि बंगारा आउँदाको पीडा पनि हामी मध्ये धेरैले महसुस गरेका छौँ होला । डा. महर्जनका अनुसार बुद्धि बंगाराको प्रयोग प्राचीन कालमा रहेका थियो किनभने त्यो बेला मानिसहरुले धेरै मासुको सेवन गर्ने गर्थे र त्यो समय यसको काम हुँदा हाम्रो ज आर्च पनि ठुलो हुदाँ केही समस्या थिएन तर अहिले आउँदा भने बिस्तारै मानिसहरुले सारो चिज टोक्ने कम भइसकेको छ र मानिसहरुको मुखको साइज पनि कम हुँदै गएको छ त्यसकारण बुद्धि बंगारा भेस्टिजियल अर्ज्ञानमा परिवर्तन भइरहेको छ । यो एक किसिमको ऐक्स्ट्रा दाँत जस्तै बनिसकेको छ । यदि केही समस्या दिएको छैन भने यो दाँत निकाल्न नपर्ने तर समस्या नै छ भने निकाल्दा राम्रो हुने सुझाव पनि उहाँले दिनुभयो ।

बच्चाहरुको दाँतमा किरा लाग्ने समस्या पनि आजभोलि बढ्दै गएको छ । चकलेट र अन्य गुलियो खानेकुराहरु सजिलै जताततै पाइन्छ । तर बच्चाहरुमा किरा लाग्ने समस्या भने एक्कासी नहुने डा. महर्जन बताउनुहुन्छ । ”पहिले देखि बेस देखि नै स्टेप वाइज डेभलप हुँदै आएको हुन्छ । बच्चाहरुले आमाको दुध खाने बेलामा राती दुध खुवाएर हामीले बच्चालाई यत्तिकै सुताइदिन्छौ । यस्तो भने गर्नु हुँदैन किनभने बच्चाको दाँतमा त्यो दुध लागेको हुन्छ जसलाई सफा गर्नुपर्छ । यसको लागि कपासलाई पानीमा भिजाएर दाँत सफा गरिदिनु पर्छ । ब्रेस्ट फिडिङको बेला देखि नै राम्ररी केयर गरेमा बच्चाहरुको दाँतमा किरा लाग्ने सम्भावना कम हुन्छ र कुल्ला गर्ने बानी पनि बसाल्न जरुरी छ ”, उहाँले भन्नुभयो ।

दाँतलाई स्वस्थ बनाउन सही टुथपेस्टको प्रयोग गर्नुपर्छ । डा. महर्जनका अनुसार हामीले सधैँ फ्लोराइड भएको टुथपेस्टको प्रयोग गर्नुपर्छ । टुथपेस्टको प्रयोग गर्दा पनि समस्या अनुसारको टुथपेस्टको प्रयोग गर्नुपर्छ । गिजाको समस्या भएमा डाबर लाल, सेन्सेटिभिटी भएमा सेन्सोडाइन र साधारण रुपमा फ्लोराइड भएको टुथपेस्टको प्रयोग गर्नु राम्रो हुन्छ । त्यसैगरी दाँतलाई स्वस्थ राख्न हामीले दिनमा दुई पटक ब्रस गर्ने र राती सुत्नुभन्दा अगाडि चाहिँ ब्रस गर्नु अति नै आवश्यक हुने कुरा पनि उहाँले बताउनुभयो ।

साधारणतय ६/६ महिनामा डेन्टिस्टलाई भिजिट गर्दा धेरै हदसम्म हाम्रो दाँतलाई जोगाउन सकिन्छ । त्यसैले आफ्नो डेन्टिस्टलाई समय समयमा भिजिट गर्दा हाम्रो समस्याको समाधान हुन्छ र पछि आउन सक्ने दाँत सम्बन्धी समस्याहरुबाट पनि जोगिन सकिन्छ ।

भिडियो हेर्नुहोस्-

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button