समाचार

हेलम्बुमा स्याउसँगै चिया खेती – Good News 24

Gobal IME Bank

चैतारा । स्याउ उत्पादनमा पहिचान बोकेको हेलम्बुले अब चियामा समेत पहिचान बोक्ने भएको छ ।

हेलम्बुका स्थानीयले बाँझो जग्गामा चिया खेती गर्न थालेपछि गाउँपालिकाले किसानहरु लाई निःशुल्क बिरुवा वितरण गर्न थालेपछि हेलम्बुमा चिया खेतीसमेत विस्तार हुन थालेको छ । दुई वर्षअघिबाट किसानलाई निःशुल्क बिरुवा वितरण गरेर सुरु गरिएको खेती गाउँगाउँमा फैलिएको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताउनुभयो ।

गाउँपालिका अध्यक्ष शेर्पाका अनुसार तीन वर्षअघि हेलम्बुको तिम्बुमा चियाको नर्सरी स्थापना गरी ३३ हजार बिरुवा उत्पादन गरिएको थियो । सुरुमा उत्पादित बिरुवा गाउँपालिकाका सबैजसो वडाका किसानले करिब दुई हेक्टर जमिनमा चिया खेती गरेका थिए । खेर गएको बाँझो जमिनमा चिया खेती सुरु गरेका स्थानीयले थप तीन सय रोपनी जग्गामा खेती विस्तार गर्दै गाउँलाई चियाको पकेट क्षेत्र बनाउने लक्ष्यअनुसार खेती गरिरहेका छन् ।

गाउँका किसानले चिया खेती गर्ने योजना बनाएपछि गाउँपालिकाले कीर्तिपुरस्थित चिया तथा कफी विकास शाखासँग समन्वय गरी स्थलगत सम्भाव्यता अध्ययन गरेको थियो । सातासम्म गरेको अध्ययनबाट समुद्री सतहबाट एक हजार दुईसय मिटरदेखि दुई हजार तीनसय मिटर उचाइसम्म चिया खेती सम्भव हुने पाइएपछि चियाको नर्सरी तयार गरी बिरुवा उत्पादन गरिएको अध्यक्ष शेर्पाले जानकारी दिनुभयो ।

“गाउँमै रोजगारी हुने मात्रै नभई पालिकालाई अर्थतन्त्रमा बलियो बनाउन यसले सहयोग पुर्याउने अपेक्षा छ”, अध्यक्ष शेर्पाले भन्नुभयो, “चिया खेती थप गर्ने क्रममा रहेकाले गाउँमै प्रशोधन केन्द्र स्थापना गर्ने योजना रहेको छ ।” गाउँपालिकाको अन्नबालीको उत्पादन कम हुने क्षेत्रमा नगदेबालीको रुपमा फलफूल तथा अन्य खेतीलाई प्राथमिकता दिने योजनाअनुसार गाउँपालिकामा स्याउ तथा चिया खेती गर्न थालिएको हो ।

यस्तो खेतीबाट गाउँमै रोजगारीको वातावरण सिर्जना गर्दै थप पर्यटन प्रवद्र्धनका लागि गाउँवासीकै सक्रियतामा चिया खेती लगाएको गाउँपालिका कृषि शाखा प्रमुख टोपबहादुर बरुवालले बताउनुभयो । हेलम्बु गाउँपालिकाको सहयोगमा अर्थोडक्स चिया लगाइएको हो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button