समाचार

सबै बिरामीको उपचारमा ध्यान दिन काँग्रेसकोआग्रह-GoodNews

Gobal IME Bank

काठमाण्डौ : नेपाली काँग्रेसले कोभिड–१९ को कारण अन्य बिरामी पनि गम्भीर रुपले प्रताडित भइरहेको उल्लेख गर्दै भेन्टिलेटर नपाएर, अस्पताल खोज्दाखोज्दै र सङ्क्रमण आशङ्कामा उपचार नपाएर मृत्यु भएका घटना पटकपटक दोहोरिएको प्रति सरकारले ध्यान दिनुपर्ने जनाएको छ । यस्तो स्थिति दोहोरिन नदिन सरकारको ध्यानाकर्षण गराउँदै काँग्रेसले त्यस्ता सम्पूर्ण घटनाको वास्तविक तथ्य सङ्कलन गर्ने निर्णय गरेको छ ।

पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागको जुम प्रविधिबाट यही भदौ २० र २१ गते बसेको बैठकले कोरोना महामारीका कारण बढ्दो मृत्युु र फैलँदो सङ्क्रमण दृष्टिगत गरेर उच्चस्तरीय सुरक्षा सतर्कताका लागि सबैमा अपिल गर्दै विविध माध्यमबाट सचेतनाको सूचना सम्प्रेषण गर्ने निर्णय गरेको छ । विभागीय प्रमुख एवं पार्टी प्रवक्ता विश्वप्रकाश शर्माका अध्यक्षतामा भएको बैठकले तीनै तहका सरकारलाई नवीन र ऐक्यबद्ध रणनीतिका साथ कोरोना सङ्क्रमणविरुद्ध युद्धस्तरमा कार्य गर्न अपिल गर्दै समुदायस्तरमा सङ्क्रमण फैलिएको तथ्यगत अनुमान गरिएका क्षेत्रमा “एक घर एक परीक्षण” गर्न ध्यानाकर्षण गराउने निर्णय गरेको छ । आइसोलेशन विस्तार गर्दै अत्यावश्यक भेन्टिलेटर तत्काल खरिद गरेर कोभिड अस्पतालको भरपर्दो सुनिश्चितता गर्न गराउन बैठकले सरकारसमक्ष माग गरेको विभागका सचिव दिनेश थापा मगरले जानकारी दिनुभयो । अभावका बीच कोरोना सङ्क्रमणसँग फ्रन्टलाइनमा रहेर सहयोग गरिरहेका देशभरका स्वास्थकर्मीप्रति बैठकले उच्च सम्मान प्रकट गरेको छ । उच्च मानवीय भावनाले कार्य गरिरहेका स्वास्थकर्मीको मनोबललाई असर पुग्ने गरी कहीँ पनि कुनै ढङ्गको गतिविधि हुन नदिन सबैमा बैठकले अपिल गरेको उहाँले बताउनुभयो ।

बैठकले अदालतको आदेश र श्रमिकको पीडा आत्मसात् गरेर विदेशमा अप्ठ्यारामा परेका नेपालीलाई निःशुल्क उद्वारको प्रक्रिया अघि बढाउन सरकारसमक्ष माग गरेको छ । राजधानीलगायत मुलुकका आधा भूभागमा निषेधाज्ञा र लकडाउनका कारण नागरिक जीवन कष्टकर बन्दै गएको उल्लेख गर्दै बैठकले स्थानीय तहमार्फत व्यवस्थित ढङ्गले राहत वितरण गर्ने गरी व्यावहारिक राहत प्याकेज अविलम्ब घोषणा गर्न सरकारलाई अपिल गरेको छ ।

बैठकले कोरोना महामारीका कारण चुनौती ब्यहोरिरहेका सञ्चारमाध्यमलाई संरक्षण गर्न र त्यसमा कार्यरत देशभरका पत्रकार कसैलाई पनि बेरोजगार बन्न नदिने दायित्व निर्वाह गर्न सरकारसँग माग गरेको छ । यसैगरी बैठकले फ्रन्टलाइनमा कार्य गरिरहेका पत्रकारको परीक्षण, सुरक्षा ब्यवस्थापन र उपचारमा विशेष निर्णयका साथ कार्य गर्न समेत सरकारको ध्यानाकर्षण गरएको छ । सरकारले निजी अस्पताललाई समेत पिसिआर परीक्षणको अनुमति दिइसकेका अवस्थामा कोरोनाको बीमा गरेका नागरिकलाई रकम भुक्तानी दिन निश्चित आशंकाकै कारण रोक्नु गलत रहेको ठहर गर्दै बैठकले यसलाई सरलीकरण गरेर कोरोना बीमितलाई भुक्तानी दिलाउन माग गरेको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button