मुख्य समाचारसमाचार

स्थिर समयमा प्रचारप्रसारसँग सम्बन्धित कुनैपनि गतिविधि गर्न नपाइने

Gobal IME Bank

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन हुनुभन्दा ४८ घण्टा अघिबाट निर्वाचन प्रचारप्रसारसँग सम्बन्धित कुनैपनि गतिविधि गर्न नपाइने बताएको छ ।

आयोगले निर्वाचन कसुर तथा सजाय ऐनको दफा २४ को ५ ले निर्वाचन हुनुभन्दा ४८ घण्टा अघि निर्वाचन प्रचारप्रसारका कुनैपनि गतिविधि गर्न नपाउने उल्लेख गरेको भन्दै आसन्न निर्वाचनका उम्मेदवार र कार्यकर्ताहरुलाई यस बारेमा पुनः सचेत गराएको हो । मंगलवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै निर्वाचन आयोगका निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदान अघिका ४८ घण्टामा निर्वाचन प्रचारप्रसार सम्बन्धी कुनैपनि कार्यक्रम गर्न नपाउने बताउनु भयो ।

उहाँले विगतमा आयोगले मौन अवधि तोक्ने गरेको तर यस वर्ष भने मौन अवधि नरहेकाले र यस समयलाई स्थिर समयको रुपमा प्रयोग गर्नुपर्ने बताउनु भयो । उहाँले मंसिरको १ गते राति १२ बजेबाट निर्वाचनको प्रचारप्रसार सम्बन्धी सम्पूर्ण कामहरु निषेध हुने बताउनु भयो । उहाँले कुनैपनि प्रकारको निर्वाचनसम्बन्धी प्रचारप्रसार गरेको पाइए निर्वाचन कसुर तथा सजाय ऐनअनुसार कारबाही गर्ने चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘निर्वाचन कसुर तथा सजाय ऐनको दफा २४ को ५ ले निर्वाचन हुनुभन्दा ४८ घण्टा अघिदेखि निर्वाचनसँग सम्बन्धित कुनैपनि कार्यक्रमहरु गर्न पाइँदैन । सम्पूर्ण कार्यक्रम निषेध गर्दछ । विगतमा हाम्रो अभ्यासलाई हेर्दा यसलाई मौन अवधि भनेर सम्बोधन गरेको रहेछ । बीचमा हामीले कहाँ छ मौन अवधि भनेर हेर्दा कतै पनि भेटेनौँ । त्यसैले हामीले त्यसलाई मौन अवधि भनेर मानेनौँ । केही ठाउँमा यो भन्दाअघि शुन्य समय भन्यौँ । ४८ घण्टाको समय भनेको स्थिर समय भनेर सम्बोधन गर्न उचित हुन्छ । मंसिरको १ गते राति १२ बजेबाट निर्वाचनको प्रचारप्रसार सम्बन्धी सम्पूर्ण कामहरु निषेध हुन्छ । कुनैपनि प्रकारको प्रचारप्रसार सम्बन्धी वा यसलाई मत देउ, यसलाई नदेउ भनेर निर्वाचनको सन्दर्भमा स्थिर समयमा कुनै दलका नेतालाई भोट देउ, नदेउ भन्न पाइँदैन । यदी कसैले प्रचारप्रसार गर्यो भने यो निर्वाचन कसुर तथा सजाय ऐनले गम्भीर प्रकृतिको कसुर मान्छ । कडा नै सजाय मान्छ ।’

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन आसन्न मंसिर ४ गते एकै चरणमा हुँदैछ । आयोगले आसन्न निर्वाचनका लागि आफ्नो तयारी अन्तिम चरणमा पुगेको समेत बताएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button