अन्यौलमा प्रदेशसभाको कार्यकाल – Good News 24
रुपन्देही । गत शनिबार प्रतिनिधिसभाको अन्तिम बैठकमा प्रतिनिधिसभाका सदस्य तथा राजनीतिक दलका शीर्ष नेताले अन्तिम सम्बोधन गरेर बिदा भए पनि प्रदेशसभाको कार्यकाल कहिलेसम्म रहने भन्ने विषय अन्यौल छ । प्रदेशको आफ्नो निर्वाचन ऐन नहुँदा अन्यौल देखिएको हो ।
यही अन्यौलताकै कारण असोज ३ गते लुम्बिनी प्रदेश सरकारले आयोजना गरेको संविधान दिवस मूल समारोहमा मुख्यमन्त्री, मन्त्री र प्रदेशसभाका सदस्य लोगो बिनाकै पोसाकमा सरिक हुनुभयो । कार्यकालको अन्यौलताले प्रदेशसभाका अधिकांश सदस्यको कार्यक्रममा उपस्थिति थिएन । सङ्घले बनाएको निर्वाचन ऐनमा प्रदेशसभाको कार्यकालका विषयमा स्पष्ट उल्लेख नभएका कारण प्रदेशसभाको कार्यकाल कहिलेसम्म रहने भन्ने प्रष्ट हुन नसकेको प्रदेशसभाका सचिव दुर्लभकुमार पुनमगरले बताउनुभयो ।
उहाँले भन्नुभयो, “कार्यकाल कहिलेदेखि सकिन्छ भनेर पत्रकारले समेत सोधिरहनुभएको छ तर, हामीसँग जवाफ छैन, जनप्रतिनिधि निर्वाचित भएपछि सपथग्रहण गरेको दिनलाई अन्तिम मान्ने कि, प्रदेशसभाको पहिलो बैठक बसेको दिनलाई भन्नेमा अन्यौलमा छौँ ।” यसबारे सङ्घले बनाएको निर्वाचन ऐनमा स्पष्ट व्यवस्था हुन नसक्दा समस्या भएको सचिव पुनमगरको भनाइ थियो ।
गत शनिबार प्रतिनिधिसभाको अन्तिम बैठकमा सङ्घको कार्यकाल सकिएको घोषणापछि प्रदेशसभामा पनि बिदाइ कार्यक्रमको तयारी भयो तर सङ्घीय संसद्को कार्यकालसँगै प्रदेशको कार्यकाल पनि समाप्त हुनुपर्ने भन्ने कानुनी आधार नभएको भन्दै सभामुख पूर्णबहादुर घर्तीको निर्देशनमा बिदाइ कार्यकम स्थगित भयो । “प्रदेशसभाको कार्यकाललाई लिएर सबैमा अलमल देखियो । संविधान दिवसका अवसरमा मुख्यमन्त्री र मन्त्रीहरु नै लागो निकालेर आउनुभएछ तर आधिकारिक निर्णय नआउँदासम्म कार्यकाल सकिएको कसरी मान्नु ? ” सभामुख घर्तीको भनाइ थियो ।
“ प्रदेशसभाको कार्यकाल चैतमा पूरा हुने भएकाले निर्वाचन घोषणा हुने बित्तिकै समयावधि सकिने अवस्था छैन । समानुपातिकको बन्द सूचीमा नाम परिसकेपछि कार्यकाल सकिने हो भने आयोगले नाम पनि सार्वजनिक गरेको छैन । त्यसैले समानुपातिकको सूची प्रकाशित गरेपछि प्रदेशसभा सदस्यको नाम परेको छ भने स्वतः हट्ने कुरा रहन्छ”, उहाँले भन्नुभयो ।
निर्वाचन आयोगले निर्वाचन कार्यक्रम पेश गरेपछि प्रदेशसभाको कार्यकालका विषयमा सङ्घीय सरकारले नै जानकारी गराउनुपर्नेमा त्यसो हुन नसक्दा केही अन्यौलता देखिए पनि अहिले नै कार्यकाल सकिएको अवस्था नभएको सभामुख घर्तीले बताउनुभयो । प्रदेशसभाले आफ्नो निर्वाचन ऐन नबनाउँदा यस्तै अन्यौलको स्थिति पैदा भएकाले आगामी प्रदेशसभाको नेतृत्वले सुरुमै प्रदेशको निर्वाचन ऐन निर्माण गर्न आवश्यक रहेको उहाँको भनाइ थियो ।
सभामुख घर्तीले भन्नुभयो, “हाम्रो देशको मूल कानुन संविधान हो । संविधानमा पनि प्रदेशसभाको कार्यकाल पाँच वर्ष भन्ने छ । पाँच वर्षअघि निर्वाचन घोषणा हुँदा अन्तिम दिन कहिले मान्ने भन्ने विषयमा स्पष्ट उल्लेख छैन । न्यायिक सिद्धान्तअनुसार पनि प्रत्यक्षतर्फबाट उम्मेदवारको मनोनयन भयो भने स्वतः कार्यकाल सकिन्छ ।” प्रदेश स्वायत्त निकाय भएकाले आफ्नो ऐन आफँै बनाउनुपर्नेमा सङ्घले बनाएको ऐनमा पनि स्पष्ट व्यवस्था नभएकाले अन्यौल सृजना भएको हो ।
पहिलोपटक भएको हुनाले सङ्घले प्रदेशको निर्वाचन गराउने कुरा स्वभाविक भए पनि सङ्घीयता कार्यान्वयन भएपछि प्रदेशको निर्वाचन प्रदेश सरकारले नै गराउन पाउनुपर्ने व्यवस्था गरिनुपर्ने उपसभामुख कृष्णी थारुले बताउनुभयो । सङ्घको घोषणाका आधारमा नभई प्रदेशले आफ्नो निर्वाचन ऐनअनुसार निर्वाचन कार्यक्रम अघि बढाउन पाउने व्यवस्था गरिनुपर्ने उहाँको भनाइ थियो ।
त्यसो त ऐनमै स्पष्ट व्यवस्था नभएकाले प्रदेशसभाका सदस्य नै अलमलमा हुनुहुन्छ । “कार्यकालका विषयमा प्रदेशसभा सचिवालयबाट कुनै जानकारी आउँला भनेर पर्खिएर बसेका छौँ”, प्रदेशसभा सदस्य दीपा विकले भन्नुभयो । संविधानमा प्रदेशसभाको कार्यकाल पाँच वर्ष उल्लेख छ । निर्वाचन आयोगको निर्वाचन कार्यक्रमअनुसार दलहरुले समानुपातिक उम्मेदवारको बन्दसूची पेश गरिसकेका कारण सङ्घसँगै प्रदेशको समयावधि पनि अब सकिएको अधिवक्ता दामोदर घिमिरले बताउनुभयो ।
उहाँका अनुसार संविधानको धारा १७७ मा संविधानबमोजिम अगावै विघटन भएकोमा बाहेक प्रदेशसभाको कार्यकाल पाँच वर्षको हुने उल्लेख छ । “नैतिकताका आधारमा पनि समानुपातिक उम्मेदवारको बन्दसूची पेश भइसकेपछि पदमा रहने कुरा उचित हुँदैन”, उहाँले भन्नुभयो । प्रदेशसभाका कम्प्युटर अभिकृत बोधिसिंह सुनारका अनुसार अहिलेसम्म प्रदेशसभाको दशौँ अधिवेशन सम्पन्न भएको छ । यो अवधिमा दुई सय नौ बैठक बसेको छ । ती बैठककोे समयावधि दुई सय ७५ घण्टा २० मिनेट रहेको छ । प्रदेशसभाको पहिलो बैठक २०७४ माघ २१ गते बसेको थियो भने अन्तिम बैठक गत साउन ६ गते बसेको थियो ।
यसबीचमा प्रदेश सभामा ८४ विधेयक दर्ता भएकामा ७२ वटा सभाबाट पारित भई प्रमाणीकरणसमेत भएका छन् । सात विधेयक विचाराधीन छन् भने पाँच वटा फिर्ता भएका छन् । प्रदेशसभामा नौ विधेयकमाथि संशोधन प्रस्ताव दर्ता भएको छ । प्रदेशसभाको यस कार्यकालमा दुई मुख्यमन्त्रीको निर्वाचन, बजेट तथा कार्यक्रम प्रस्तुतलगायत जनताको प्रत्यक्ष सरोकार राख्ने केही कानुन पारित भएको छ ।