समाचार

इन्डोनेसियाको बारेमा रोचक तथ्यहरु…

Gobal IME Bank

एजेन्सी । इन्डोनेसियालाई विश्वकै एक अद्भुत र सहनशील देश मानिन्छ। यो १७ हजार ५ सय भन्दा बढी टापुहरू मिलेर बनेको अत्यन्तै सुन्दर र आकर्षक देश हो । इन्डोनेसियालाई द्विपहरूको राजा भन्दा पनि गलत हुँदैन, किनभने यो देश द्विप नै द्विपले बनेको छ ।

इन्डोनेसिया विश्वको चौथो धेरै जनसंख्या भएको र सबैभन्दा धेरै मुस्लिम धर्मावलम्बिको बसोबास भएको देश हो । यो देशको जनसंख्या करिब २८ करोड छ । इन्डोनेसियाको क्षेत्रफल १९ लाख ४ हजार ५५९ वर्गकिलोमिटर रहेको छ । यो देशको जमिनको सीमा मलेसियादेखि पपुवा न्युगिनी हुँदै दक्षिणमा पूर्वी टिमोरसम्म फैलिएको छ । यसका अलावा सिंगापुर, फिलिपिन्स, अस्ट्रेलिया र भारतको अण्डमान निकोबार द्विप क्षेत्रसँग पनि यो देशको समुन्द्रको सीमा जोडिएको छ ।

इसापूर्व चौथो शताब्दीदेखि नै इन्डोनेसिया एक महत्वपूर्ण व्यापारिक क्षेत्र रहेको विश्वास गरिन्छ ।

बुनी अथवा मुनि सभ्यता इन्डोनेसियाको सबैभन्दा पुरानो सभ्यता मानिन्छ । इन्डोनेसियामा हिन्दू र बौद्ध धर्म मान्ने चलन थियो र ऋषि परम्पराको अनुकरण गरिन्थ्यो । यो देशमा लामो समयसम्म हिन्दू राजाको शासन गरेका थिए यसको प्रमाण इन्डोनेसियामा प्रशस्त पाइन्छ ।

इन्डोनेसियाका धेरै स्थानको नाम अरबी र संस्कृत भाषामा राखिएका छन् । अझै पनि कतिपय स्थानमा कुरानलाई संस्कृत भाषामा पढ्ने गरिन्छ । यो देश केही समय युरोपेली देशको उपनिवेश समेत बन्यो ।

यो देशको राजधानी जकार्ता हो । जकार्ता इन्डोनेसियाको सबैभन्दा ठूलो शहर पनि हो । साथै यो शहर जापानको टोकियोपछि संसारको दोस्रो धेरै जनसंख्या भएको भएको शहर पनि हो । जमिन मुनिको पानी तान्ने क्रमसँगै जकार्ता विस्तारै समुद्रमा डुब्दै गएपछि इन्डोनेसियाले राजधानी नै बोर्नेओ टापुमा सार्ने तयारी गरिरहेको छ ।

साक्षरताको कुरा गर्ने हो भने यो देशमा ९६ प्रतिशत मानिसहरू शिक्षित छन् । इन्डोनेसियामा ८७ प्रतिशत मानिसहरू इस्लाम धर्म मान्छन् । तर इन्डोनेसियालाई संवैधानिक रुपमा इस्लामिक देश भनिदैन ।

यहाँ मानिसमा आफ्नो धर्म र संस्कृतिको अद्भुत संगम देख्न पाइन्छ । इन्डोनेसियामा हिन्दुहरूको संख्या १.५ प्रतिशत छ । तर आश्चर्यको कुरा के छ भने यहाँका मानिसले रामायण, महाभारतजस्ता हिन्दु धर्मग्रन्थलाई आफ्नो संस्कृतिको हिस्सा मान्छन् ।

इन्डोनेसिया यस्तो देश हो, जहाँ धर्मभन्दा बढी संस्कृतिलाई महत्व दिइन्छ । यसैकारण नै इन्डोनेसियामा सबै धर्मलाई उत्तिकै सम्मानपूर्वक हेर्ने गरिन्छ ।

इन्डानेसिया पृथ्वी मुनि रहेका टेक्टोनिक प्लेटमा पर्ने देश भएकाले धेरै भौगर्भिक गतिविधिहरू हुन्छन् । इन्डोनेसियामा ४ सयभन्दा बढी सक्रिय ज्वालामुखी छन् । त्यसैकारण इन्डोनेसियालाई खतरनाक क्षेत्र पनि मानिन्छ । यहाँका सबैभन्दा ठूला ज्वालामुखी केलड र मेरापी हुन् । जुन जाभा द्विपमा रहेका छन् । यी दुई ज्वालामुखीबाट इन्डोनेसियामा हालसम्म हजारौं मानिसको मृत्यु भइसकेको छ ।

मुस्लिम बहुल देश हुनुका बावजुद इन्डोनेसियामा सबैभन्दा ठूलो बुद्ध मन्दिर पनि छ । जसको नाम बोरोबुदुर हो । यो पनि जाभा टापुमा नै रहेको छ । यो युनेस्कोको विश्व सम्पदा सूचीमा समेत सूचीकृत छ ।

इन्डोनेसियामा संसारकै सबैभन्दा ठूलो फूल पनि पाइन्छ । यसलाई त्यहाँ रेफ्लेसिया भनिन्छ । यो सुगन्धित नभए पनि हेर्नमा अत्यन्तै आकर्षक हुन्छ । यसको तौल ६ किलोसम्म हुन्छ ।

इन्डोनेसियामा नै संसारको सबैभन्दा ठूलो गोहोरो पाइन्छ । जसको नाम कोमोडो ड्रयागन हो । यो गोहोरो इन्डोनेसियाको राष्ट्रिय जनावर पनि हो । तीनदेखि ४ फिटसम्म लामो यो गोहोरो उत्तिकै विशालु पनि हुन्छ । यसले मान्छेलाई समेत मारेर खानसक्छ ।

इन्डोनेसियामा रहेका साढे १७ हजारमध्ये सबैभन्दा लोकप्रिय टापु बाली हो । बाली एक मात्र यस्तो टापु हो, जहाँ हिन्दूहरूको संख्या सबैभन्दा बढी छ । इन्डोनेसियाको अर्थतन्त्रको सबैभन्दा ठूलो भूमिका पर्यटनको छ जसमा बाली टापु एक्लैको योगदान करिब ४५ प्रतिशत रहेको छ । बाली द्विपमा घुम्नका लागि धेरै राम्रा राम्रा स्थान छन् । प्रकृतिले यो टापुलाई अत्यन्तै सुन्दर बनाएको छ । यो टापुमा उलुवाटु मन्दिर, गरुढ विष्णु, सरस्वती मन्दिर, मङ्की फोरेस्ट, गोवा गजाह, ब्रोकेन विच जस्ता धार्मिक तथा पर्यटकीय स्थलहरू रहेका छन् ।

बाली शहर धेरै प्रकारका परम्परागत खानाहरूका लागि पनि परिचित छ । यदि तपाईं सूर्योदयको दृश्य हेर्न सौखिन हुनुहुन्छ भने सबैभन्दा उपयुक्त स्थान माउन्ट बतुर हो । यो एक सक्रिय ज्वालामुखी भएको पहाड पनि हो । बाली आउने हरेक पर्यटकले यी दृश्य हेर्ने गर्छन् । जसका लागि दुई घन्टाभन्दा बढी हिँडेर पहाडमा चढ्नुपर्छ । यहाँको सूर्योदय मनमोहक मात्रै छैन, संसारमै चर्चित पनि छ ।

यहाँको तीर्थ एम्पुल टेम्पल होली स्ट्रिम वाटरका लागि संसारभर प्रशिद्ध छ । पर्यटकहरूले यहाँ स्नान गर्छन्, यहाँ स्नान गर्दा उनीहरूको शरीरमा भएका सबै रोग निको हुन्छन् भन्ने विश्वास छ । यहाँका मानिसहरूले यसलाई पवित्र स्थानका रुपमा मान्छन् ।

इन्डोनेसियाले संसारको सबैभन्दा धेरै पाम फ्रुटको उत्पादन गर्छ । जसबाट पाम तेल बनाइन्छ । त्यसैले इन्डोनेसिया संसारको सबैभन्दा ठूलो पाम तेल निर्यात गर्ने देश पनि हो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button