समाचार

तिब्बतबाट भेडा, च्याङ्ग्रा आयात नहुँदा, खसीबोका महँगियो – Good News 24

Gobal IME Bank

फुङ्लिङ । दसैँ तिहारजस्ता चाडपर्व नजिकिएसँगै ताप्लेजुङमा खसीबोकाको मूल्य महँगिएको छ । टिप्ताला नाका बन्दका कारण चीनबाट च्याङ्ग्रा आयात बन्द भएकाले सदरमुकाम फुङ्लिङमा खसीबोकाको मूल्य महँगिएको हो ।

दसैँको मौका छोपेर हाट बजारमा नियमित खरिद/बिक्री हुने मूल्यको तुलनामा व्यवसायीले खसीबोकाको मूल्य एक्कासी बढाएका हुन् । चाडपर्वका समयमा मासुको खपत साथै माग पनि बढ्ने हुँदा खसीबोकाको मूल्य बढ्ने गरेको स्थानीयले बताएका छन् ।

उपभोक्ताका अनुसार हाट बजारमा रु १० हजार पर्ने एउटा खसीको मूल्य अहिले महँगिएर रु १४÷१५ हजार मूल्य पुगेको छ । फुङ्लिङ बजारका स्थानीय डिल्ली पौडेलले निकै महँगो मूल्य तिरेर आफूलाई आवश्यक खसी खरिद गरेको बताउनुभयो ।

नियमित बजारमा १० किलोग्रामको खसीबोकालाई रु आठ हजार पर्ने गरेकामा चाडपर्वको समयमा भने रु १२ हजार भन्दाबढी परेको फुङ्लिङ नगरपालिका–७ का स्थानीय कमल भट्टराईले बताउनुभयो । भट्टराईका अनुसार चाडपर्वको मौका छोपेर स्थानीय किसान तथा व्यवसायीले आफूखुसी खसीबोकाको मूल्य बढाउने गरेका छन् ।

यो मौसममा खसीबोकासँगै बाख्राका पाठापाठीको मूल्यसमेत महँगिएको उपभोक्ता बताउँछन् । प्रतिवटा रु तीन हजारसम्ममा पाइने पाठापाठी हाटमा रु पाँच हजारभन्दा बढीसम्म मूल्य तिर्नुपरेको उपभोक्ता ९खरिदकर्ता० ले बताएका छन् ।

फुङ्लिङमा लाग्ने हाटबजारमा जिल्लाको निघुरादिन, फूलबारी र छिमेकी पाँचथर जिल्लाको अमरपुरलगायत क्षेत्रका स्थानीय व्यापारीले खसीबोका ल्याएर बिक्री गर्ने गर्दछन् ।

कोभिड महामारको तीन वर्षअघिदेखि नै चीनको स्वशासित क्षेत्र तिब्बतबाट भेडा, च्याङ्ग्रा आयात हुन छोडेकाले पनि खसीबोका महँगिएको उद्योग वाणिज्य सङ्घ ताप्लेजुङका उपाध्यक्ष पासाङ शेर्पाले बताउनुहुन्छ । आजभन्दा चार÷पाँच वर्ष अघिसम्म चाडपर्वका समयमा टिपताला भञ्ज्याङ नाका हुँदै तिब्बतबाट भेडा, च्याङ्ग्रा आयात हुने गर्दथ्यो । तिब्बतबाट च्याङ्ग्रा आयात हुँदा यहाँ खसीबोका निक्कै सस्तो मूल्यमा खरिद बिक्री हुने गरेको शेर्पाले बताउनुभयो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button