मुख्य समाचारसमाचार

प्रतिनिधि सभा बैठकः कुन कुन सांसदले के के भने ? – Good News 24

Gobal IME Bank

काठमाडौं प्रतिनिधि सभा सदस्य कमला रोक्काले उत्तरगंगा जलाशय आयोजनालाई ढोरपाटनको प्राकृतिक सौन्दर्य नबिगारी अगाडी बढाउन माग गर्नुभएको छ ।

शुक्रवारको प्रतिनिधि सभा बैठकमा समय माग गरी बोल्दै सांसद रोक्काले उत्तरगंगा जलाशय आयोजनालाई ढोरपाटनको प्राकृतिक सौन्दर्य नबिगारी अगाडी बढाउन माग गर्नुभएको हो । उहाँले पानीको वहाव बग्नेतिर नै आयोजनालाई अगाडी बढाउनुपर्ने बताउनु भयो । उहाँले ढोरपाटन आरक्षणमा नेपाली सेनाले नियम, कानूनलाई मिचेर स्थानीय जनतालाई सताएको भन्दै सदनमा जानकारी गराउनु भयो । उहाँले भन्नुभयो – ‘हामीले बारम्बार यसको विषयमा कुरा उठाएका छौँ । सुन्दर ढोरपाटन जो प्राकृतिक हिसावले यसलाई नबिगारेर जुन पानीको वहाव बग्नेतिर यसको आयोजना अगाडी बढाउनुपर्छ भनेर रुकुमपूर्वको जनता र ढोरपाटनका जनताले बारम्बार यो विषयलाई अगाडी बढाइराखेको छ । त्यसैले रणनीतिक महत्वको जुन पानीको वहाव बग्नेतिर यो आयोजनालाई अगाडी बढाउनका निम्ति म सम्बन्धित मन्त्रालयलाई भन्न चाहन्छु । ढोरपाटन आरक्षणमा अहिले नेपाली सेनाले नियम, कानूनलाई मिचेर त्यहाँका जनतालाई बारम्बार सताएको संसदमा जानकारी गराउन चाहन्छु ।’

प्रतिनिधि सभा सदस्य डा. डिला संग्रौला पन्तले आगामी निर्वाचनमा जितेर आउनेहरुले जनताको पीर, मर्का र राष्ट्रको वृहत हितलाई ध्यानमा राखेर काम गर्न आग्रह गर्नुभयो । उहाँले संसदको कार्यकालमा आफुहरुले उठाएका कुराहरु कार्यान्वयन भए÷नभएको जनताले मूल्यांकन गर्ने पनि बताउनु भयो । उहाँले भन्नुभयो – ‘हामीले उठाएका कुराहरु कति कार्यान्वयन भए, कति भएनन्, जनताले मूल्यांकन गर्लान् नै । हामीमध्ये कति साथीहरुले टिकट पाउनुहोला । कतिले जितौँला, कतिले हारौँला । यो सदनमा फेरि फर्केर आउन सफल हुने सबै साथीहरु अवश्य पनि जनताको पीर, मर्का, राष्ट्रको वृहत हितलाई ध्यानमा राखेर काम गर्न सक्नु नै पर्छ भन्ने मेरो मान्यता छ । शुभकामना पनि छ ।’

प्रतिनिधि सभा सदस्य नारायण मरासिनीले सिद्धार्थ राजमार्ग अन्र्तगतको पोखरा–बुटवल–सुनौली खण्डको स्तरोन्नती गर्न माग गर्नुभयो । त्यस्तै स्याङ्जा–पोखरा सडक अन्तर्गत भालु पहाडमा ढुंगा खसिरहने भन्दै उहाँले ढुंगा खस्न नदिने प्रवन्ध गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले भन्नुभयो – ‘पोखरा–बुटवल हुँदै सुनौली जोडिने सिद्धार्थ राजमार्ग महत्वपूर्ण राजमार्ग हो । साँघुरो र अनगिन्ति घुम्ती भएकाले यसको स्तरोन्नती आवश्यक छ । गरियोस् । राजमार्गको स्याङ्जा–पोखरा सडक अन्र्तगत भालु पहाडमा ढुंगा खसिरहने हुँदा यात्रुहरु जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।

राजमार्गमा ढुंगा खस्न नदिने प्रवन्ध गरिनु अत्यन्त आवश्यक छ ।’प्रतिनिधि सभा सदस्य प्रेम सुवालले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित खोप अस्पताल र खोप कलेजहरुमा नेट ढिलो हुँदा बिरामीको उपचार र विद्यार्थीको अध्ययन, अध्यापनमा अवरोध भइरहेकोले समस्या समाधान गर्न माग गर्नुभयो । उहाँले भन्नुभयो – ‘भक्तपुर नगरपालिकाद्वारा सञ्चालित खोप अस्पताल र खोप कलेजहरुमा नेट ढिलो हुँदा बिरामीको उपचार र विद्यार्थीको अध्ययन, अध्यापनमा अवरोध भइरहेको छ । सम्बन्धित मन्त्रीलाई के–कस्तो प्रविधि त्यहाँ राख्नुपर्ने हो ? बन्दोबस्तको लागि निर्देशनको आग्रह गर्न चाहन्छु ।’

प्रतिनिधि सभा सदस्य खेमप्रसाद लोहनीले बुढीगण्डकी जलाशययुक्त जलविद्युत परियोजनाको क्षतिपूर्ति र मुआब्जा हालसम्म नपाइएको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले मुआब्जा दिने तथा प्रभावित क्षेत्रको जनताको पुनस्र्थापनाको माग गर्नुभयो । उहाँले भन्नुभयो – ‘बुढीगण्डकी जलाशययुक्त जलविद्युत परियोजनाको क्षतिपूर्ति र मुआब्जाको कार्य अझै पनि बाँकी छ । जनताहरुको पुनस्र्थापनाको काम अझै बाँकी छ ।

जनताले उपभोग गरिरहेको जमिनको क्षतिपूर्ति र त्यहाँ बनेको संरचनाहरुको मुआब्जा र क्षतिपूर्ति जनताले पाउन सकोस् । पुनस्र्थापनाको व्यवस्था होस् । सरकारको ध्यानाकर्षणको लागि हार्दिक अनुरोध गर्दछु ।’ प्रतिनिधि सभा सदस्य गजेन्द्रबहादुर महतले राराको निकुञ्जलाई हटाएर मानिसको बसोवास गराउनुपर्ने बताउनु भयो । उहाँले निकुञ्जलाई मुगुको पूर्वतिर सारेर त्यहाँ मानिसलाई बसोवास, व्यवसाय गर्न दिन माग गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘रारामा निकुञ्ज बनाइएको छ । त्यो निकुञ्जलाई हटाएर मान्छेको बसोवास राख्नुपर्यो । निकुञ्जलाई पूर्वतिर लानुपर्यो त्यहाँको जनताको आवाज छ । त्यहाँ सिंगो कर्णालीलाई पाल्न सक्ने राराले दुई, चारवटा बदेल पालेर हुँदैन । आउने सदनले हेक्का राखोस् कर्णालीको रारा निकुञ्जलाई मुगुको पूर्वतिर सारोस् । र रारा निकुञ्जलाई मान्छेको आवादी हुने, बसोवास गर्ने, व्यवसाय गर्ने । त्यहाँ पाँच लाखदेखि दश लाख मान्छेहरुले रोजीरोटी पाउँछन् । रोजगार पाउनेछन् ।’
उहाँले निकुञ्जलाई सारेमा पाँच लाखदेखि दश लाख मानिसहरुले जीविकोपार्जन हुने बताउनु भयो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button