बैशाख २८, काठमाण्डौ । राष्ट्रिय महिला आयोगले स्थानीय तहको निर्वाचनमा महिलामाथि हुने जघन्य हिंसा र अपराधका बारेमा निर्वाचन आयोगबाट अनुगमन गर्न र हिंसाजन्य घटना हुन नदिन प्रहरी प्रशासनसमक्ष अनुरोध गरेको छ । आयोगका प्रमुख महिला विकास अधिकृत सीता अधिकारीले आज जारी गरेको प्रेस विज्ञप्तिमा निर्वाचनको समयमा भएका हिंसाउपर निर्वाचन आयोगबाट समेत अनुगमन र हिंसाजन्य घटना हुन नदिने विषयमा सम्बन्धित प्रहरी प्रशासनमा अनुरोध गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, “अपराधजन्य घटनाको सत्यतथ्य पत्ता लगाई व्यक्तिको स्वतन्त्र र सम्मानजनक ढङ्गले बाँच्न पाउने अधिकारको हननजस्तो जघन्य घटनाको दोषीलाई कडाभन्दा कडा कारबाही र पीडित पक्षलाई क्षतिपूर्तिका लागि अविलम्ब आवश्यक सिफारिस र कार्य अघि बढाउन प्रहरी प्रशासनलगायत जिम्मेवार निकायलाई ध्यानाकर्षण गराइन्छ ।”