गुड न्यूज 24मुख्य समाचारशिक्षा स्वास्थसमाचार

आँखाको हेरचाह कसरी गर्ने ? चिकित्सकको सल्लाह पढ्नुहोस्

Gobal IME Bank

काठमाडौँ । आँखा हाम्रो शरीरको सबैभन्दा संवेदनशील अंग हो । संवेदनशील हुनुका साथै यो हाम्रो शरीरको महत्वपूर्ण अंग पनि हो । संसारका सम्पूर्ण सुन्दर दृश्य हामी यही आँखाका सहयताले हेर्न सक्छौँ । आँखा हाम्रो दैनिक जीवन सहज बनाउनका लागि आवश्यक संवेदनशील अंग हो । त्यसैले यस्तो संवेदनशील अंगको हामीले धेरै हेरचाह गर्नुपर्छ ।

आँखाको हेरचाह गर्दा विभिन्न कुराहरुमा ध्यान दिनुपर्ने हुन्छ । अहिलेको समयमा झन मनिसहरु डिजिटल स्क्रिनमा आफ्नो कार्य गर्ने र धेरै समय बिताउने हुनाले आँखालाई असर पर्ने सम्भावना धेरै हुन्छ । त्यसैले अहिलेको यो समयमा आँखाको हेरचाह गर्न निकै नै आवश्यक छ ।

चिकित्सक र नेत्र विशेषज्ञहरुले पनि आँखाको हेरचाह गर्न ज्यादै महत्वपूर्ण हुने बताउने गर्छन् । नेत्र रोग विशेषज्ञ डा. सबिन ढकालका अनुसार आँखाको उपचारका लागि विशेष गरी डिजिटल स्क्रिनमा काम गर्ने व्यक्तिहरु र मोतीबिन्दुको समस्या लिएर वृद्धवृद्धाहरु धेरै आउने गर्छन् । त्यसो त अहिलेको समयमा हामी हरेकको हात हातमा मोबाईल फोनहरु हुने गर्दछ । जसकारण पनि हामी लामो समयसम्म मोबाईल स्क्रिनमा हाम्रो आँखालाई व्यस्त बनाउँछौं ।

आँखालाई पर्याप्त मात्रामा आराम चाहिने र टाढाको बस्तुलाई हेर्नभन्दा नजिकको बस्तु हेर्नलाई आँखाका मांसपेशीहरु संचालन हुने हुँदा धेरै समयसम्म आँखाको नजिक राखेर मोबाईल, कम्प्युटर तथा ल्याप्टपहरु चलाउन नहुने पनि डा. ढकाल बताउँनुहुन्छ । लामो समयसम्म यस्ता स्क्रिनहरुमा बस्दा आँखाको सिलियरी मांसपेशी अधिक्तम मात्रामा संचालनमा रहने हुन्छ र यो मांसपेशी धेरै संचालनमा आउनु आँखाको लागि फाईदाजनक नभएको पनि उहाँले बताउनुभयो ।

उहाँले पछिल्लो समय मानिसहरु घरभित्र मात्रै संकुचित भएको पनि बताउनुभयो, जुन कुरा हाम्रो आँखाको लागि भने त्यति लाभदायी नहुने पनि बताउनुभयो । अफिसमा लामो समय कम्प्युटर स्क्रिनमा बस्ने व्यक्तिहरुले पनि धेरै समय लगातार कम्प्युटर हेर्दा आँखालाई थकान महसुस हुन्छ । त्यसलै कामको बिचमा केही समय ब्रेक लिनुपर्ने र आँखा नजिकका भन्दा टाढाका कामहरु गर्ने सुझाव पनि उहाँले दिनुभयो ।

आजभोलि अभिभावकहरुले पनि आफ्ना बालबालिकालाई खाना खाँदा होस या पढाई सकेपछि मोबाईल चलाउन दिने लोभ देखाउने गर्छन् । यसरी बाहिरी क्रियाकलाप जति कम गर्यो र स्क्रिनमा बढी समय व्यतित गर्यो त्यति नै बढी आँखाका समस्या बालबालिकामा देखा पर्ने पनि उहाँले बताउनुभयो ।

धेरै मनिसहरुमा लेन्स कि चश्मा लगाउने ? भन्ने विषयमा अन्योल हुन्छ । कसैलाई लेन्स लगाउन सहज लाग्छ भने कसैलाई चश्मा नै सजिलो लाग्छ । प्रायजसोः धेरै व्यक्तिले चश्मा नै प्रयोग गरेको हामी देख्छौँ । डा. ढकालका अनुसार लेन्स भन्दा चश्मा नै प्रयोग गर्नु राम्रो पनि हुन्छ । लेन्स आँखाको सतहमा प्रयोग गरिने हुनाले त्यति सुरक्षित हुँदैन । लेन्स लगाउँदा यदि फोहोर हात आँखामा लग्दा इनफेक्सन हुने सम्भावनाहरू पनि धेरै हुन सक्छन् । हाम्रो आँखाको नानीले अक्सिजन हावाबाट लिने हुदाँ लेन्स लगाउँदा धेरै बेर आँखाको नानीले हावासँग कन्ट्याक्ट गर्न पाउँदैन र यसको कारण नानीमा समस्या आउन सक्छ ।

लेन्स सकेसम्म प्रयोग नगरेकै राम्रो र लगाउनै परेमा केही समयको लागि मात्रै लगाउने सुझाव पनि उहाँले दिनुभयो । सामान्यतया, हामीले प्रयोग गर्ने मोबाईल फोन, ल्याप्टप, कम्प्युटर, घर र अफिसमा बालिने लाईटहरुमा ब्लु रेजहरु पाईन्छ त्यसैले यी कुराहरुको नजिकमा हुँदा ब्लु कट लेन्ससहितको चश्माको प्रयोग गर्न पनि चिकित्सकहरु सुझाव दिन्छन् । डा. ढकाल पनि यसबारे आफ्नो धारणा राख्दै ब्लु कट लेन्स भएको चश्मा प्रयोग गर्नु आँखाको लागि राम्रो नै हुने बताउनुहुन्छ ।

आजको समयमा विशेषगरी महिलाहरुले सौन्दर्यका लागि विभिन्न कस्मेटिक प्रोडक्टहरु जस्तै आइस्याडो, मस्कारा, आईलाइनर, गाजल लगाउने गर्छन् । डा. ढकालका अनुसार आँखाको स्किनमा यस्ता कस्मेटिक प्रोडक्टहरु प्रयोग गर्न खासै हानिकारक नहुने तर ल्यास लाइन भन्दा भित्र जस्तै फेक आइल्यास लगाउँदा टियर सिक्रेट हुने ग्यालण्डमा असर पर्न सक्छ जसले गर्दा आँखामा समस्या आउन सक्छ ।

त्यसैगरी आँखाको हेरचाहको लागि डा. ढकालले यस्ता विभिन्न उपायहरु अपनाउनु पर्ने बताउनुहुन्छः

  • नियमित रुपमा आँखाको चेकअप गर्ने
  • डिजिटल स्क्रीनमा लामो समय हेर्ने व्यक्तिले समय समयमा ब्रेक लिने
  • आर्टिफिसियल टियर ड्रप्सको प्रयोग गर्ने
  • मोटरसाइकल, स्कुटर चलाउँदा सधैँ हेलमेटको भाइजर लगाउने
  • एसी र पङ्खा कम स्पीडमा चलाउने
  • फोहोर हातले आँखालाई नछुने
  • चालिस वर्ष पुगेपछि आँखाको चेकअप गरी चिकित्सकको सल्लाह अनुसार चश्मा लगाउने

यस्ता विभिन्न उपायहरुले आँखाको सुरक्षाका लागि मद्दत गर्न सक्छन् । अहिले विभिन्न नयाँ प्रविधिको प्रयोग गरेर पनि आँखाको सफल उपचार गर्न सकिन्छ । लेजर प्रविधिको प्रयोग र अन्य थुप्रै नयाँ प्रविधि जस्तै आइ सी यल प्रविधिको प्रयोग गरेर आँखाको नानीभित्रै लेन्स प्रत्यारोपण गरेर समेत उपचार गर्न सकिने डा. ढकालले बताउनुभयो । समयमै आँखाको उपचार गरेमा ठूलो समस्याबाट जोगिन सकिन्छ । त्यसैले हामीले समयमै आफ्नो आँखाको राम्ररी हेरचाह गर्नुपर्छ । यसो गर्नाले भविष्यको विभिन्न आँखासम्बन्धीका जोखिमलाई सहजै न्युनिकरण गर्न सकिन्छ ।

-प्रिन्सु ढकाल

भिडियो हेर्नुहोस्:-

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button