समाचार

स्वरोजगार बन्दै कोरोना प्रभावित-GoodNews24

Gobal IME Bank

महेन्द्रनगर, ७ ।  सुदूरपश्चिम प्रदेशमा कोरोना प्रभावित व्यक्तिलाई विभिन्न आयमूलक काममा लगाएर स्वरोजगार बनाउने अभियान अघि बढाएको छ । दुई महिना अघिसम्म कोरोनाका कारण रोजगारी गुमाएर र विस्थापित भएर स्वदेश फर्किएका सुदूरपश्चिमका नागरिकलाई कृषि र पशुपन्छीपालनमा अग्रसर गराउन यहाँको प्रदेश सरकारले नौ हजार जनालाई स्वरोजगार बनाउन आवेदन लिएको थियो ।

सुदूरपश्चिमका कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र यहाँका नौवटै जिल्लाका ८८ वटा स्थानीय तहमा ८० हजारभन्दा बढी कोरोना प्रभावितले आवेदन दिएका थिए । प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका वरिष्ठ कृषि प्रसार अधिकृत गोकुलप्रसाद बोहराले कोरोना प्रभावितलाई स्वरोजगार बनाउन जिल्लाका कृषि तथा पशु कार्यालयमा मन्त्रालयबाट दुई महिनाअघि नै बजेट वितरण भइसकेको बताउनुभयो । “अहिले सम्बन्धित जिल्लामै प्रभावितको अर्को चरणको छनोट चलिरहेको छ ।”

वरिष्ठ कृषि प्रसार अधिकृत बोहराले भन्नुभयो, “काम गर्न चाहनेका लागि मापदण्ड बनाएर न्यूनतम सहयोग गर्न चाहेका छौँ ।” उहाँले प्रभावितबाट इच्छापत्र आह्वान हुँदा एउटै घरबाट दर्जन बढी आवेदन आएको बताउनुभयो । उहाँले भन्नुभयो, “पछिल्लो चरणमा आवेदन दिनेको सङ्ख्या ह्वात्तै घटेको छ ।” उहाँले कोरोना प्रभावितलाई स्वरोजगार बनाउन मन्त्रालयले रु १५ करोड रकम छट्टाएको जानकारी दिनुभयो । मन्त्रालयले कृषि तथा पशुपन्छी विकास कार्यक्रममा सहभागी हुन कोरोना प्रभावित व्यक्तिलाई आवेदन दिन गत असोज पहिलो सातासम्म समय दिइएको थियो ।

मन्त्रालयले जारी गरेको सूचनाअनुसार फलफूल, तरकारी, च्याउखेती, मौरी, भेडा, बाख्रा, बङ्गुुरपालन, गाईभैँसी, माछा, स्थानीय कुखुरा, हाँस र अन्य मासुजन्य पन्छीपालन, नर्सरी, पुष्प व्यवसाय गरी १० थरी कृषि क्षेत्रमा काम गर्न इन्छुक व्यक्तिलाई स्वरोजगार बनाउने लक्ष्य रहेको छ ।

कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्राविधिक सहायक जनकबहादुर सिंह कोरोना प्रभावितमध्येबाट १०० जना छनोट गरिएको बताउनुभयो । “विदेशबाट फर्केका र कोरोना प्रभावितलाई पुनः आवेदन लिएर छनोट गरियो” उहाँले भन्नुभयो, “अब कार्यविधिअनुसार काम गर्न सम्झौता हुँदैछ ।” सुदूरपश्चिम प्रदेशमा कोरोना कहरमा भारतबाट मात्रै डेढ लाख सुदूरपश्चिमेली नागरिक स्वदेश फर्किएको तथ्याङ्क छ । स्वदेशमा रोजगारी नपाएपछि सङ्क्रमणकै बीच यहाँका नागरिक दिनहुँ कञ्चनपुर र कैलालीलगायतका नाकाबाट भारत जाने क्रम निरन्तर रहेको छ ।
–––

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button