अन्यसमाचार

चक्रपथ दोस्रो खण्ड विस्तारको तयारी – GoodNews24

Gobal IME Bank

काठमाडौं । चक्रपथको कलङ्कीदेखि धोबीखोला (गोपीकृष्ण हल अगाडि) सम्मको सडक विस्तारका लागि आगामी महिनासम्ममा ‘साइट’ खाली गराउने गरी काम अघि बढिरहेको छ । यस खण्डमा अहिले सडकको अधिकार क्षेत्रमा रहेका संरचना हटाउने काम भइरहेको छ ।

सडक विस्तारका लागि झण्डै दुई हजार १०० रुख कटान भइसकेका छन् । बाफलमा रहेको सेनाको ब्यारेकको पर्खाल सार्ने काम भइरहेको छ । ब्यारेकभित्र रहेका रुख काटिने काठमाडौँ चक्रपथ सुधार योजनाले जनाएको छ । यहाँ रहेका बिजुलीका पोल र खानेपानीका पाइप सार्ने काम अघि बढिरहेको आयोजनाका प्रमुख अमृतमणि रिमालले बताउनुभयो । खानेपानीका पाइप सार्नका लागि ठेक्का सम्झौता भइसकेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पाइप सार्नकै लागि हामीले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाई रु २५ करोड विनियोजन गरिसकेका छौँ ।” सडकको अधिकार क्षेत्रमा नै स्वयम्भु नजिकै चैत्य रहेकामा सार्नुपर्ने देखिएको प्रमुख रिमालले बताउनुभयो । सडकको केन्द्रबाट ३१ मिटर दायाँबायाँ अधिकार क्षेत्र रहेकामा सो चैत्य १७ दशमलव पाँच मिटर रहेको छ ।

चक्रपथको पहिलो खण्ड कोटेश्वर–कलङ्की सडकखण्डमा भन्दा यो सडकमा संरचना कम रहेका छन् । महाराजगञ्ज क्षेत्रमा मात्रै झण्डै ४० घर सडकको अधिकार क्षेत्रमा रहेका प्रमुख रिमालले बताउनुभयो । त्यस क्षेत्रमा जग्गा अधिग्रहण अघि बढाउन मन्त्रिपरिषद्ले काठमाडौँ उयपत्यका विकास प्राधिकरणलाई जिम्मेवारी दिइसकेको छ । उहाँले भन्नुभयो, “यस ठाउँमा बाहेक निजी घरको समस्या कम छ ।”

कोटेश्वर–कलङ्की सडक विस्तार गरेको चीन सरकारले नै चक्रपथको दोस्रो खण्डका रुपमा कलङ्कीबाट महाराजगञ्जसम्मको सडक विस्तार गर्ने भएको छ । चीन सरकारले नै यस सडकको विस्तृत अध्ययन प्रतिवेदन(डिपिआर) तयार गरिसकेको छ । पहिले साइट खाली गराएपछि नै चिनियाँ टोलीले काम शुरु गर्ने सडक विभाग, विकास सहायता समन्वय महाशाखाले जनाएको छ । महाशाखा प्रमुख अर्जुनजङ्ग थापाले कोटेश्वर–कलङ्की सडक निर्माणका क्रममा विभिन्न अवरोध आएकाले यस सडकको निर्माण शुरु पहिले नै सबै अवरोध हटाउन लागिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “विभिन्न निकायसँगको समन्वयमा सडकको क्षेत्र खाली गराउन लागिएको हो ।” कोटेश्वर–कलङ्की सडक निर्माण गरेसँगै चीन सरकारले चक्रपथको दोस्रो खण्डका रुपमा कलङ्की–महाराजगञ्ज सडक विस्तारमा चासो देखाएको थियो । भूकम्प पहिले नै कोटेश्वर–कलङ्की सडक विस्तारको काम शुरु भए पनि भूकम्प र त्यसपछि नाकाबन्दीका कारण समयमै निर्माण सम्पन्न हुन सकेको थिएन ।

सडकमा रहेका खानेपानीका पाइप, ढल, विद्युत्का पोल र रुख समयमै हटाउन नसकिएकाले पनि काममा बाधा पुगेको थियो । त्यतिबेला समस्या निम्त्याएका कुरा पहिले सल्टाएर मात्रै काम शुरु गर्न चिनियाँ टोलीले चाहेको सडक विभागले जनाएको छ । विस्तार हुन लागेको सडकमा दुई ‘अण्डर पास’, प्रत्येक एकएक किलोमिटरमा आकाशे पुल र मुख्य लेनमा बीचमा डिभाइर हुने गरी सडक विभागले प्रस्ताव गरेको छ ।

पहिलो चरणको विस्तारका क्रममा सडकमा रहेका कमीकमजोरी हुन नदिने गरी डिजाइन गरिएको सडक विभागले जनाएको छ । आठ लेनको सडकमा कोटेश्वर–कलङ्की सडकमा जस्तै मुख्य चार लेन र सहायक चार लेन गरेर जम्मा आठ लेन नै रहने प्रमुख थापाले बताउनुभयो । पहिलो चरणमा मुख्य सडकमा दायाँबायाँ सडक चिह्नले मात्रै छुट्याइएकामा यस सडकमा डिभाइडर राखिने भएको छ ।

उहाँले भन्नुभयो, “पहिलो चरणमा डिभाइडर नहुँदा दुर्घटना भएको गुनासो आएकाले यस खण्डमा राख्न लागिएको हो ।” बालाजु चोकमा ‘ओभर पास’ र महाराजगञ्ज चोकमा ‘अण्डर पास’ निर्माण गरिने भएको छ । आठ लेनको सडकमा चार लेन अण्डरपासमा र चार लेन माथिल्लो सडकमा हुनेछ । महाराजगञ्ज चोकमा कलङ्की चोकमा जस्तै अण्डर पास हुनेछ । यसमा ‘क्रसिङ’ माथिल्लो भागमा नै हुने गरी डिजाइन भएको प्रमुख थापाले जानकारी दिनुभयो ।

बालाजुमा निर्माण हुने ‘ओभरपास’ मा भने ‘क्रसिङ’ तल हुनेछ । पैदल यात्रुलाई सडक पार गर्न प्रत्येक एक÷एक किलोमिटरमा एउटा आकाशे पुल निर्माण हुने थापाले जानकारी दिनुभयो । पहिलो खण्डमा १० किमी सडकमा तीन मात्रै आकाशे पुल हुँदा पर्याप्त नभएको गुनासो आएकाले हाल प्रत्येक किमीमा एउटा आकाशेपुल निर्माण हुँदैछ ।

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”2573″] [irp posts=”4224″] [irp posts=”2714″] [irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3875″] [irp posts=”3930″] [irp posts=”2617″] [irp posts=”4080″] [irp posts=”4103″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button