समाचार

मास्क सिलाउन व्यस्त महिला-Goodnews24

Gobal IME Bank

बनेपा-धुलिखेल नगरपालिका–६ का सुनिता कर्माचार्य व्याञ्जु अहिले मास्क सिलाउन व्यस्त हुनुहुन्छ । बिहानदेखि बेलुकासम्ममा उहाँले करिब ७०÷८० सम्म मास्क सिलाउनुहुन्छ । एक हप्ता अगाडिदेखि उहाँले दैनिक रुपमा त्यसरी नै मास्क सिलाउँदै आउनुभएको छ ।

यसअघि उहाँले पुनः प्रयोगमा ल्याउन मिल्ने स्यानेटरी प्याड सिलाउने गर्नुहुन्थ्यो । पछिल्लो समयमा कोरोना कोभिड–१९ का कारण मास्कको माग बढी भएपछि अहिले मास्क सिलाउने काममा लागिरहनुभएको हो । धुलिखेल उद्योग वाणिज्य सङ्घको व्यवस्थापनमा मास्क उत्पादनको कार्यलाई अगाडि बढाएपछि उहाँ मास्क सिलाउने काममा व्यस्त हुनुहुन्छ । पहिला पनि सिलाइ नै गरिरहनुभएकी उहाँले उद्योग वाणिज्य सङ्घले मास्क उत्पादन गर्न सिलाइको काम थालनी गरेपछि त्यतातिर लागेको बताउनुभयो ।

धुलिखेल नगरपालिका–७ का यशोधा श्रेष्ठ उत्पादन गरेको मास्क फिनिसिङ गर्ने र प्याकिङ गर्ने काम गर्नुुहुन्छ । सबै जनाले एक हप्ताको तालीम लिएपछि निरन्तर मास्क सिलाइको काममा लाग्दै आएको उहाँले बताउनुभयो । शुरुमा दिनको दुई÷तीन सय उत्पादन भएको थियो । अहिले पाँच सयदेखि ५५० पिससम्म उत्पादन भएको छ । उत्पादन भएको मास्क अस्पताल र अन्य ठाउँमा बिक्री गर्ने गर्नुहुन्छ । उहाँले भन्नुभयो, “निरन्तर रुपमा १३ जनाले काम गर्दै आउनुभएको छ ।” धुलिखेल नगरपालिकाभित्रका विभिन्न वडाका महिला बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म सिलाइमा व्यस्त हुनुहुन्छ । बिहान बेलुका घरको काम गर्ने र दिउँसो मास्क सिलाइ गरेर आम्दनी गर्दै आएको उहाँहरुको भनाइ छ ।

उद्योग वाणिज्य सङ्घले मास्क उत्पादन गर्ने कार्यलाई अगाडि बढाएपछि अहिले उहाँ जस्तै १३ जना महिला निरन्तर सो काममा लागिरहनुभएको छ । त्यसको लागि आवश्यक व्यवस्थापन धुलिखेल उद्योग वाणिज्य सङ्घले गरिरहेको छ । उहाँहरुले सर्जिकल मास्क र एन ९५ गरी दुई थरिको मास्क उत्पादन गरिरहनुभएको छ । मागको आधारमा काम गर्ने उहाँहरुले कहिले व्यक्तिगत सुरक्षा सामग्री (पिपिइ) त कहिले मास्क सिलाइ गर्दै आउनुभएको छ ।

धुलिखेल उद्योग वाणिज्य सङ्घका अध्यक्ष मञ्जुकुमार कोजूले कोरोनाका कारण मास्कको माग धेरै भएपछि आफ्नै स्थानीय उत्पादनबाट रोजगार पनि हुने र समयको पनि सही सदुपयोग हुने भएकाले मास्क उत्पादन कार्यलाई व्यवस्थापन गर्दै आएको बताउनुभयो । उत्पादन भएका बस्तु काठमाडौँ विश्वविद्यालय र अस्तापलले खरिद गर्ने सहमति गरेपछि अहिले उत्पादन भएको पिपिइ र मास्क काठमाडौँ विश्वविद्यालयले नै खरिद गर्दै आएको उहाँले बताउनुभयो ।

त्यसबाहेक बढी उत्पादन भएको बस्तुलाई केयू, रोटरी क्लब अफ धुलिखेल र उद्योग वाणिज्य सङ्घको सहकार्यमा नै बजारीकरण गर्ने सहमति भएकाले उत्पादन भएको सामग्री बिक्री नभइ समस्या आउने अवस्था नरहेको अध्यक्ष कोजुले बताउनुभयो । होटल, विद्यालयलगायत सङ्घ÷संस्थासँग सहकार्य गरेर उत्पादन भएको वस्तुलाई बजारीकरणका लागि कुनै समस्या नहुने उहाँको भनाइ छ । त्यसको लागि बजारमा प्रतिस्पर्धाको रुपमा जानसक्ने गरी काम गर्न वाणिज्य सङ्घले आवश्यक समन्वयको काम गरिरहेको छ ।

अहिलेसम्म कच्चापदार्थ काठमाडौँ विश्वविद्यालयले उपलब्ध गराउँदै आएको छ । यसअघि पनि सङ्घले मासिक रु नौ हजार तलब दिएर स्यानेटरी प्याड उत्पादन गर्दै आएको थियो । अहिले भने मासिक तलब निर्धारण गर्न बाँकी रहेको सङ्घले जनाएको छ । महिलाको रोजगारीलाई निरन्तरता दिनका लागि अब भोलिको दिनमा एप्रोन, विद्यालयका पोशाकसमेत सिलाइ गर्ने उद्देश्य रहेको सङ्घका अध्यक्ष कोजुले बताउनुभयो ।

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”6152″] [irp posts=”6192″] [irp posts=”6588″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button