अन्यसमाचार

म्याग्दीको पश्चिम क्षेत्रमा सात पक्की पुल बन्दै -GoodNews24

Gobal IME Bank

बेनी । म्याग्दीको पश्चिम क्षेत्रमा पर्ने म्याग्दी खोला भेगमा पक्की पुल निर्माणले तीव्रता पाएको छ । ग्रामीण बस्ती र स्थानीय तहहरुको केन्द्र जोड्ने गरी सङ्घीय र प्रदेश सरकारले सात स्थानमा मोटरेबल पुल निर्माण गर्न थालेका हुन् । केही वर्षभित्र ती स्थानमा पक्की पुल निर्माण भई बस्तीहरु सडक सञ्जालसँग सिधा जोडिनेछन् ।

सङ्घीय सरकारअन्तर्गत रहेको सडक डिभिजन कार्यालय बागलुङले म्याग्दी खोलामा दुई पक्की पुल निर्माण गर्दैछ भने प्रदेशअन्तर्गत रहेको भौतिक पूर्वाधार विकास कार्यालय म्याग्दीद्वारा पाँच स्थानमा पुल निर्माण हुनेछन् । बेनी नगरपालिका–४ सिङ्गादेखि मङ्गला गाउँपालिका–३ वरङ्जालाई जोड्ने गरी निर्माण गर्न लागिएको पुलले वरङ्जाको बस्तीलाई सडक सञ्जालसँग जोड्ने छ ।

एक वर्षअघि सडक डिभिजन कार्यालय बागलुङले ठेक्कामार्फत निर्माण थालेको उक्त पुलको अहिलेसम्म ४५ प्रतिशत भौतिक प्रगति भएको छ । कूल लागत रु १० करोड ७२ लाख १२ हजार ४०३ मा लुम्बिनी प्राकृतिक जेभीसँग विसं २०७७ जेठ २५ मा सक्ने गरी २०७५ जेठ २५ मा ठेक्का सम्भौता भएको सडक डिभिजन कार्यालय बागलुङका इञ्जिनीयर तथा सूचना अधिकारी मुकुन्दप्रसाद लामिछानेले जानकारी दिनुभयो ।

यसैगरी मङ्गला गाउँपालिकाको केन्द्र बावियाचौरदेखि वडा नं ५ अर्मनलाई सडक यातायातसँग जोड्ने गरी रु ११ करोड २४ लाख २५ हजार ५२ मा म्याग्दीखोलामा पक्की पुल निर्माण थालिएको छ । दुई वर्षमा सक्ने गरी २०७५ पुस २५ गते लुम्बिनी प्राकृतिक जेभीसँग ठेक्का सम्झौता भएको सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ । कार्यालयका अनुसार यो पुलको भौतिक प्रगति ४० प्रतिशत छ ।

पुल निर्माणपछि अर्मनको ठूलो बस्ती सडक सञ्जालसँग सिधा जोडिने छ । अर्मनमा उत्पादन भएको कृषि उपजलाई बजारसम्म पु¥याउन र स्थानीयवासीहरु आवतजावत गर्न सहयोग पुग्ने वडाध्यक्ष भूपेन्द्र खत्रीले बताउनुभयो । साथै यो पुलबाट बागलुङको ताराखोलासम्मका स्थानीयवासी पनि लाभान्वित हुनेछन् ।

यसैगरी धवलागिरि र मालिका गाउँपालिकाको सिमानामा दुई मोटरेबल पुल निर्माण थालिएको छ । प्रदेश सरकारअन्तर्गतको पूर्वाधार विकास कार्यालय म्याग्दीले भारवाङको म्याग्दीखोला र फेदीको दाङखोलामा मोटरेबल पुल निर्माण थालेको हो । मालिका–७ भारवाङ र धवलागिरि–७ बगरको सिमानाको म्याग्दीखोलामा ४० मिटर लामो पुल बन्ने छ ।

मालिका–५ र धवलागिरि–७ को सिमाना फेदीखोलामा १८ मिटर लामो पुल निर्माण हुनलागेको हो । भारवाङको पुल निर्माणका लागि देव एण्ड सायर बिएन जेभीले रु छ करोड २४ लाख २३ हजारमा ठेक्का लिएको छ । यस्तै फेदीखोलाको पुल बनाउन इन्द्रेणी फेवा जेभीले एक करोड ९३ लाखमा ठेक्का सम्झौता भए पनि निर्माणाधीन जलविद्युत् आयोजनाका कारण समस्या भएकाले पुलको पुनः डिजाइन गरी निर्माणकार्यलाई अगाडि बढाउने तयारी भएको कार्यालय प्रमुख सिनियर डिभिजनल इञ्जिनीयर ओमराज ढुङ्गानाले जानकारी दिनुभयो ।

उहाँका अनुसार भारवाङघाटको पुल १८ महिनामा सक्ने गरी ठेक्का सम्झौता भई कार्यस्थलमा निर्माण कम्पनी खटिएको छ । बेनी–दरवाङ–बिम–ताकम–मुना–जलजला–ढोरपाटन सडक आयोजनाअन्तर्गत दरवाङदेखि बिम हुँदै मुनासम्म सडक निर्माण भएको छ । पुल निर्माण भएपछि दरवाङदेखि मुनासम्म सिधा सडक यातायात सञ्चालन हुनेछ । दाङखोलामा बन्ने पुलले ताकमको ठूलो बस्तीलाई सडक सञ्जालसँग जोड्न सहयोग मिल्ने छ ।

बिमदेखि मराङ जोड्ने अर्कलामा पक्की पुल बन्ने भएको छ । पुलको डिजाइन स्टिमेट तयार भएको कार्यालयले जनाएको छ । यसैगरी छिसबाङको बस्तीलाई मालिका गाउँपालिकाको केन्द्र दरवाङसँग जोड्न छ्याछ्यारेस्थित म्याग्दीखोलामाथि पक्की पुल निर्माणका लागि पनि डिजाइन स्टिमेट तयार भएको छ । यता बेनी नगरपालिका सिङ्गादेखि आगेबगर जोड्नका लागि म्याग्दी खोलामा पक्की पुल बनाउनका लागि डिजाइन सर्भेको काम अगाडि बढेको कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनीयर ढुङ्गानाले जानकारी दिनुभयो ।

ग्रामीण बस्तीलाई सडक सञ्जालसँग जोड्ने गरी आवश्यक पर्ने स्थानमा पक्की पुल निर्माणका लागि जिल्लाले सिफारिस गरी पठाएका योजनालाई सङ्घ र प्रदेश सरकारले प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले बताउनुभयो । पुल निर्माणले ती बस्तीको जीवनयापनमा सकारात्मक परिवर्तन आउने र आर्थिक विकासमा टेवा मिल्ने उहाँको भनाइ छ ।

यो पनि पढ्नुहोस् ..

[irp posts=”2573″] [irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3790″] [irp posts=”3875″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button