गुड न्यूज 24समाचार

सहकारीमार्फत् व्यावसायिक कृषिमा जमेको जोडी

Gobal IME Bank

सहजपुर (कैलाली) । कैलालीको गोदावरी नगरपालिका वडा नं ८ मजगाउँकी सुस्मा चौधरी (२६) ले व्यावसायिक कृषिबाट मासिक करिब एक लाख आम्दानी गर्नुहुन्छ । उहाँलाई श्रीमान् वीरेन्द्र चौधरीले साथ दिनुभएको छ ।

करिब पाँच वर्षअघि वैवाहिक बन्धनमा बाँधिएको यो जोडीले बिहेलगत्तै व्यावसायिकरुपमा कृषि सुरु गरेको थियो ।

“परिवार विगतदेखि कृषिमा भए पनि व्यावसायिक रुपमा भने काम भएको थिएन”, सुस्माले भन्नुभयो, “बिहे भएपछि भने काम सुरु गरेका हौँ ।” उहाँहरुले व्यावसायिक खेती सुरु गर्नका लागि स्थानीय स्तरमा सञ्चालित सिजर्नशील महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाबाट ऋण लिनुभएको थियो । सहकारीबाट लिएको ऋणबाटै अहिले उहाँहरु तरकारी खेती र कुखुरापालन गरिरहनुभएको छ ।

सुस्मा तरकारीखेतीमा बढी ध्यान दिनुहुन्छ भने बीरेन्द्र कुखुरापालनमा बढी समय खर्चनुहुन्छ । “सुरुमा मौसमी तरकारीखेती मात्रै गर्ने गर्दथ्यौँ, बेमौसमी तरकारीखेती गर्न आउदैनथ्यो”, सुस्माले भन्नुभयो, “तर अहिले मौसमी र बेमौसमी तरकारी उत्पादन गरिरहेका छौँ, बेमौसमी तरकारी उत्पादनका लागि सिर्जनशील सहकारीबाट सञ्चालित किसान परियोजना र युएसएआइडी नामक संस्थाले तालिम दिएको थियो ।”

तालिमका कारण तरकारीखेतीमै आत्मनिर्भर बन्न थप प्रेरणा मिलेको उहाँहरुको भनाइ छ । तरकारीखेती सुरु गर्दा करिब ५० हजार मात्रै लगानी सुस्माले सुनाउनुभयो ।

“सुरुमा त लगानी नै लागेन तर बेमौसमी तरकारीखेती सुरु गरेपछि ५० हजार जति लगानी लाग्यो”, उहाँले भन्नुभयो, “अहिले बारीमा टमाटर, खुर्सानी, काउली, बन्दा र प्याज छन् । काँक्रा र बोडी भने भर्खर उम्रिरहेका छन् ।”

उहाँले काँक्रा र बोडीका लागि आफँैले तीन वटा टनेल बनाउनुभएको छ । तरकारी बिक्री वितरणको जिम्मा भने श्रीमान बीरेन्द्रले लिनुभएको छ । “खुद्रा खरिद गर्ने मानिस त घरमै आउने गर्छन्”, सुस्माले भन्नुभयो, “थोक बिक्रीका लागि भने अत्तरिया लैजानुपर्छ, जुन काम श्रीमान्ले गर्नुहुन्छ ।” उहाँले दैनिक एकदेखि डेढ क्विन्टलसम्म तरकारी बिक्रीका लागि बजार पठाउने गरेको बताउनुभयो ।

बीरेन्द्रले कुखुरापालनबाट अण्डा पनि बिक्री गर्ने काम गर्नुहुन्छ । विसं २०७७ वैशाखमा हालेका बोभेन ब्राउन जातको कुखुराबाट मासिक रु ४० हजारभन्दा बढी कमाउने गरेको बीरेन्द्रले सुनाउनुभयो ।

“यो जातका कुखुराको उमेर दुई वर्षको हुन्छ, मैले हालेको दुई वर्षभन्दा बढी भइसक्यो”, उहाँले भन्नुभयो, “यसबाट अहिले दैनिक आठ सयदेखि आठ सय ५० जति अण्डा उत्पादन भइरहेका छन्, सो अण्डाबाटै मैले आम्दानी गर्ने गर्दछु ।”

उहाँले अण्डाको बिक्रीवितरण दैनिकरुपमै गर्ने गरेको बताउनुभयो । उहाँले अण्डा बिक्रीका लागि भने अत्तरिया नभई राजपुर र मनेहरा जाने गरेको सुनाउनुभयो ।

बीरेन्द्रले अण्डा मात्रै नभई तरकारी पनि आफैँले बजार पु¥याउनुहुन्छ । सुस्माले उत्पादन गरेको तरकारी अत्तरिया बजार पु¥याएर आफू अण्डा बिक्रीका लागि अर्को बजार जाने गरेको उहाँले बताउनुभयो ।

“छ जनाको परिवार छ, सबैको पालनपोषण यहीँबाट भएको छ”, उहाँले भन्नुभयो, “व्यावसायिकरुपमा कृषि काम गर्दा नोक्सान बेहोर्नु पर्दैन भन्ने कुराको ज्ञात भएको छ ।”

सहकारीबाट सुरुवाती चरणमा रु पाँच लाख ऋण लिएर व्यवसाय सुरु गरेका सुस्मा र बीरेन्द्रको जोडीले अहिले मासिक रु एक लाखको हाराहारीमा आम्दानी गर्दै आइरहनुभएको छ । उहाँहरुले आफ्नै आठ कट्ठा जमिनमा कृषि काम गरिराख्नुभएको छ ।

सुरुदेखि नै तरकारीखेती गर्नुभएकी सुस्माले फार्म खोल्नुभएको छैन । उहाँले फार्मबिना नै कृषि काम गरिराख्नुभएको छ । तर बीरेन्द्रले भने आशीष पोल्ट्री फार्ममार्फत् कुखुरापालन गरिराख्नुभएको छ ।

कुखुराको बीमाका लागि भए पनि कृषि फार्म खोल्नुपरेको उहाँले बताउनुभयो । करिब ११ लाख लगानी भएको कुखुरापालन व्यवसायलाई निरन्तरता दिइ फेरि कुखुरा थप्ने योजना बीरेन्द्रले सुनाउनुभयो । “दानाको मुख्य अकासियो, चल्ला पनि मर्छन्”, उहाँले भन्नुभयो, “तर अण्डाको भाउ बढ्न सकेको छैन । अहिले पनि क्रेटको रु तीन सय ५० देखि तीन सय ८० सम्ममा बिक्री गर्ने गर्दछु ।”

यता सिर्जनशील महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाकी व्यवस्थापक गौरी चौधरीले महिलाको आर्थिक विकास र उत्थानका लागि नै संस्थाले काम गरिरहेको बताउनहुन्छ । “महिला सहकारी हो, महिलाको आर्थिकस्तरमा वृद्धि गरी उनीहरुको आम्दानी कसरी गर्ने र उनीहरुको आथिकस्तर कसरी सुधार्ने भन्ने लक्ष्य रहेका साथ स्थापना भएको हो”, उहाँले भन्नुभयो, “सोहीअनुसार महिलालाई स्थापनादेखि नै महिलालाई विभिन्न व्यावसायिक काममार्फत् अग्रसर बनाउँदै गएका छौँ ।” उहाँले अप्ठ्यारोमा महिलाका घरमै गएर त्यस्ता महिलाको जीवनस्तर उकास्न सफल भएको बताउनुभयो ।

उहाँले संस्थाले महिलालाई विभिन्न व्यावसायिक कामका लागि विनाधितो रु तीन लाखसम्म र धितोमा रु १० लाखसम्म ऋण दिने गरेको बताउनुभयो । उहाँका अनुसार सहकारीबाट ऋण लिएका करिब दुई सय जना महिलाले अहिले पनि विभिन्न किसिमका व्यावसायिक काम गर्दै आएका छन् ।

उहाँले महिलाका लागि संस्थाबाट मात्रै नभई अन्य विभिन्न निकायबाट पनि सहयोगका लागि पहल गर्ने गरेको बताउनुभयो । उहाँले संस्थाको सुरुवाती चरणमा तरकारी नै नदेखिने ठाउँमा पनि अहिले व्यावसायिकरुपमा तरकारीखेती भएको देख्दा खुसी लाग्ने गरेको बताउनुभयो ।

सुस्मा र बीरेन्द्र दुवैले कक्षा १२ सम्मको अध्ययन गर्नुभएको छ । विवाहपछि घरपरिवारको जिम्मेवारी थपिँदा दुवैले पढाइ छोडेर कृषिलाई अँगाल्नुभएको हो । हाल कृषिमै लगाएको मेहनतले नै उहाँहरुलाई व्यावसायिकरुपमा उत्कृष्ट किसान बनाएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button