मुख्य समाचारसमाचार

मेलम्ची खोलाको पानी काठमाडौँ ल्याउँदा दिइने लेबी टुङ्ग्याउने तयारी

Gobal IME Bank

काठमाडौँ । मेलम्ची नदीबाट खानेपानी ल्याएबापत त्यस क्षेत्रलाई तिरिने रकम (लेबी) टुङ्गाउन तयारी अघि बढाइएको छ । खानेपानी महसुल निर्धारण आयोग बन्न लागेको र लेबीको विषय पनि त्यसमै समेटिने खानेपानी मन्त्रालयका प्रवक्ता शोभाकान्त पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार खानेपानी महसुल निर्धारण ऐनमा आयोगको व्यवस्था रहेको र त्यसले नै लेबीको विषय टुङ्गो लाउने उहाँले बताउनुभयो । प्रवक्ता पौडेलले भन्नुभयो, “मन्त्रालयले आवश्यक तयारी गरिरहेको छ । लेबी तत्काल आजको भोलि लागू गरिहाल्ने विषय नभएकाले पर्याप्त छलफल र तयारी गरेर मात्र कार्यान्वयन गराइनेछ ।”

राजस्वको विषयमा सरकारले स्थानीय तह, प्रदेश र सङ्घलाई कति र कसरी उपलब्ध गराउने भनी राष्ट्रिय प्रकृति स्रोत तथा वित्त आयोगसँग पनि छलफल गर्नुपर्ने उहाँको भनाइ थियो । राजस्व निर्धारण गर्ने विषय ऐनमा प्रष्ट उल्लेख भएकाले सोही आयोगले लागू गर्ने प्रवक्ता पौडेलले बताउनुभयो । उहाँका अनुसार अहिले दैनिक रु १७ करोड लिटर पानी ल्याइएको र त्यसबापतको रकम सम्बन्धित पक्षले पाउनेछ । भविष्यमा दैनिक ५१ करोड लिटर पानी आएपछि त्यसको पनि भुक्तानी दिइने छ । दातृ निकायबाट सञ्चालित आयोजनामा लाभको केही भाग स्थानीयस्तरमा दिनुपर्छ भन्ने मान्यता रहँदै आएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताउनुभयो ।

खानेपानी आयोजना बन्दा स्थानीय क्षेत्रको पनि लाभ होस् र जलाधार क्षेत्रको पनि संरक्षणको मान्यता राखिएको र सोही आधारमा लेबी उपलब्ध गराइने उहाँले बताउनुभयो ।

मेलम्ची खानेपानी आयोजनामा स्थानीयस्तरमा दिइने लेबीका लागि बनाइएको खाका स्वीकृतिको क्रममा रहेको उहाँले बताउनुभयो । आयोजना सम्पन्न भएर पानी पूरै ५१ करोड लिटर आएपछि खुद नाफाबाट केही रकम दिइने प्रवक्ता पन्तले बताउनुभयो । अझै आयोजना सम्पन्न भइनसकेर निर्माण काम भइरहेको छ ।

आयोजना सुरु भएपछि नै स्थानीय क्षेत्रका लागि विभिन्न काम भइरहेको जनाइएको छ । आयोजनाले सामाजिक विकास, भौतिक विकासलगायत क्षेत्रमा लगानी गरिरहेको छ । अहिले मेलम्ची नदीबाट मात्रै पानी ल्याइएकामा आयोजना सम्पन्न हुँदा लार्के र याङ्ग्री नदीबाटसमेत पानी काठमाडौँ ल्याइने भएको छ । आयोजनास्थल हेलम्बु गाउँपालिकामा पर्छ भने मेलम्ची खानेपानी विकास समितिको कार्यालय मेलम्चीमा रहेको छ ।

वर्षायाममा बन्द गरिएको उक्त आयोजनाको खानेपानी वितरण गत मङ्सिर २३ गतेदेखि पुनः सुरु भएको थियो ।अहिले आएको पानी झण्डै छ महिनासम्म वितरण गर्न सकिने आयोजनाले बताउँदै आएको छ ।

विसं २०७७ चैतमा पहिलोपटक मेलम्चीको पानी अस्थायी रुपमा काठमाडौँ उपत्यकामा वितरण गरिएको थियो । वि. सं २०७८ असार १ मा मेलम्ची खोलामा आएको बाढीका कारण त्यो वर्ष लामो समय पानी वितरण हुनसकेको थिएन । मर्मत गरेर पहिलो पटक वितरण गरिएको झण्डै एक वर्षपछि गतवर्ष चैतमा दोस्रोपटक पानी वितरण गरिएको थियो । वर्षा सुरु भएसँगै सुरुङमा क्षति नपुगोस् भनी बन्द गरिएकोमा वर्षा सकिएपछि अहिले पुनः वितरण भइरहेको छ । तटीय क्षेत्रमा सुधारका काम नगरेसम्म वर्षमा पानी ल्याउन सकिने अवस्था नभएको समितिले बताउँदै आएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button