मनोरञ्जनमुख्य समाचारसमाचार

विश्वका नेपाली प्रतिभा काठमाडौँमा, गायन र नृत्यका अडिसन सुरु

Gobal IME Bank

काठमाडौँ । ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’मा प्रतिस्पर्धा गर्न संसारभरबाट छानिएका नेपाली कलाकार काठमाडौँ आइपुगेका छन् ।

इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको आयोजनामा काठमाडौँमा सुरु ‘साइटलेस अडिसन’मा भाग लिन विभिन्न महादेशका ५० भन्दा बढी देशबाट पहिलो चरणमा छानिएका नेपाली प्रतिभा काठमाडौँ आइपुगेका हुन् ।

फाउण्डेसनका अनुसार गायनतर्फको साइटलेस अडिसन आइतबारदेखि सुरु भएको छ । गायनतर्फ एक सय ४० र नृत्यतर्फ एक सय २० नेपाली प्रतिभा फिल्ड अडिसनबाट छनोटमा परेका थिए । यीमध्ये अधिकांश प्रतिभा काठमाडौँ आइपुगेको फाउण्डेसनले जनाएको छ ।

अमेरिका र क्यानडाको फिल्ड अडिसन अमेरिका, युरोपको बेल्जियम, मध्यपूर्वको दुवइ, पूर्वी एशियाको बैंकक, अष्ट्रेलियाको सिड्नी र भारतको सिलिगुडीमा अन्तर्राष्ट्रिय फिल्ड अडिसन सम्पन्न भएका थिए भने नेपालका बुटवल, नेपालगञ्ज, दमक र काठमाडौँमा फिल्ड अडिसन भई प्रतिभा छनोट गरिएका थिए ।

गायनतर्फ अमेरिका र क्यानडाबाट १५, युरोपबाट पाँच, अष्ट्रेलियाबाट सात, पूर्वी एशियाको थाइल्याण्ड, फिजी, म्यानमारलगायतबाट आठ, मध्यपूर्वका खाडी मुलुकबाट सात, भारतबाट ३३ जना तथा नेपालका नेपालगञ्जबाट सात, बुटवलबाट नौ, दमकबाट २१ र काठमाडौँबाट २८ जना प्रतिभा साइटलेस अडिसनका लागि काठमाडौँ आइपुगेका छन् ।

झण्डै यतिकै सङ्ख्यामा नृत्यका प्रतिभा पनि ती देशबाट काठमाडौँ आएका छन् । उनीहरुलाई काठमाडौँका विभिन्न होटलमा राखिएको फाउण्डेसनले जनाएको छ । संसारभरका विभिन्न देश पुगेर त्यहाँका नेपाली प्रतिभालाई पहिचान गरी नेपाली गीत र नृत्यको प्रतिस्पर्धामार्फत उत्कृष्ट प्रतिभाको छनोट गर्ने मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स कार्यक्रमले नेपालीभाषी समुदायलाई आफ्नै संस्कृतिको एक सूत्रमा बाँध्ने प्रयास गरेको फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले जानकारी दिनुभयो ।

नेपाली मूलका भुटानी अमेरिकन युवा व्यवसायीले नेपाली भाषा र संस्कृतिको संरक्षण एवं प्रवद्र्धन गर्ने उद्देश्यले स्थापना गरेको फाउण्डेसनले ‘मेरो भ्वाइस युनिभर्स’का लागि प्रख्यात गायक दीप श्रेष्ठलाई निर्णायक नियुक्त गरेको छ । श्रेष्ठसँगै सङ्गीतकार सुरेश अधिकारी, गायक शिव परियार, पुष्पन प्रधान र गायिका अन्जु पन्त र सुजाता बर्मा निर्णायक छन् ।

त्यसैगरी नृत्यतर्फ मिथिला शर्मा, शङ्कर विसी, नायक दिलीप रायमाझी, नायिका केकी अधिकारी र प्रियङ्का कार्की, नरमान राई निर्णायकका रुपमा अनुबन्धित भएका छन् । फिल्ड अडिसनबाट छानिएर आएका प्रतिस्पर्धीबाट आइतबारदेखि सुरु भएको साइटलेस अडिसनले ५० जनाको छनोट गर्ने जानकारी अध्यक्ष अधिकारीले बताउनुभयो ।

गायक श्रेष्ठसहितका गायन र नृत्यका निर्णायकलाई नियुक्ति गर्ने कार्यक्रममा अध्यक्ष अधिकारीले संसारभरका नेपाली प्रतिभालाई पहिचान गरी पितृभूमि नेपालमा ल्याएर प्रतिस्पर्धाको अवसर दिन पाएकोमा गर्वको अनुभूति भएको बताउनुभयो । उहाँले निर्णायकबाट निष्पक्षरुपमा निर्णय हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

नेपाली सांस्कृतिक एकता कायम गर्नसके आफ्नो पुर्खाको देशसँग विदेशमा बस्ने नेपालीलाई पुस्तौँपुस्तासम्म जोड्न सकिने र यसले आफ्नो पहिचानमा गर्व गर्न सकिने वातावरण बन्दै जाने विश्वास पनि अध्यक्ष अधिकारीले बताउनुभयो । काठमाडौँमा आयोजित एक समारोहमा वरिष्ठ गायक दीप श्रेष्ठ तथा फाउण्डेसनका नेपाल अध्यक्ष दिलीप रायमाझीले निर्णायकलाई अनुबन्ध गर्ने सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो । यस कार्यक्रमका प्रस्तोतामा अभिनेत्री रिमा विश्वकर्मा, कलाकार सन्दीप क्षेत्री, सञ्चारकर्मी नरेश भट्टराई र सुनिता गुरुङ हुनुहुन्छ ।

गायन र नृत्य प्रतियोगितामा छानिएकामध्ये प्रथम हुनेले जनही रु एक करोड, दोस्रो हुनेले रु ३० लाख र तृतीय हुनेले रु २० लाख पुरस्कार प्राप्त गर्ने छन् । त्यस्तै सामूहिक नृत्यमा पनि अलग्गै पुरस्कारको व्यवस्था रहेको छ ।

प्रतिभाको छनोट निष्पक्षरुपमा होस् भनेर यो अडिसनमा निर्णायकले प्रतिस्पर्धीलाई देख्न नपाउने र प्रतिस्पर्धीले पनि छनोटमा नपरेसम्म निर्णायकलाई देख्न नसक्ने गरी डिजाइन गरिएको छ ।

प्रतिस्पर्धाका मेरो भ्वाइस युनिभर्स कार्यक्रम नेपाल टेलिभिजन राष्ट्रिय प्रसारणबाट र मेरो डान्स युनिभर्स एनटिभी प्लसबाट प्रत्यक्ष प्रसारण गरिने आयोजक संस्थाले जनाएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button