समाचार

हाते ट्र्याक्टरले गोरु विस्थापित

Gobal IME Bank

बझाङ छान्ना । खप्तडछान्ना गाउँपालिका–५ का भरत गिरीलाई अहिले हलो समात्नै झमेला लाग्छ । उहाँले हलो नसमात्ने अडान नै लिनुभएको छ ।

गोरु जोतेर ढाड दुखाउनुभन्दा एकै छिनमा ट्र्याक्टर जोतेर घर फर्कनु आनन्द भएको उहाँले बताउनुभयो । “कसैले पणिमा मागे पनि बरु सित्तैमा ट्र्याक्टर लगाइदिन्छु तर, हलो समात्न भने मनै लाग्दैन”, उहाँले भन्नुभयो, “गोरु जोतेरै बूढो भइसके । मेरै घरमा दर्जनभन्दा बढी हल गोरु फेरबदल भए तर, कहिल्यै समयमा काम सकिएन । न त सोचेजस्तो काममा रहर नै लाग्यो । अहिले ट्र्याक्टरले धेरै सजिलो भएको छ ।”

उहाँका अनुसार अहिले हाते ट्र्याक्टरले १० दिनमा हुने काम एकै दिनमा हुने गर्छ । छिटो पनि हुने, सजिलो पनि हुने हुँदा अहिले कृषकका लागि ट्र्याक्टर नै विकल्प भएको उहाँ बताउनुहुन्छ । तीन वर्षअघि जयपृथ्वी नगरपालिका–९ का यादवी जोशीको घरमा भर्खर किनेका एक हल गोरु थिए । चरिचराउन गर्न वन नभएको हुँदा उहाँ असार र मङ्सिरबाहेक बाँकी समय पल्लो गाउँ चरिचराउनका लागि पु¥याउनुहुन्थ्यो ।

उहाँको घरमा गोरु भएपछि छिमेकीले समेत खेत जोत्ने मौका पाउँथे । घरमा ल्याएपछि दुई महिना गोरु दैनिकजसो जोतिन्थ्यो । पानी नलाग्ने ठाउँमा त कहिल्यै महिनासमेत कुर्नुपर्दथ्यो । गोरु जोत्ने बेलामा ठूला खेतमा त दुई हल गोरुसहित दुई दर्जनभन्दा बढी खेतालाको काम हुन्थ्यो ।

गत मङ्सिरमा एक जना आफन्तले हाते ट्र्याक्टर किनेर ल्याउनुभयो । यसले उहाँले आफ्नो खेती मात्रै नभई तीन÷चार जना छिमेकीकै खेती बनाउनुभयो । त्यो देखेर उहाँको परिवारले पनि गोरुको ठाउँमा ट्र्याक्टर नै राख्ने सोच बनायो । किनेका गोरु बिक्री गर्न खोजे पनि किन्ने मान्छे नै भेटिएनन् । पछि अर्कै पालिकाका मान्छेलाई उहाँको परिवारले सित्तैमा एक हल गोरु दिए । ट्र्याक्टर ल्याइसकेपछि भने थोरै जनशक्तिमा पनि धेरै काम, छिटो हुन थालेको उहाँ बताउनुहुन्छ ।

जयपृथ्वी नगरपालिका–९ पिठालेखकी सीता थापाले पनि तीन वर्ष अगाडि हाते ट्र्याक्टर किन्नुभयो । गोठमा भएका गोरुलाई बेचेर कृषिको अनुदानसहित रु ७० हजारमा ट्र्याक्टर भित्र्याउनुभयो । रोपाइँ गर्न महिनाभरि लाग्ने खेतमा ट्र्याक्टरपछि हप्ता दिनमै सकिन थाल्यो । उहाँ सुरू–सुरूमा आफ्नो मात्रै नभएर छिमेकीको खेतमा मद्दत गर्न थाल्नुभयो । पछि डिजेलको मूल्य बढ्दै जाँदा ट्र्याक्टर भाडामा समेत प्रयोग गर्न थालेको उहाँ बताउनुहुन्छ । ट्र्याक्टरमा डिजेल भर्ने तथा केही रकम लिएर छिमेकीको खेत जोत्ने गरेको उहाँले सुनाउनुभयो ।

उहाँको देवलको खेतमा पहिले दुई दिन गोरु जोत्नै लाग्थ्यो । बीस जनाले रोपाइँ गर्थे । गहुँको सिजनमा पनि दुई दर्जन मान्छे चाहिन्थे । हलीसहित सात÷आठ जना पुरुषले बिहानैदेखि खट्नुपथ्र्यो । आजभोलि भने तीन÷चार घण्टामै काम सकिने गरेको छ । “आज पनि हामी दुई जना मात्रै थियौँ । तीन घण्टामै जोतेर सकियो । रोपाइँको दिनमा पनि थोरै मान्छे भए नी पुग्छ ।” उहाँले भन्नुभयो ।

महिलाले ट्र्याक्टर जोत्नु हुँदैन

अन्धविश्वासका कारण नगरपालिकाभित्रका महिला गोरु मात्रै नभएर ट्र्याक्टरसमेत जोत्दैनन् । “हाम्रोतिर गोरु पनि पुरुष, ट्र्याक्टर पनि पुरुषले नै जोत्छन् ।” उहाँले भन्नुभयो, “यहाँ त महिलाले अहिलेसम्म हलो छोएकै छैनन् । ट्र्याक्टर पनि जोत्दैनन् ।” महिलाले हलो जोत्दा देउताले रिसाउने भन्ने पूर्खाको भनाइलाई पालना गरेको अर्की कृषक लक्ष्मी जोशीले बताउनुभयो । “हाम्रोतिर अहिलेसम्म कुनै महिलाले हलो जोत्यो भन्ने सुनेका पनि छैनौँ । मैले जोत्ने त परको हो ।” उहाँले भन्नुभयो ।

गाउँमा कसैको बारीमा ट्र्याक्टर जोत्नु परे पनि पुरुष मान्छे नभए बारी बाँझै रहने उहाँले बताउनुभयो । “मेरो घरमा सधैँ छोराले मात्रै ट्र्याक्टर जोत्छ ।” छोरा नभएको बेलामा कुटो कोदालोले आफूले खन्ने गरेको उहाँले बताउनुभयो । उहाँले आफ्नोतिर मात्रै नभई माइतीघरमा समेत पुरुषले मात्रै ट्र्याक्टर जोत्ने गरेको बताउनुभयो । “ट्र्याक्टर जोत्न एकदमै सजिलो हुन्छ भन्छन्, थकाइ पनि लाग्दैन रे तर, हामीले भने अनुभव गरेका छैनौँ ।” उहाँले भन्नुभयो ।

खेतमा गोरु जोत्नुभन्दा ट्र्याक्टर जोत्नु धेरै सजिलो हुने कृषक पिठालेककै सुनिल थापाले बताउनुहुन्छ । “मेसिनरी चिज र पशुहरूमा धेरै फरक हुन्छ । गोरुलाई लाइनमा ल्याउनै मुस्किल पर्छ । मान्छे पनि धेरै हुनुपर्छ । ट्र्याक्टर चलाउन भने जसले पनि सक्छ ।”

‘ट्र्याक्टरले उत्पादन घटायो’

हाते ट्र्याक्टरको प्रयोगपछि हलोको भन्दा बढी उत्पादन घटेको कृषक बताउँछन् । देवलकी कृषक लक्ष्मी जोशीले भन्नुभयो, “हाम्रो खेतमा ट्र्याक्टर चलाएको तीन वर्ष भयो । तीनै वर्ष धान उत्पादनमा कमी आयो । गहुँ पनि उत्पादन घटेको छ ।” उहाँले आफ्नो खेतमा तीन कट्ठा गहुँ हुने ठाउँमा अढाइ कट्ठा मात्रै गहुँ उत्पादन भएको सुनाउनुभयो ।

“ट्र्याक्टरले गहिरो भएर हो कि के हो । गोरुले जोतेअनुसारको गहुँ हुँदैन”, खप्तडछान्ना गाउँपालिका–५ कि कविता हमालले भन्नुभयो, “धान भने पहिलेकै जति उत्पादन भइरहेको छ । गहुँमा भने अघिल्ला वर्षहरूको भन्दा उत्पादन केही घट्यो ।” उहाँले हलोले जोतेमा गहिरो हुने र ट्र्याक्टरले जोतेमा मथलो (कम गहिरो) हुने हुँदा उत्पादनमा केही कमी भएको बताउनुभयो । उहाँले भन्नुभयो “हलोले गहिरो खनेर मलभित्र जाने र ट्र्याक्टरले मथलो खनेर गोठे मल सुकेर जाने हुँदा उत्पादनमा कमी आएको हामीले अनुमान गरेका छौँ ।”जयपृथ्वी नगरपालिकाले भने हाते ट्र्याक्टरले नभई अन्य कारणले उत्पादन कम भएको हुनसक्ने दाबी गरेको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button