नेपालगञ्जमा ढल र नाला सरसफाइ-GoodNews24
नेपालगञ्ज, १८ जेठ। वर्षाको समयमा ढल र नाला थुनिएर नेपालगञ्ज जलमग्न हुने देखिएपछि यहाँ ढल र नालाको सरसफाइ गर्न थालिएको छ ।ढल र नालामा फोहर थुप्रिएर पानीको निकास नहुँदा स्थानीयवासीले सास्ती खेप्नुपरेकाले केही ठाँउमा दैनिक ज्यालादारीमा जनशक्ति परिचालन गरेर र केही ठाउँमा जेसिभीमार्फत सरसफाइको काम सुरु गरिएको नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ । केही वडाका नालामा वडा कार्यालयमार्फत काम सुरु भएको छ ।
उपमहानगरको पहिलो प्राथमिकतामा ठूला र मझौला नाला सफाइलाई राखिएको उल्लेख गर्दै उपमहानगरको वातावरण तथा सरसफाइ शाखाका प्रमुख प्रकाश डिसीले बसपार्कबाट पूर्व, गणेशपुर, बागेश्वरी मन्दिर हुँदै सुर्खेत राजमार्ग आसपास ढल र नाला सरसफाइ गरिने जानकारी दिनुभयो । जेसिभीलगायत साधनमार्फत नालीको प्लाष्टिकजन्य वस्तु, ढुङ्गा, इँटा, झार, फोहर र लेदो हटाउन थालिएको छ ।
ढल तथा नाला सरसफाइका लागि रु १० लाख बजेट विनियोजन गरिएको छ । वर्षाको समयमा पानी परे पनि डुबानको समस्या कम हुने उल्लेख गर्दै डिसीले सरसफाइको काम सकिन करिब एक महिना लाग्ने बताउनुभयो । उपमहानगरपालिकामा ढल र नालाको समस्या समाधान गर्न केही दिनअघि नगरप्रमुख प्रशान्त विष्टले निर्देशन दिनुभएको थियो ।
नेपालगञ्ज बजारबाट मात्रै दैनिक २५ टन फोहरमैला सङ्कलन हुने गरेको छ । सो फोहरमैला उपमहानगरपालिकाको वडा नं २३ स्थित हिरीमिनीयामा व्यवस्थापन गरिएको छ ।
–––