मुख्य समाचारसमाचार

‘बधाई लिने समय आएको छैन, सबै मिलेर विकासका काम गरौँ’

Gobal IME Bank
file photo

भरतपुर । भरतपुर महानगरपालिकाको सहिदचोक–धर्मचोक–कचपचे सडकखण्डअन्तर्गतको धर्मचोक क्षेत्रमा निर्माण सुरु भएको लामो समय हुँदा पनि कालोपत्र हुनसकेको छैन । यसका कारण बर्खायाममा सडक हिलाम्मे हुने र हिउँदमा धुलो उडेर स्थानीयवासीले हैरानी खेप्दै आइरहेका छन् ।

तत्काल सडक बनाउन स्थानीयले पटक–पटक आवाज उठाए पनि सुनुवाइ नभएपछि स्थानीय आजित थिए । आफूलाई विश्वास गरेर भारी मत दिएर जिताएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष , चितवन क्षेत्र नं २ बाट नवनिर्वाचित सांसद रवि लामिछाने शनिबार स्थानीयको सडकको समस्यालाई समाधान गर्न ‘फिल्ड’मै जानुभयो । सडक निर्माणको ठेक्का पाएको कम्पनीका प्रतिनिधि र निर्माण व्यवसायी सङ्घ चितवनका अध्यक्षलाई बोलाएर नवनिर्वाचि सांसदले बाटो निर्माणको सार्वजनिक प्रतिबद्धता गर्न लगाउनुभयो । “यहाँका जनताको धेरै गुनासो सडकको बारेमै छ, आज त्यही भएर ठेकेदार कम्पनी र सम्बन्धित पक्षलाई यहीँ ल्याएर समस्या समाधान गराउने प्रयास गरेको छु”, सांसद लामिछानेले भन्नुभयो ।

उहाँले स्थानीय जनताले आफूलाई भोट दिएर जिताएपछि जनताको समस्या समाधान गर्न आजैदेखि अघि सरेको बताउनुभयो । “तपाईँहरू मलाई आश गरेर जिताएर पठाएको मान्छे हुँ, त्यसकारण अब तपाईँहरू सबैजना लड्ने होइन जिम्मा लिन म आएको छु”, तपाईँहरूका लागि अब म लड्ने हो तपाईँहरूले मलाई भोट हालिसक्नुभा’छ”, उहाँले भन्नुभयो ।

उहाँले जितपश्चात अब बधाइ खाने समय नभएको भन्दै अब काम गर्ने बेला आएको बताउनुभयो । त्यहीअनुसार औपचारिक शपथअघि नै जनताको शपथ पाइसकेकाले जनताको काममा लागिपरेको उहाँको भनाइ छ । “मैले यसरी उभिएर बाटो बनाउने कामलाई झकझक्याउँदै गर्दा कसैले मिडियाबाजी, स्टन्ड गर्यो भने भन्लान्, त्यो मतलब भएन तर यहाँको बाटो बन्नुप¥यो, स्थानीयवासी ढुक्कले बस्न पाउनुपर्यो”, नवनिर्वाचित सांसद लामिछानेले भन्नुभयो । “मलाई सामान्य भेटघाट, बधाई कार्यक्रम, शिलान्यास, उद्घाटनमा नबोलाउनुहोला, म तपाईँहरूको काममा अघि बढ्छु, मलाई साथ दिनुहोला”, उहाँले सबैलाई अनुरोध गर्दै भन्नुभयो ।

अध्यक्ष लामिछानेले निर्माणको ठेक्का पाएको कम्पनी रमन शिवशक्ति जेभीका व्यवस्थापक राजु थपलिया र इञ्जीनियर रञ्जन ठाकुरलाई काम गराउने प्रतिबद्धता गराउनुभयो । ठेकेदार कम्पनीका व्यवस्थापक थपलियाले भन्नुभयो, “विभिन्न समस्याले सडक निर्माणमा ढिलाइ भएको हो, अब हामी ढिला नगरी भोलिबाटै काम अगाडि बढाउँछौँ”, उहाँले आइतबारदेखि निर्माण सामग्री ल्याउन सुरु गर्ने र पिच निर्माणको काम तत्काल अघि बढाइहाल्ने बताउनुभयो । “यो मङ्सिरभित्र सबै काम सकिन्छ, निर्वाचनलगायतका विभिन्न कारणले ढिलाइ भएको हो, अब हुँदैन”, उहाँले भन्नुभयो ।

यस्तै इञ्जीनियर ठाकुरले प्राविधिक कारणले सडक निर्माणको काम ढिलाइ भएको बताउनुभयो । विद्युत्को पोल समयमै नसार्नु, ढल निर्माणको कामपछि मात्रै समावेश हुनुले कामलाई असर परेको बताउनुभयो । अब सबै काम सकिएकाले निर्माण काम नरोकिने प्रतिबद्धता जनाउनुभयो ।

स्थानीय यमलाल कँडेलले भन्नुभयो, “यस्ता प्रतिबद्धता उहाँहरूले धेरै गर्नुभयो तर बाटो बनेन, अहिले फेरि प्रतिबद्धता जनाउनुभयो अबचाहिँ काम होस् ।”

करिब तीन हजार एक सय मिटर उक्त सडकखण्डमा दुई हजार छ सय मिटर कालोपत्र निर्माण सकिएको निर्माण कम्पनीले जनाएको छ । अब धर्मचोक क्षेत्रका पाँच सय मिटर सडक पक्की गर्न मात्र बाँकी भएकाले छिट्टै काम सकिने कम्पनीले जनाएको छ । सो क्रममा निर्माण व्यवसायी सङ्घ चितवनका अध्यक्ष केशव लामिछानेले चितवनका कुनै पनि अधुरा निर्माणका काम तत्काल सक्ने गरी काम अघि बढेको बताउनुभयो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button