काठमाडौँ। स्तनपान गराउने दर बढाउने वार्षिक अभियानअन्तर्गत संयुक्त राष्ट्रसङ्घले कार्यस्थलमा महिलाहरूलाई स्तनपानका लागि बढीभन्दा बढी सहयोग गर्न आग्रह गरिरहेका छन्।
संयुक्त राष्ट्रसङ्घका अनुसार राम्रोसँग आमाको दूध पिएका बच्चाहरूको तुलनामा आमाको दूध नपाएका बच्चाहरूको आफ्नो पहिलो वार्षिक जन्मदिनअघि नै मृत्यु हुने जोखिम १४ गुना बढी हुन्छ।
राष्ट्रसङ्घले सुत्केरी बिदामा तलब कटौती नगर्न, स्तनपान गराउने समयमा विश्राम दिन र स्तनपान गराउनका लागि कार्यालयहरूमा छुट्टै कोठाको व्यवस्था गर्न पनि आग्रह गरेको छ।
यद्यपि स्तनपानबारे धेरै भ्रमहरू छन् जसका कारण महिलाहरू बच्चालाई स्तनपान गराउन तयार हुँदैनन्।
क्यट्रिओना वेट यूनिभर्सिटी अफ लिभरपुलमा क्लिनिकल फार्मकलजी र विश्वस्वास्थ्य विषय प्राध्यापन गर्छिन् । उनी युगान्डास्थित माकेरेरे यूनिभर्सिटी कलेज अफ हेल्थ साइन्ससँग शोधकर्ताका रूपमा आबद्ध छिन्। यस्तै एलस्टर सट्क्लिफ यूनिभर्सिटी कलेज लन्डनमा बालरोग विषयका प्राध्यापक हुन्।
भ्रम १। स्तनपान गराउँदा दुख्छ र स्तनमुख ठूलो हुन्छ:
प्राध्यापक वेट: यसको उत्तर दिन अलि कठिन छ। सुरुसुरुमा अप्ठ्यारो लाग्नु सामान्य कुरा हो र पहिले स्तनमुख फुल्न सक्छ तर बिस्तारै त्यसमा बानी पर्छ। यद्यपि स्तनपानका कारण कसैलाई पनि धेरै पिडा हुँदैन। यस्तो भयो भने स्तनमुखमा सङ्क्रमण भएको वा बच्चाले राम्रोसँग नचुसेको हुनसक्छ।
केही असहजतालाई सामान्य रूपमा लिनुपर्छ र विशेषतः पहिलो पटक आमा भएका महिलाले स्तनपान गराउन बानी पर्न केही समय लाग्न सक्छ। यदि धेरै दुख्यो वा अप्ठ्यारो भयो भने त्यसबारेमा चिकिस्तसक, नर्ससँग सल्लाह लिनुपर्छ ।
भ्रम २। सुरुमै थालिएन भने स्तनपान गराउन सकिँदैन:
प्राध्यापक सट्क्लिफ: सुत्केरी महिलालाई स्तनपान गराउन प्रोत्साहित गर्नु राम्रो कुरा हो। बच्चा जन्मिनेबित्तिकै आमाको दूध चुसाउनुका धेरै फाइदाहरू छन्।
तीमध्ये सबैभन्दा प्रमुख पोषण हो। यसले गर्भाशय खुम्चिने प्रक्रिया सुरु गर्न पनि सहयोग गर्छ र सुत्केरी भएपछि हुने रक्तस्राव रोक्न वा कम गर्न पनि मद्दत गर्छ ।
बच्चालाई जन्म दिएको केही दिनसम्म शरीरले उच्च प्रोटीनयुक्त ‘कोलोस्ट्रम’ नामक पदार्थ बनाउँछ। ‘बिगौती दूध’मा हुने यो पदार्थ निकै उपयोगी हुन्छ र यसले दूध उत्पादनको यात्रा सुरु गराउँछ।
भ्रम ३। स्तनपान गराउँदा कुनै औषधि सेवन गर्नु हुँदैन:
प्राध्यापक वेट: विश्वको जुनसुकै स्थानका महिलाले पनि सोध्ने पहिलो प्रश्न यही हो। के औषधि सेवन गर्दा बच्चालाई केही हुँदैनर ? वास्तवममा धेरै औषधिहरू धेरै कम मात्रामा मात्रै बच्चासम्म पुग्छन्। चिकित्सकले तपाईलाई औषधि खानुपर्छ भनेको अवस्थामा चिकित्सकलाई सोध्न सक्नु हुन्छ तर धेरै हदसम्म औषधि सेवन सुरक्षित नै हुन्छ। बच्चालाई चाहिने सबैभन्दा प्रमुख कुरा स्वस्थ आमा हो। सङ्क्रमण, डिप्रेशन वा सामान्य दुखाइका लागि प्रयोग हुने धेरैजसो औषधि स्तनपान गराउने महिलाले सेवन गर्न सुरक्षित नै मानिन्छन्।
स्तनपानका समयमा प्रयोग गर्न नहुने औषधि एकदमै कम छन्। प्रायः क्यान्सरजस्ता गम्भीर स्वास्थ्य अवस्थाको उपचारका लागि प्रयोग हुने औषधिहरूमा मात्रै त्यसमा पर्छन्।
केही औषधिहरूबाट लाभ र हानि दुवै हुन्छ। स्तनपानका समयमा सेवन गर्न सिफारिस गरिएका औषधिको प्रयोग कति सुरक्षित हुन्छ भनेर आमाले चिकित्सकलाई प्रश्न सोध्नुपर्छ।
यो अवस्थामा सेवन गर्दा ध्यान दिनुपर्ने भनेको चिकित्सकको सल्लाहबिना सोझै खरिद गर्न सकिने औषधिहरू हुन्। रुघा वा ज्वरोका औषधिले आमाको दूध उत्पादन घटाउन सक्छ।
अर्को चाहिँ जडीबुटीबाट बनेका औषधिहरूबारे पनि सचेत हुनुपर्छ किनभने त्यो बनाउन के प्रयोग भएको छ भन्ने थाहा नहुन सक्छ र त्यसमध्ये धेरै तत्त्वको राम्रोसँग अध्ययन नभएको पनि हुनसक्छ।
भ्रम ४। स्तनपान गराउनुअघि सादा खाना खानुपर्छ, मसला भएको खानेकुरा बार्नुपर्छ:
प्राध्यापक वेट: स्तनपान गराउँदा बार्नुपर्ने खानेकुरा केही छैन। यद्यपि तपाईको दूधको संरचना आहारबाट प्रभावित हुनसक्छ। कतिपय अवस्थामा महिलाहरूले त्यसको क्रम महसुस गर्न सक्छन्। उदाहरणका लागि, मैले आफ्नो बच्चा हुर्काउने क्रममा पनि यो याद गरेकी छु। यदि मैले सुन्तला वा त्यो प्रजातिका फलफूलको जुस पिउँदा बच्चामा धेरै चिडचिडाहट हुने गरेको पाएकी थिएँ।
तपाईको आहारबाट बच्चाहरूले जनाएको प्रतिक्रियाबाट तपाईले खानेकुरामा दिनुपर्ने ध्यान पहिचान गर्न सक्नुहुन्छ। तर चिकित्सकीय रूपमा अनुचित वा हानिकारक वा बार्नुपर्ने भन्ने कुनै पनि खानेकुरा छैन।
भ्रम ५। स्तनपान गराएपछि बच्चालाई कहिल्यै पाउडर दूध दिनु हुँदैन:
प्राध्यापक वेट: यो कुरा पनि पूरै साँचो होइन। यद्यपि आमाको दूध कति उत्पादन हुन्छ र बच्चाको आवश्यकतामा भर गर्छ। महिलाको शरीर अद्भुत हुन्छ, उनीहरू आफ्नो बच्चाको लागि चाहिने जति दूध उत्पादन गर्न सक्छन्।
बच्चाले स्तनमुख चुस्दा महिलाको शरीरमा भएका होर्मोनहरूलाई ठिक मात्रामा दूध उत्पादन गर्नका लागि आदेश जान्छ। तसर्थ तपाईले सानो शिशुलाई वा ठूलो बच्चा वा जुम्ल्याहालाई नै चुसाए पनि आवश्यकताअनुसार दूध शरीरले उत्पादन गरिरहेको हुन्छ।
तर यदि तपाईले ‘फर्मुला’ भनिने पाउडर दूध दिन सुरु गर्नुभयो भने शरीरले पाउने प्रतिक्रिया प्रभावित हुन्छ। तपाईको शरीरले बच्चालाई कति दूध आवश्यक भएको सङ्केत पाउँदैन।
दूध पुर्याउन समस्या भयो र तपाईले पाउडर दूध दिन सुरु गर्नुभयो भने त्यसले केही समय राहत दिन सक्छ। तर त्यसले वास्तविक समस्या चाहिँ अझै खराब बनाउन सक्छ।
अर्कोतर्फ यदि तपाईले राति राम्ररी सुत्न पाउनुभएको छैन वा थकित वा बिरामी हुनुहुन्छ भने तपाईलाई आराम होस् भनेर बच्चालाई पाउडर दूध दिन सकिन्छ। तर त्यसपछि तपाईले आफ्नो बच्चालाई खुवाउनै नसक्ने कुरा साँचो होइन।
भ्रम ६। बिरामी भएको बेला स्तनपान गराउनु हुँदैन:
प्राध्यापक सट्क्लिफ: यो पनि भ्रम हो। एउटी आमाले आफ्नो बच्चालाई खुवाउन नसक्ने एउटा मात्र अवस्था छ। त्यो भनेको उनमा एचआईभी वा हेपाटाइटिस सङ्क्रमण देखिएको अवस्था हो। यी भाइरसहरू दूधबाट बच्चामा पुग्न सक्छन्। यो दुखद अवस्था हामीले यसअघि देखेका छौँ।
धेरैजसो बिरामी अवस्थामा बच्चाहरूलाई आमाको दूध खुवाउँदा कुनै समस्या हुँदैन। किनभने बिरामी हुँदा आमाको शरीरमा एन्टिबडीहरू तयार हुन्छन् र त्यसले नवजात शिशुहरूलाई बचाउँछ। स्तनपानको माध्यमबाट आमालाई लागेको रोग सन्तानमा सर्ने एकदमै बिरलै हुन्छ।
भ्रम ७। एक वर्षभन्दा बढी स्तनपान गराएका बच्चालाई बानी छुटाउन गाह्रो हुन्छस्:
प्राध्यापक वेट: विश्व स्वास्थ्य सङ्गठनले बच्चाहरूलाई जन्मेको छ महिनासम्म स्तनपान मात्र गराउन सिफारिस गर्छ।
त्यसपछि उसलाई अन्य पोषक तत्त्वहरू खुवाउन सकिन्छ। तर आमाले चाहेसम्म बच्चालाई स्तनपान गराइरहन भनिएको छ। स्तनपान गराउन कहिले रोक्ने भन्ने विषयमा कुनै विशेष सल्लाह छैन।
यूकेजस्ता उच्च आय भएका देशहरूमा एकदेखि दुई वर्षबीचको अवधिमा अधिकांश बच्चाहरूलाई आमाको दूध छुटाइन्छ। युगान्डाजस्ता अन्य न्यून आय भएका देशहरूमा आमाहरूले आफ्ना बच्चाहरूलाई दुईदेखि तीन वर्षसम्म दूध खुवाउने गर्छन्।
धेरै देशहरूमा पर्याप्त सुत्केरी बिदा दिने प्रचलन छैन। यस्तो बिदाले आमाहरूलाई आफ्ना बच्चाहरूलाई स्तनपान गराउन सजिलो बनाउने विश्व स्वास्थ्य सङ्गठनको सुझाव छ।
-एफ्रम गब्रीब, बीबीसी विश्व सेवा