सचिव रेग्मीद्वारा मालपोत कार्यालयको आकस्मिक निरीक्षण
काठमाडौँ । भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले डिल्लीबजार भूमिसुधार तथा मालपोत कार्यालयको दैनिक सेवाप्रवाह तथा अभिलेख व्यवस्थापनबारे आकस्मिक निरीक्षण गरी जानकारी लिनुभएको छ ।
देशका विभिन्न कार्यालयमध्ये डिल्लीबजार भूमिसुधार तथा मालपोत कार्यालयलाई सेवा प्रवाहको दृष्टिले संवेदनशील कार्यालयका रूपमा लिने गरिएको छ । त्यस अवसरमा सचिव डा रेग्मीले डिल्लीबजार मालपोत कार्यालयका प्रमुख रामकृष्ण उप्रेती र कर्मचारीलाई सेवाप्रवाह गुनासोरहित, झन्झटमुक्त र पारदर्शी तवरबाट कार्यसम्पादन गर्न निर्देशन दिनुभयो ।
उहाँले भूकम्पले कार्यालयका धेरै भित्ता चर्किएको र सोको तत्काल सुधार गर्न तथा अभिलेख व्यवस्थापनका लागि आवश्यक रकम प्रस्ताव गरी पठाउन सुझाव दिनुभयो । डिल्लीबजार मालपोत कार्यालयमा विभिन्न जिल्लाको जग्गाको ऐतिहासिक तथा प्रामाणिक अभिलेख, ऐतिहासिक अभिलेख तथा पुराना रजिस्ट्रेसन अभिलेख गरी एक लाखभन्दा बढी लिखतसहितका कागजात रहेका छन् ।
देशका सबै मालपोत कार्यालयमा करिब २० लाखको हाराहारीमा यस्ता लिखत अभिलेखहरू रहेको अनुमान गरिएको छ । तत्कालीन बाइसे–चौबिसे राज्य र राणाकालीन प्रमाणका दृष्टिले यी अभिलेखहरू दीर्घकालसम्म सुरक्षित राखिनुपर्ने भए पनि यिनीहरूको विद्युतीय प्रति नहुँदा कागज च्यातिने र हराउने उत्तिकै सम्भावना छ ।
त्यस अवसरमा सचिव डा रेग्मीले यस्ता ऐतिहासक महत्त्वपूर्ण अभिलेखहरूको संरक्षण गर्ने व्यहोरोपयोगी कार्ययोजना तत्काल तयार गरी कार्यान्वयनमा ल्याउन विभाग र मातहतका निकायलाई निर्देशन दिनुभयो । सचिव रेग्मीले विभागको विद्युतीय प्रणालीलाई प्रभावकारी बनाउन र मालपोतको सेवा प्रवाहमा हुन सक्ने अनियमितता रोक्न विद्युतीय प्रणालीको सेवालाई प्रभावकारी बनाउन आवश्यक रहेको बताउनुभयो ।
उहाँले राष्ट्रिय भूमि आयोगको निरीक्षण गरी काम कारबाहीबारे पनि आजै जानकारी लिनुभयो । भूमि आयोगका सदस्य सचिव विदुर खनालले मन्त्रालय र सरकारको लक्ष्य पूरा गर्न र मन्त्रालयको साख बढाउन प्रतिबद्ध रहेको बताउनुभयो ।