साउन महिनाको समयमा बढी वर्षा हुने, झरी पर्ने, जीवाणु तथा किटाणुको संक्रमण बढी हुने हुँदा यस कर्कटे संक्रान्तिमा लुतो फाल्ने चलन छ । यसै समयमा हाम्रो पाचनप्रणाली समेत कमजोर हुने हुनाले दुधजन्य परिकारहरू, साग साथै माछा, मासु, प्याज, लसुन एवं उत्तेजित हुने खानेकुरा, तामसिक भोजन एवं मदिरापान जस्ता खानेकुरा खानु हुदैन, यसको वैज्ञानिक कारण छ यस समयमा मासुजन्य परिकारमा जीवाणु तथा किटाणुहरूको संक्रमण बढी हुने भएकाले तामसिक खाना नखाएको राम्रो मानिन्छ ।
भनिन्छ, वर्खायाममा हाम्रो पाचन यन्त्र कमजोर हुन्छ । पानी लगायत विभिन्न खाद्य पदार्थको कारण पेटमा जीवाणु फैलने र झाडापखला लाग्ने संभावना हुन्छ । अर्कोतिर हाम्रो शरीरको प्रतिरक्षा प्रणाली पनि कमजोर हुन्छ । यसबेला उपवास बस्दा शरीरलाई फाइदा मिल्छ ।
हामीले देखे, सुनेकै कुरा हो, झाडापखलाको संक्रमण यही महिनामा बढी फैलने गर्छ । त्यसैले वर्षायाममा हेपाटाइटिस, हैजा, ग्यास्ट्राइटिस, र विभिन्न भाइरल रोगहरु देखापर्छ । वर्षा र ओसिलो मौसमले यस्ता संक्रमण फैलने भय दोब्बर बढाइदिन्छ । यस्तो अवस्थामा खानपानप्रति सर्तक हुनुपर्छ ।
किन मासुमंस नखाइएको होला ?
साउनमा धेरैले माछामासु खाँदैनन् । कतिले सोमबार अन्न समेत खाँदैनन् । यसको आफ्नै धार्मिक तर्क छ । तर, यससँग धार्मिक तर्कमात्र जोडिएको छैन, वैज्ञानिक तर्क पनि छ ।
यो सिजनमा संक्रमणको भय अधिक रहन्छ । र, मासुजन्य परिकारमा संक्रमणको बढी संभावना हुन्छ । मासुमा जीवाणु फैलने, कुहिने, सड्ने हुन्छ । त्यही कारण यसबेला मासुको सेवन यो महिनामा त्यती हितकर मानिदैन ।
वर्षायाम भनेको धेरै जसो पानीमा पाइने जीवहरुको प्रजननको महिना हो । पहिलेको जमानामा माछालाई व्यावसायीक रुपमा छुट्टै पोखरीमा पाल्ने र खानको लागि प्रयोग गर्ने चलन थिएन ।
प्राकृतिक नदीहरु र खोलामा पाइने सिमित माछाहरु प्रजनन महिनामा खाइदिएमा अर्को वर्ष माछाको सङ्ख्या घट्ने वा लोप नै हुने डर हुन्थ्यो । त्यसैले माछामासु खानमा नियन्त्रण गर्न पनि यसो गरिएको हुनुपर्छ ।
कस्तो खानपान उपयुक्त ?
यसबेला सात्विक भोजन एवं हल्का, सुपाच्य खानेकुरा खानुपर्ने प्रचलन छ । यतिबेला उपवास बस्ने चलन पनि छ । यसले पनि पाचन यन्त्रलाई राहत दिन्छ । साउनमा खीर लगायत दुधजन्य परिकार बढि खाने गरिन्छ ।